काठमाण्डौ । हिजो भएको स्थानीय निकायको निर्वाचनको मतगणना भइरहेको छ । मतगणना भइरहेका ठाउँहरुबाट प्रारम्भिक मत परिणाम समेत आउन थालेका छन् । 

प्रारम्भिक मतपरिणामको रुझान हेर्दा कतिपय ठाउँमा सत्ता गठबन्धनभित्रै धोकाधडी भएको देखिएको छ । 

नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट रहे पनि केन्द्रले पेलेर भागबण्डा मिलाएका ठाउँमा सत्ता गठबन्धनले आशा गरेकोभन्दा उल्टो परिणाम आउन थालेको छ । 

प्रारम्भिक मतपरिणामलाई आधार मानेर विश्लेषण गर्ने हो र देशका गठबन्धनले भागबण्डा गरेका अन्य केही क्षेत्रको सम्भावित मतपरिणामलाई आँकलन गर्ने हो भने सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा अवस्था आँकलन गरेभन्दा भिन्न आउनसक्ने सम्भावना देखिएको छ । 

भरतपुर महानगरपालिमा सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रको तर्फबाट रेणु दाहालले उम्मेद्वारी दिएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री दाहाललाई भरतपुरको मेयरमा पुनः निर्वाचित गराउनका लागि त्यहाँ ठूलै लफडाबाजी भएको थियो । 

सो क्षेत्रमा कांग्रेसका भेटेरान नेताले रेणुविरुद्ध बागी उम्मेद्वारी दिएका छन् । भूइँकटहर चुनावचिन्ह लिएर चुनावमा होमिएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भरतपुरमा समेत अन्य केही क्षेत्रमा जस्तै अग्रता लिए भने अचम्म नमान्दा हुन्छ । 

कांग्रेसको केन्द्रले पेलेर गठबन्धन गरेका केही क्षेत्रहरुको ताजा मतपरिणामलाई उदाहरणको रुपमा हेरौं ।

जनकपुरधाम उपमहानगरपालिकामा स्थानीय कांग्रेस नेता कार्यकर्ताको चाहनाविपरीत केन्द्रले पेलेरै गठबन्धन गरेको थियो । यो असन्तुष्टि प्रष्ट रुपमा मतपरिणाममा समेत देखिएको छ । ४०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायम राखेका छन्। उनी नेपाली कांग्रेसका नगर सभापति पनि हुन् । उनको चाहनाविपरीत पार्टी केन्द्रीय समितिले गठबन्धन गरेपछि त्यसको विरोधमा उनले विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएका थिए । 
उनले १३५ मत पाएका छन्।  दोस्रो स्थानमा एमाले उम्मेदवार शिवशंकर साहले ४५ मत ल्याएका छन्। अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३ मत पाएका छन् भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका लालकिशोर साहले २८ मत मात्र पाएका छन्। जनकपुरमा अघिल्लो निर्वाचनमा मेयर निर्वाचित हालका गठबन्धनका उम्मेद्वार साहको प्रारम्भिक मतपरिणाम लाजमर्दो देखिन्छ । 

अर्को उदाहरण हेरौं:
काभ्रेको धुलिखेल नगरपालिकामा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन्। उनी पनि कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएका व्यक्ति हुन् । धुलिखेल नगरका कांग्रेस सभापति समेत रहेका बस्नेतले गठबन्धनको भागबण्डाप्रति असहमति जनाउँदै विद्रोह गरी मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए । 

जेब्रा चुनाव चिन्ह भएका उनले २८३ मत पाएका छन् भने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले ८ मत मात्रै पाएका छन् । 

धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए।

यदि कांग्रेस समर्थित मतदाताहरुको जनकपुर र धुलिखेलमा प्रष्टिएको मनोभावना भरतपुरमा पनि देखियो भने गठबन्धनका दलहरुले आशा गरेजस्तो मेयरमा रेणु दाहालले बाजी मार्ने सम्भावना देखिन्न । त्यहाँ पनि कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पौडेलको अवस्था राम्रो बन्नसक्ने देखिन्छ । 

यो विश्लेषण प्रारम्भिक रुझानका आधारमा मात्रै गरिएकोले यकिनका साथ भन्न भने थप केही स्थानीय निकायको मत परिणाम कुर्नैपर्ने हुन्छ । 

त्यसो त केही संस्थाहरुले गरेका एक्जिट पोलमा भने गठबन्धनकी साझा उम्मेद्वार रेणु दाहालले नै यसपटक पनि भरतपुरको मेयरमा जित हासिल गर्ने देखिएको छ ।