काठमाण्डौ । मादक पदार्थ सेवन गरी प्लेन उडाउन खोज्ने फ्लाई दुबईका क्याप्टेनसहितको क्रू मेम्बर(चालक दलका सदस्य)लाई तत्काल उडान नपाउने गरी निलम्बनमा राखिएको छ । 

एयरपोर्ट प्रशासनको आग्रहमा फ्लाई दुबईले आइतबार १० बजेको उडानका क्याप्टेन लगायत ६ क्रू मेम्बरलाई निलम्बन गरेको हो । 

स्रोतका अनुसार उड्न लागेको फ्लाइटका क्याप्टेन लगायतका क्रू मेम्बरहरुले मादक पदार्थ खाएको हुनसक्ने भन्दै फ्लाई दुबईकै एयरपोर्टस्थित कर्मचारीहरुले विमानस्थल प्रशासनलाई खबर गरिदिएका थिए । उनीहरुले आफ्ना कम्पनीको क्याप्टेन लगायतका क्रू मेम्बरको स्वास्थ्य जाँच गर्न आग्रह गरेपछि सम्बद्ध सबै पक्षलाई खबर गरी विमानस्थल प्रशासनले अहिले उनीहरुको स्वास्थ्य जाँच गरिरहेको छ । 

'क्रू मेम्बरमध्ये क्याप्टेन बढी नै मातिएको जस्तो देखिएका छन् ।' नागरिक उड्डयन प्राधिकरणको विमानस्थल स्थित एक कर्मचारीले भने-'सबैको स्याम्पल लिने काम भइसकेको छ । रिपोर्ट आउन २ घण्टा जति लाग्ला ।' 

ती कर्मचारीका अनुसार क्याप्टेनसहित ६ जनै क्रू मेम्बर विदेशी नागरिक हुन् । 

उनका अनुसार बिहान १० बजेको उडान अहिलेसम्म पनि हुन सकेको छैन । अलपत्र परेका यात्रुहरुलाई उडाउन फ्लाई दुबईले अन्य क्रू मेम्बरहरु बोलाएको छ । उनीहरु काठमाण्डौ आएलगत्तै उडान हुने कम्पनीलाई उद्धृत गर्दै ती कर्मचारीले बताएका छन् । 

विगत लामो समयदेखि त्रिभुवन अन्तराष्टिय विमानस्थलको अन्तराष्टिय टर्मिनलभित्रको संवेदनशील ठाउँमा खोलिएका पसलहरुमा गुपचुप मादक पदार्थ बिक्री हुँदै आएको छ । यो बिषय पटक पटक बाहिर आए पनि विमानस्थल प्रशासनले यो बिषयमा खोजबिन गर्न र दोषीलाई कारबाही गर्ने तदारुकता देखाएको छैन । 

त्यहाँभित्रको पसलहरुमा खुलेआम रक्सी बिक्री गर्न दिइएसम्म यस्तो समस्या फेरि पनि आउनसक्ने स्रोत दाबी गर्छ । 

यो पनि पढ्नुहोस्:
मातेका पाइलटले प्लेन उडाउन खोज्दा त्रिभुवन विमानस्थलमा तनाव, फ्लाई दुबईको उडान स्थगित