काठमाण्डौ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणको क्रम बढिरहेको छ ।

यसै क्रममा नेविसंघ त्रिचन्द्रका इकाई अध्यक्ष तथा स्ववियू उपसभापति बिष्णु पौडेल(दारी)ले प्रदेश नं ३ बाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सरल, मिलनसार, वैचारिक, व्यवहारिक र निष्ठावान विद्यार्थी नेताका रुपमा विद्यार्थी माझ परिचित उपसभापति पौडेल नेविसंघ त्रिचन्द्रका निर्वाचित इकाई अध्यक्ष हुन् । नेविसंघको गढ मानिने त्रिचन्द्र, त्यसैमाथि पहिलो निर्वाचित इकाई अध्यक्ष हुने सौभाग्य पाएका पौडेलको उम्मेदवारीले संगठनमा हलचल पैदा गराएको कार्यकर्ता बताउँछन ।

‘वैचारिक, सैद्धान्तिक,व्यवहारिक र मर्यादित नेविसंघ हाम्रो अभियान, प्रभावकारी नीति, सक्षम नेतृत्व सहितको सवल नेविसंघको लागि ११ औ महाधिवेशन’ भन्ने मूल मर्मका साथ महाधिवेशनमा होमिएका पौडेल अबको नेतृत्व वैचारिक र सैद्धान्तिक हिसाबमा स्पष्ट र दृढ, व्यवहारिक, उच्च निष्ठावान र पूर्ण रुपमा मर्यादित रहनुपर्ने बताउँछन् ।

वैचारिक रुपमा दृढ र अनुशासित नेतृत्व मार्फत प्राज्ञिक वातावरणको निमार्ण र स्तरोन्नति गर्दै शैक्षिक माफियाकरणको अन्त गर्ने, प्रविधियुक्त शैक्षिक वातावरणको आधार तयार पार्दै व्यवसायिक शिक्षा मार्फत समाजवादी व्यवस्थामा आधारित समाज निर्माणको आधार तयार पार्ने आफ्नो मूल उद्देश्य रहेको बताउने पौडेल त्यसका लागि लाखौ विद्यार्थीका माझमा रहेर वषौदेखि विद्याथीको हकहितमा क्रियाशील रहेकाले आफू योग्य रहेको दाबी गरे ।

अन्य उम्मेदवारको तुलनामा बलियो उम्मेदबार रहेका र उनको जितले संगठनमा इमान्दारिता, निष्ठा र समर्पणको संचार गराउने नेविसंघका नेताहरु बताउँछन् ।