काठमाण्डौ । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टीभित्रका विभिन्न गुटहरुले आ–आफ्नो भेला गर्न थालेका छन् । यही क्रममा आइतबार पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गुटका स्थायी समिति सदस्यहरुलाई बोलाएर छलफल गरेका छन् । 

कोटेश्वरस्थित नेपालको निवासमा नेताहरुलाई बोलाएर पछिल्लो समय उत्पन्न परिस्थितिको समीक्षा गर्दै यस्तो बेलामा आफ्नो समूहले लिनुपर्ने रणनीतिको विषयमा समेत नेपालले नेताहरुसँग छलफल गरेका हुन् । 

सो क्रममा नेपाल पक्षका १३ मध्ये अधिकांश स्थायी समिति सदस्यहरुको सहभागिता थियो । 

बहुसंख्यक नेताहरुले केपी ओली नेतृत्वको सरकारले पार्टीको समेत बद्नाम हुने गरी गलत कामहरु गरिरहेको र यसले पार्टी आन्दोलनबाट प्राप्त उपलब्धि नै गुम्ने अवस्था सिर्जना भएको भन्दै अवस्था निकै गम्भीर बनेकोमा चिन्ता व्यक्त गरेका थिए । 

ओलीको एकांकी कार्यशैलीले थप समस्या सिर्जना हुने भन्दै २० स्थायी समितिले माग गरेपछि तत्काल बैठक बोलाउनुपर्ने अडानमा रहनुपर्ने नेताहरुले सुझाव दिएका थिए । 

बैठकमा सहभागी एक नेपाल पक्षीय नेताका अनुसार पार्टी विधानमा समेत यसरी स्थायी समिति बैठक बोलाउने माग गरेको १५ दिनभित्र बैठक बोलाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै नेताहरुले ओलीले बैठक टार्न खोजे कार्यकारी अध्यक्ष प्रचण्डले नै भए पनि स्थायी कमिटी बैठक बोलाउनुपर्ने सुझाव दिएका थिए । 

ओलीले अटेर गरी आफ्नो शक्तिको दुरुपयोग गरेको अवस्थामा कस्तो रणनीति लिने भन्ने विषयमा समेत छलफलमा सहभागी भएको बताइएको छ । 

स्थायी कमिटी बैठक बोलाउन ओलीले आलटाल गरे उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरी नेतृत्वका लागि तयार रहन समेत नेताहरुले नेपाललाई सुझाव दिएका छन् । 

पछिल्लो समय सत्तारुढ दलभित्र माधवकुमार नेपाल पक्ष सबै गुटका लागि सञ्जिवनी बुटी जस्तो बन्न पुगेको छ । ओलीले समेत पछिल्लो समय नेपाललाई विभिन्न खालका प्रलोभनका तुरुपहरु फाँकिरहेका नेपाल पक्षका नेता दाबी गर्छन् । 

प्रचण्ड समेत नेपाललाई प्रयोग गरी ओलीमाथि प्रहार गर्ने रणनीतिमा छन् । यहीकारण अहिले प्रचण्ड र नेपालको सहकार्य भइरहेको छ । 

तर, ओली नेतृत्वको सरकार ढाल्ने र नयाँ सरकार गठन गर्ने विषयमा प्रचण्ड जति आक्रामक छन्, नेपालले त्यति आक्रामक छैनन् । उनले अहिलेसम्म यो विषयमा सन्तुलित भूमिका देखाइरहेका छन् । आफूलाई पटक पटक प्रधानमन्त्रीका लागि आएका अफरका लागि नेपालले पार्टी फुट्न नहुने शर्त अगाडि सारेका स्रोतहरु बताउँछन् ।