भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर जबराले संबिधान संशोधनमा देखिएको लचकताले अब निर्वाचन चाहेर पनि कसैले रोक्न नसकिने बताएका छन् ।

जबराले मधेसका पार्टीहरुसँग सरकारले संम्वाद गरिरहेको र हिजोदेखि २ नम्बर प्रदेशमा समेत निर्वाचन हुने सम्भावना बढेको र सबै दलहरु निर्वाचनमा होमिसकेको र संशोधन पूरा नभए पनि केही मात्रामा परिमार्जित गर्ने सहमति भएको भन्दै अब निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताएका हुन ।

रफत सञ्चार क्लबले बुधबार (आज) आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रतिपक्षमा बसेर सरकारको आलोचना गरेता पनि राष्ट्रियताको नारा दिएर मात्र केही नहुने र मुलुकका महत्वपूर्ण बिषयबाट अल्गिएर निकास नमिल्ने भन्दै प्रतिपक्षले मधेसलाई बाईपास गरेर अगाडी बढ्न नहुनेमा जोड दिए । राप्रपा संशोधनको बिरोधमा नरहेको भन्दै उनले संशोधनको बिषय नयाँ शिराबाट समेत सुरु गर्न उनले सबैलाई आग्रह गरे ।

राप्रपाको एजेन्डा निर्वाचन आयोगले हिन्दु राष्ट्र र चुनाव चिन्ह झिकेर विवाद श्रृजना गरेको आरोप लगाँउदै आफ्नो पार्टी सरकार र सडकबाट आन्दोलन गर्दै स्थानिय तहको निर्वाचनमा जाने बताए।

उनले मधेशी मोर्चाले सरकारलाई दिएको सम्र्थन फिर्ता लिएसँगै सरकार अप्ठेरोमा पर्ने र निर्वाचन नहुने अवस्थालाई मध्य नजर गर्दै आफूहरु सरकारमा सामेल भएको बताए ।निर्वाचन आयोगले जारी गरेको आचारसंहिता बिभिन्न दलहरुले उलंघन गरिरहेको तर्फ आयोगको ध्यान जानु पर्नेमा जोड दिए ।

हाल न्यायालय र कार्यपालिका बीचको विवाद आजको नभई पहिल्यैदेखि चल्दै आएको बताउँदै जबराले यो नेपालको लागि फलदायक नरहेको बताए ।

आईजीपि प्रकरणमा साधारणतय कार्यपालिकाको निर्णयमा न्यायालयले हस्तक्षेप गर्नु नमिल्ने भएता पनि सप्रमाण उजुरी आएको र त्यसमा न्यायालयले गरेको निर्णय जायज रहेको बताए ।