►वासुदेव पौडेल

पोखरा। पर्याप्त सम्भावना भएर पनि ओझेलमा पर्दै आएको कास्कीको लेखनाथस्थित ‘सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी’ पदमार्गको प्रवर्द्धन गरिने भएको छ ।

पछिल्ला समयमा जथाभावी मोटरबाटो खन्ने प्रवृतिका कारण धेरै पदमार्ग हराउँदै गएको पृष्ठभूमिमा नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पोखरा र आसपासका क्षेत्रमा हराएका पदमार्गको खोजी गर्दै तिनीहरूको पुनः सञ्चालनमा सहयोग गर्ने उद्देश्यले ‘द लस्ट ट्रेल’ कार्यक्रम अघि बढाएको छ ।

नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाका अनुसार बोर्डको द लस्ट ट्रेल कार्यक्रमअन्तर्गत विगतमा सञ्चालनमा आएर पनि पछिल्लो समयमा ओझेलमा परेका पदमार्गको खोजी गर्दै तिनीहरूको प्रवद्र्धनका लागि प्रत्येक महिना छुट्टाछुट्टै पदमार्गमा पर्यटन सम्बद्ध व्यवसायी एवम् सञ्चारकर्मीलाई पुर्याउन सुरु गरिएको छ ।

“पोखरा लेखनाथ महानगरपालिकाभित्रका धेरै ग्रामीण बस्तीको विकासका लागि पनि यस्ता पदमार्गको प्रवर्द्धन र विकास आवश्यक छ,” उनले भने, “पोखरा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन सुन्दरी डाँडा–बेगनास कोट–स्याङखुदी जस्ता धेरै पदमार्गको विकास तथा विस्तार गर्न सकिन्छ ।”

सुन्दरीडाँडाबाट बेगनासकोट हुँदै स्याङखुदी लगभग ६ घन्टा पैदलयात्राबाट पुग्न सकिन्छ । सवारीसाधनमार्फत बेगनास तालको मुख्य बजार क्षेत्रबाट लगभग १० मिनेटमा सुन्दरीडाँडा पुगेपछि यहाँको पदयात्रा सुरु हुन्छ । बेगनास ताल र रुपा ताललाई सिमाना लगाएजस्तो गरेर रहेको सुन्दरीडाँडाबाट दुवै तालको एक साथ अवलोकन गर्दै पदयात्रा सुरु गर्न पाउनु यहाँको विशेषता हो । सुन्दरीडाँडाबाट पदयात्रा सुरु गर्नेले माझी कुना, खयरे, द्वारे चौतारो, कणेलथर, मैदान कोटबारी हुँदै बेगनासको शिर बेगनासकोट पुग्न सक्छन् ।

नेपालका बाइसे, चौबिसे राजाको समयदेखि नै अस्तित्वमा आएको मानिने बेगनास कोटबाट देखिने माछापुच्छ्रे, अन्नपूर्णलगायतको हिम शृङ्खला, लेखनाथ क्षेत्रका विभिन्न बस्ती हुँदै यी बस्तीसँग जोडिएका भरतपोखरीको हुडिकोट, बर पाण्डेथुमलगायत पहाडी दृश्य, माझठाना, सिक्लेस जस्ता ठाउँको एक साथ अवलोकन गरेर पर्यटक रमाउने गर्दछन् । बेगनास कोट अति प्राचीन धार्मिकस्थल भएर पनि राज्यको ध्यान पुग्न नसक्दा अझै पनि व्यवस्थित मन्दिर निर्माण हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

विशेषगरी दसैँको समयमा भव्य पूजाआजा हुने यस कोटमा बलि दिने मौलो गाडिएको छ र त्यहाँ एउटा सानो टिनले छाएको कटेरो मात्र रहेको छ । व्यवस्थित मन्दिर निर्माण गर्ने हो भने यो स्थल धार्मिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य बन्ने स्थानीयवासी राजु सापकोटाको धारणा छ । बेगनास तालका कारण वरपर सिमसारयुक्त स्थल भएका कारण यस क्षेत्रमा विभिन्न प्रजातिका वनस्पति, चराचर र वन्यजन्तु पाइने गरेको उनले बताए। “वरपरको भूभागमा लोपोन्मुख प्रजातिका साथै अन्य धेरै प्रकारका वन्यजन्तु, चराचुरुङ्गी पाइन्छ,” उनी भन्छन्, “विभिन्न प्रजातिका सुनगाभासहितका वनस्पति र जडीबुटीका लागि यो क्षेत्र खानी नै हो ।”

विगत केही वर्षअघिसम्म राजहाँसजस्ता पक्षी आउने यो स्थानमा पछिल्लो समयमा ती पक्षी देखिन छाडेको स्थानीयवासी बताउँछन् । धेरै जातका पुतली पाइने यो स्थल चराचर, वन्यजन्तु तथा वनस्पतिको अध्ययनका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने सापकोटाको भनाइ छ । अर्का स्थानीयवासी वेदनाथ वास्तोलाले पदयात्रा मार्गको विकास तथा प्रवद्र्धनका साथै यहाँका विविधताबारे प्रचारप्रसार गर्न सके यो क्षेत्र पर्यटनको उत्कृष्ट गन्तव्य बन्नसक्ने बताए।

पानीको झरनाले ठूलो खोँच बनाएको स्याङखुदीस्थित निदी रह जस्ता धेरै पर्यटकीय गन्तव्य प्रचारप्रसारकै अभावमा ओझेलमा परेका छन् । उच्च भूभाग बेगनास कोट पुगेपछि पदयात्री ओरालो बाटो नर्सरी, ठूला स्वाहाँरा, लस्यौदी, खना स्वाहाँरा हुँदै स्याङखुदी आउँछन् । बेगनास कोटसम्मको पदयात्राका क्रममा वरिपरि तरेली परेका टारी खेत, हरिया वनजङ्गलसहित बेगनास ताल तथा रुपातालको मनमोहक दृश्यले पदयात्रीको थकाइ बिर्साउने गरेको स्थानीयवासी शंकर पाण्डेले बताए।

पाण्डेका अनुसार यस पदमार्गमा समय समयमा स्वदेशी एवम् विदेशी पर्यटक आवतजावत गर्ने गरे पनि उल्लेख सङ्ख्यामा भने पर्यटक अझै आउने गरेका छैनन् । होटल तथा अन्य पूर्वाधारको कमी भए पनि पछिल्लो समयमा बिस्तारै पर्यटकको आगमन बढ्न थालेका कारण यहाँका स्थानीय युवामा होम स्टे सञ्चालनमा रुचि जागेको छ । विगत एक वर्षयता होम स्टे सञ्चालन गरेका पुनम होम स्टेका सञ्चालक नारायण त्रिपाठी पदयात्रामा आउने पर्यटक बेगनास तालको दृश्य हेर्दै स्थानीय परिकारको स्वादमा रमाउने गरेको बताउँछन् । “मैले तत्कालका लागि दुईवटा कोठासहित होम स्टे सञ्चालन गरेको छु,” उनी भन्छन्, “दिउँसोका समयमा भने लगभग ५० जनासम्मलाई खाना खुवाउन सक्ने हाम्रो क्षमता छ ।”

पदयात्रा एवम् दृश्यावलोकनका लागि आउने पर्यटकले अग्रिम सूचना दिएर आउने गरेको बताउँदै उनले पर्यटकको चाहनाअनुसारका खानाका परिकार खुवाउने गरेको जानकारी दिए। होटल व्यवसाय सञ्चालनका लागि यहाँ खानेपानीको अझै समस्या छ र राज्यले खानेपानीको उचित प्रबन्ध गरिदिनुपर्ने छ ।

द लस्ट ट्रेल कार्यक्रमअन्तर्गत नेपाल पर्यटन बोर्डले पोखरा आसपासका पदमार्गको प्रवर्द्धन र विकासको अभियान अघि बढाउनु अत्यन्त महत्वपूर्ण कार्य भएको राष्ट्रिय पर्यटन प्रवर्द्धन समिति पश्चिमाञ्चलका संयोजक गोविन्द पहारीले बताए। “पदमार्गको प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटन व्यवसायीका साथै स्थानीयवासीमा राम्रो सन्देश दिएको छ,” उनले भने, “सङ्घीय संरचनाअनुसारको अब बन्ने स्थानीय सरकारले यस्ता स्थानीय पदमार्गको विकास तथा विस्तारका साथै भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्नु अपरिहार्य छ ।”