काठमाण्डौ । चरम लापरबाही र बेवास्ताका कारण रामेश्वर थापा नेतृत्वको समूहले संचालन गरेको सिम्रिक एयरलाइन्सले करोडौं घाटा व्यहोर्नुपर्ने भएको छ । 

एयरलाइन्सको इजाजत नवीकरणमा भएको चरम लापरबाहीको परिणाम यस्तो अवस्था सिर्जना भएको हो । सिम्रिक एयरलाइन्सको इजाजत नवीकरण नभएको १५ महिना बितिसकेको छ । ०६८ सालमा ४ वर्षे इजाजत लिएको सिम्रिकले ०७२ बैशाखमा नवीकरण गर्नुपथ्र्यो । सो समयमा नवीकरण नगर्नेलाई इजाजत नवीकरणका लागि थप एकवर्ष मौका दिने व्यवस्था छ । सो अवसर पनि गुमाएपछि अब सिम्रिकको इजाजत नै नवीकरण नहुने भएको हो । 

पुरानो इजाजत नवीकरण नहुने भएपछि रामेश्वर थापा प्रधानमन्त्री प्रचण्ड र अन्य शक्तिकेन्द्रहरुलाई रिझाउने दौडधूपमा क्रियाशील छन् । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने अब सिम्रिक एयरलाइन्स पुनः संचालनका लागि नयाँ कम्पनी सोसरह मन्त्रालयमा प्रस्ताव दर्ता गर्नुपर्ने स्पष्ट पारेको छ । पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सिम्रिक एयरलाइन्सले नयाँ कम्पनीको रुपमा प्रस्ताव दर्ता गरेसँगै २० करोड रुपैयाँ चुक्तापूँजी, २० लाख रुपैयाँको बैंक ग्यारेण्टी, १० हजार निवेदन शुल्क र प्रत्येक उडान क्षेत्रका लागि ३० हजारको दरले रकम ठीक पार्नुपर्ने भएको छ । ‘सिम्रिक आफ्नै लापरबाहीले गर्दा करोडौंको घाटा व्यहोर्नुपर्ने अवस्थामा पुग्यो ।’ ती अधिकारीले भने–‘रामेश्वर थापाले पर्यटन मन्त्री आउने बित्तिकै यो काम भइहाल्छ भनेर भ्रम फैलाएका छन्, तर यो पर्यटन मन्त्री आउनेबित्तिकै हुने काम होइन । एउटा व्यापारीका लागि मन्त्रालयले सबैका लागि बनाएको कार्यविधि परिवर्तन गर्न सक्दैन ।’ 

सोमबार बिजशालाले सिम्रिक एयरलाइन्सको इजाजत फेल भएको र आइतबारदेखि एयरलाइन्सले सबै उडान बन्द गरेको समाचार ब्रेक गरेको थियो । सो समाचारमा प्रतिक्रिया दिंदै एयरलाइन्सका अध्यक्ष रामेश्वर थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले  कुरा गरिसकेको र कार्यविधिमा संसोधन गरेरै भए पनि इजाजत नवीकरण गरिने दाबी गरेका थिए । ‘एकदुई दिनमै उडान सुरु गर्छौ ।’ उनले दाबी गर्दै भनेका थिए–‘भूलवश यस्तो भएको हो, प्रचण्डले समेत सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’ 

तर, मन्त्रालयका अधिकारीहरुले प्रधानमन्त्रीले चाहेर पनि नवीकरणको मौका अवधि समेत गुमाइसकेको सिम्रिककै लागि कार्यविधि संसोधन हुने संभावना नरहेको प्रष्ट पारेका छन् । ‘सिम्रिकका लागि अब नयाँ कम्पनीको रुपमा पुनः दर्ता बाहेक अर्को बाटो देखिन्न ।’–एक अधिकारीले भने । 

यसैबीच, इजाजतपत्रको आधारमा पाउने सिम्रिकको बायु सेवा संचालन अनुमति तथा प्रमाणपत्र(एओसी) समेत काम नलाग्ने भएको छ । यो एयरलाइन्सको एओसी नम्बर ०५२/२००९ हो । एओसीको नवीकरण मिति समेत सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलको चलखेलबाट गैरकानूनी ढंगले एओसी एकमहिनाका लागि(अगस्ट १४ सम्मका लागि) नवीकरण गरिएको थियो । इजाजतपत्र नै नहुँदा एओसी समेत सिम्रिकले नयाँ कम्पनीले झै आवेदन दिएर लिनुपर्ने देखिएको छ । ‘पर्यटन मन्त्रालयबाट पाएको इजाजतको आधारमा नागरिक उड्डयन प्राधिकरणले एओसी प्रमाणपत्र दिनुपर्छ ।’ एक अधिकारीले भने–‘अब इजाजत नै नभएपछि एओसी पनि स्वत खारेज भएको छ ।’ 

नेपालमा जहाज उडाउने कम्पनीका लागि मन्त्रालय र प्राधिकरण गरी दुईवटा संस्थाको इजाजतपत्र अनिवार्य गरिएको छ । नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेटर्स सर्टिफिकेट(एओसी) लिनुपर्छ । एओसीको म्याद समेत सकिएपछि सिम्रिकको जहाज बाध्य भएर थन्किएका हुन् । एओसी अन्तर्राष्ट्रिय उड्डयन संगठन(आइकाओ)को मापदण्डमा आधारित अनिवार्य अन्तर्राष्ट्रिय स्तरको इजाजतपत्र हो । एओसी नवीकरणका लागि समेत साढे २ लाख रुपैयाँ राजश्व तिर्नुपर्छ । पर्यटन मन्त्रालयले चाहि राष्ट्रिय इजाजत दिन्छ । 

यो पनि हेर्नुहोस्