काठमाण्डौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधबारदेखि पोखरा, भैरहवा र सिमरा उडान सुरु गरेको छ ।
 
दसैं, तिहारजस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी उडान भरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिए ।

उनका अनुसार निगमको जहाजले बिहान ६:३० बजे पोखरा र १०:३० बजे भैरहवा उडान भरेको छ । सिमराका लागि बिहान ८:३० बजेको उडान तालिका रहेपनि उडान भएन ।
 
पोखराका लागि २५५० रुपैयाँ, भैरहवा ३०२५ र सिमराको २२२५ रुपैयाँ भाडा निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमको सिमरामा पाँच वर्षदेखि उडान हुनसकेको थिएन । पोखरा र भैरहवामा भने जहाज बिग्रिएका कारण केहि महिनाअघि उडान रोकिएको थियो ।

निगमसँग आन्तरिक उडानका लागि चारवटा जहाज छन् । हाल तीनवटा जहाजले मात्रै उडान भर्दैआएका छन् । बिग्रिएको जहाज पनि मर्मत भइसकेकाले अबको पाँच दिनभित्रमा उडान भर्ने प्रवक्ता शर्माले बताए।

निगमको हाल एक बोइङ र दुई एयर बस गरी तीन वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ भने दुई वाइड बडी जहाज खरिदका लागि गत सोमबार ४५ दिने बोलपत्र आह्वान गरिसकेको छ ।