-राजेन्द्रप्रसाद पनेरु 

कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । 

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहनुभएकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बीनामात्रै चुनावमा भारी मतको अन्तरका साथ विजयी हुनुभएको हो । 

दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताउनुभएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा उहाँका श्रीमान् एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधन हुँदासमेत राम्ररी प्रचारप्रसारको कार्य गर्न नपाउँदासमेत जनताको साथ र समर्थन पाएर विजयी हुनुभएको छ । 

संविधानसभाको निर्वाचनमा झिनो मतको अन्तरले पराजित हुँदाको बदला मगरले यस निर्वाचनमा विजयी भएर लिनुभएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार भई ३८ हजार ४६८ मत ल्याई मगर विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याउनुभएको छ । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको छ । 

विजयी उम्मेदवार मगरले जन्मभूमिको सेवामा सधैँ समर्पित हुने बताउनुभएको छ । विजयी भएपछि प्रतिक्रया दिँदै उहाँले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गर्नुभएको छ । 

निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्न वाम गठबन्धनका उम्मेदवार एकमत रहेका छौँ, उहाँले भन्नुभयो, “यसमा सबैको साथ र सहयोगको आवश्यकता पर्छ ।” 

स्थानीय तह, प्रदेश र केन्द्र गरी तीनवटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा आफू दृढ रहेको उल्लेख गर्दै उहाँले संसद् र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने बताउनुभयो । 

मानसिकरुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला मतदाताबाट पाएको साथ जीवनभर नबिर्सिने उहाँले उल्लेख गर्नुभयो । विसं २०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिनुभएकी मगर यस क्षेत्रको समाज, संस्कृति, परम्परा, जातजाति, वेषभूषा र चाडपर्वसँग रमाउँदै हुर्किनुभएको हो । 

पुनर्वासको अरनिको बस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन शुरु गरेकी उहाँले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गर्नुभएको छ । 

राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर मगरले विसं २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा (माओवादी)को सशस्त्र आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो । 

जनयुद्धको शुरुवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उहाँले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन शुरु गर्नुभयो । आन्दोलनमा सहभागिता जनाउँदै गर्दा विसं २०५६ मा मगरले महिलाको हकअधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षको भूमिका निर्वाह गर्नुभयो । 

राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनका लागि उहाँ काठमाडौँ प्रस्थान गर्नुभयो । काठमाडौँमा उहाँलाई राजधानीकोे वातावरण, रहनसहन, समाज र राजनीतिक शासन व्यवस्थाबारे नजिकबाट अध्ययन गर्ने अवसर मिल्यो । राजधानी काठमाडौँ र जन्मभूमि पुनर्वासलगायत आसपासका क्षेत्रको विकासको अवस्था तुलना गर्दा राज्यले गरेको विभेद प्रत्यक्ष देख्न पाउनुभयो । 

गाउँगाउँमा विकास पु¥याउन र एकात्मक शासन सत्ताको अन्त्यका लागि संघर्ष नै मुख्य बाटो देखेर मगरले सशस्त्र संघर्षको यात्रालाई अगाडि बढाउनु भयो । काठमाडौँमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आबद्ध भएर भित्रिरूपमा नेकपा (माओवादी) पार्टीको पूर्णकालीन सदस्यको रूपमा उहाँले कार्य गर्नुभयो । 

विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाका लागि संघर्ष गरिरहँदा उहाँलाई विसं २०६० मा अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो । 

राज्यको व्यापक धरपकड र दमनबीच मगर विसं २०६० मा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा पर्नुभयो । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उहाँले २७ महिना बेपत्ताको अवस्थामा रहनुप¥यो । 

जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा मगरले २७ महिनासम्म पाशविक यातना भोग्नुप¥यो । “सेनाको हिरासतमा रहँदा करेन्ट लगाउने, पानीमा डुबाउने, पाइपले पिट्नेलगायतका अमानवीय यातना दिइने गरिन्थ्यो” मगरले भन्नुभयो । 

मुलुकमा २०६२÷६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतमा दर्ता गरिएपछि त्यसपछि अदालतले गैरन्यायिक हिरासतबाट मगरलाई रिहा गर्न आदेश दिएको उहाँले बताउनुभयो । 

सम्मानित सर्वोच्च अदालतको रिहाइको आदेशलाई बेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थाको संघर्ष र सहयोगले निस्तेज पारेर रिहा हुन सफल भएको उहाँले बताउनुभयो । 

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार भएकी उहाँ झिनो मतान्तरले पराजित हुनुभएको थियो । 

प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उहाँले हिम्मत हार्नु भएन । शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा उहाँले अहिले विजय प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उहाँ प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बन्न पुग्नुभएको छ ।