काठमाण्डौ । केपी ओली नेतृत्वको सरकार गिराउने खेलमा भारतीय शक्तिहरुको हात रहेको कुरा पटक पटक खुलासा भइसकेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजोसम्म गोप्य रहेका भारतीय डिजाइन र सरकार परिवर्तनको भारतीय चाहनाको कुरालाई पुष्टि गर्दै आफ्ना पार्टीका नेता मातृका यादवलाई भारतका नेताहरुलाई कन्भिन्स गरेर प्रधानमन्त्री बन्ने बाटो सहज बनाउन दूतको रुपमा पठाएपछि भारतीय डिजाइन र चलखेलको कुरा थप पुष्टि भएको छ । 

भारतको मूलधारको पत्रिका दि हिन्दूले मंगलबारको अनलाइन संस्करणमा जुलाई १५ देखि १७ सम्म नयाँ दिल्लीमा प्रचण्डको दूत बनेर मातृका यादव आएका र उनले त्यहाँका महत्वपूर्ण नेताहरुसँग भेटेर नेपालमा गठन हुन लागेको प्रचण्ड नेतृत्वको सरकारलाई समर्थनको वातावरण मिलाइदिन अनुरोध गरेका खुलासा गरेको छ । 

यादवले प्रचण्डले आफू भारतविरोधी नभएको, बरु भारत समर्थक भएको सन्देशसहित पठाएका मातृकाले दिल्लीस्थित उच्च सरकारी अधिकारी, खुफिया एजेन्सीका अधिकारी र नेपालको काठमाण्डौमा बसेर ओली सरकार गिराउने खेलमा खटिएका भारतीय गुप्तचर संस्थाका हाकिमहरुलाई समेत भेटेका थिए । हिन्दूको समाचार उल्लेख भए अनुसार मातृकाले ३ दिनको दिल्ली बसाईमा प्रचण्डको सन्देश लिएर कंग्रेस नेता करण सिंह, जेडीयूका नेता शरद यादव, नेशनलिस्ट कांग्रेस पार्टीका नेता देवीप्रसाद त्रिपाठी लगायतकासँग भेट गरेका थिए । 

‘यादवले हामीसँगको भेटमा प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारलाई सहयोग गरिदिन आग्रह गरे ।’ मातृकासँग भेट गरेका एक नेतालाई उद्धृत गर्दै हिन्दूले लेखेको छ–‘प्रचण्ड चीन निकट नेपाली नेता हुन् भन्ने भ्रम दिल्लीमा व्याप्त भएको अवस्थामा त्यसलाई चिर्न मातृकाले राम्रै प्रयास गरेका थिए ।’ 

यता, प्रचण्डलाई समर्थन गरेर प्रधानमन्त्री बनाउने कांग्रेस र मधेशवादीहरुको चाहनासँगै एउटा शर्त समेत राखिएको थियो । ओली सरकारलाई गिराउने डिजाइन तयार हुँदा सँगै रहेका भारतीय खुफिया एजेन्सीका अधिकारीहरुले प्रचण्डलाई सरकारको नेतृत्व दिन सकिने, तर त्यसका लागि दिल्लीमा रहेको उनीबारेको भ्रम चिर्नुपर्ने आवश्यकता औंल्याएका थिए । प्रचण्डले समेत सो भ्रम चिर्ने र दिल्लीलाई खुशी बनाई सरकारको नेतृत्व गर्ने खुफिया एजेन्सीका अधिकारीहरुलाई वचन दिएका थिए । त्यही डिजाइन अनुसार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले भोलिको बाटो सहज बनाउन र कांग्रेस तथा मधेशवादीहरुसँगको गठबन्धन दरिलो बनाउने उद्देश्यले दिल्लीमा मातृका यादवलाई दूतको रुपमा पठाएर आफू चीन होइन, दिल्ली निकट रहेको सन्देश दिन खोजेका माओवादी केन्द्रका एक नेताले बताए ।

‘भारतको समर्थन बिना नेपालमा सरकार चलाएर टिक्न सकिदैन भन्ने प्रचण्डमा बुझाई रहेको देखियो ।’ केन्द्रका ती नेताले बिजशालासँग भने–‘यही बुझाईका कारण बेइजिङ निकटका नेपाली नेताको छवि बनाएका प्रचण्डले भारतलाई फकाउन मातृका पठाएका हुन् ।’ ती नेताको दाबीमा मातृकाले भारतीय नेता तथा खुफिया एजेन्सीहरुसँगको छलफलमा प्रचण्डले सरकार नेतृत्व गरेपछि नेपालमा भारतविरोधी क्रियाकलाप हुन नदिने, भारतीय योजना अनुसार अगाडि बढ्ने वचन दिएका छन् । 

‘काठमाण्डौसँग तराई जोड्ने फास्ट ट्रयाक निर्माणको जिम्मा समेत भारतीय पक्षलाई दिने, जलविद्युत आयोजनाहरुमा समेत भारतीय लगानीलाई प्राथमिकता दिने लगायतका बिषयमा समेत मातृकाले प्रचण्डको तर्फबाट सन्देश छाडेर आएका हामीले बुझेका छौ ।’ नाम बताउन नचाहने ती माओवादी नेताले भने–‘चीनको माओवादबाट प्रभावित हाम्रो दलको सुप्रिमो पद लोलुप भएर अहिले भारतको शरणमा पुगेका छन् । नेपालमा नयाँ सरकार भारतीय चाहना अनुसार बन्नु फेरि पनि दुर्भाग्यको कुरा हो ।’

ती नेताको अनुसार प्रचण्डलाई भारतीय नियन्त्रणमा पुर्याउने कामको नेतृत्व माओवादी नेता कृष्णबहादुर महराले गरेका थिए । उनलाई भारतले अख्तियारको संभावित कारबाहीबाट बचाएपछि त्यसको गुन तिर्न उनले भारतीय डिजाइन अनुसार नै ओली सरकार गिराउने खेलको नेतृत्व गरेका थिए । जुन खेल निश्कर्ष उन्मुख छ । एकातिर अख्तियारको संभावित कारबाहीबाट बचिने र अर्कोतिर प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्री पड्काउने महराको चाहनाले समेत निकै ठूलो भूमिका खेलेको बताइन्छ । महरालाई अख्तियारले भ्रष्टाचार अभियोगमा कारबाही गर्नै लाग्दा उनी केही महिनाअघि हारगुहार गर्दै दिल्ली पुगेका थिए । लोकमानसिंहक कार्कीलाई आयोगको प्रमुख बनाउने काम भारतले नै गरेको उनको बुझाई हो । यही बुझाईका कारण भारत पुगेका उनले त्यहाँका नेतासँग ओली सरकार गिराउने खेलको आफूले नेतृत्व लिने र त्यस बापत आफूलाई जोगाइदिनुपर्ने शर्त राखेका थिए । दुवै पक्षको स्वार्थ मिलेपछि सोही अनुसार दिल्लीमै ओली नेतृत्वको सरकार ढाल्ने खिचडी पाकेको स्रोतहरुको भनाई छ । 

नेपाल आएलगत्तै महराले प्रचण्डलाई कन्भिन्स गराई ओलीप्रतिको समर्थन फिर्ता लिने कामको नेतृत्व लिए पनि चीनले गतिलै कार्ड खेलेपछि रातारात ओली सरकारप्रतिको समर्थन फिर्ता लिने प्रचण्ड चाहना तुहिएको थियो । नेपालमा चिनियाँ कार्ड हाबी भएपछि निराश बनेको भारतले पछिल्लो समय २ महिनाको म्याद दिएर खुफिया एजेन्सी र केही भारतीय नेताहरुलाई समेत नेपाल पठाएको थियो । सो टिमले निकै लामो कसरतपछि आफूलाई प्राप्त २ महिनाको अवधिभित्रै प्रचण्डलाई फेरि ओलीको साथबाट छुटाउने र कांग्रेससँग मिलेर नयाँ सरकार बनाउनेसम्मको यात्रामा पुर्याइदिएको हो । 

ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यो परिपक्व भइसकेको छैन । माओवादी–कांग्रेस गठबन्धनको सरकार कहिलेसम्म गठन होला भन्ने निश्चित समेत भइसकेको छैन ।