काठमाण्डौ । पर्यटन मन्त्रालयबाट पाउने इजाजत नवीकरण नगरी १५ महिनासम्म अटेर गरेर बसेको सिम्रिक एयरलाइन्सका जहाज ग्राउण्डेड हुनुपर्ने अवस्था आएपछि र बिजशालाले सोमबार साँझ सो सम्बन्धी एक्सक्लूसिभ रिपोर्ट प्रकाशन गरेपछि रामेश्वर थापा  नेतृत्वको समूहले संचालन गरेको सिम्रिक एयरलाइन्सले मंगलबार सार्वजनिक माफी मागेको छ । 

मंगलबार थापा स्वयम्को लगानी रहेको अन्नपूर्णपोष्ट र ज्ञवाली समूहको लगानी रहेको नागरिक दैनिकमा अपील प्रकाशन गर्दै एयरलाइन्सले पर्यटन मन्त्रालयबाट नवीकरण गर्नुपर्ने इजाजतपत्र मानवीय त्रुटी तथा भूलवश समयावधिभित्रै नवीकरण गर्न नसकिएको भन्दै सार्वजनिक रुपमा माफी मागेको हो । 

‘गत वर्षको विनाशकारी महाभूकम्प तथा अघोषित नाकाबन्दीपछिको विचलित अवस्थाले गर्दा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नवीकरण गर्नुपर्ने इजाजतपत्र मानवीय त्रुटी तथा भूलवश समयावधिभित्रै नवीकरण गर्न नसकिएको व्यहोरा हामी जानकारी गराउँछौ ।’ अपीलमा भनिएको छ–‘पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा इजाजतपत्र नवीकरण गर्ने प्रक्रियामा रहेको तथा सो मन्त्रालयमा मन्त्री जी बहाल भइनसकेको अवस्था रहेको हुनाले सो प्रक्रिया पूर्ण गर्न केही ढिलाई हुन गएको हो ।’ 

सिम्रिकले मंगलबार प्रकाशित गरेको अपील । 

...................................................................................................

सिम्रिक एयरलाइन्सले पर्यटन मन्त्रीको नियुक्तिमा भएको ढिलाईका कारण आफूहरुको इजाजत नवीकरण नभएको दाबी गरे पनि वास्तविकता चाहि फरक छ । यो एयरलाइन्सको इजाजत नवीकरण गर्न मन्त्रालयले बनाएको कार्यविधिले रोक लगाएको छ । नवीकरणको १ वर्षे मौका अवधि समेत गुमाएपछि अब सिम्रिकले नयाँ कम्पनीको रुपमा इजाजत पाउन मन्त्रालयमा आवेदन दिनुपर्नेछ । 

सिम्रिकले विगत ७ वर्षदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण सुरक्षा सम्बन्धी मापदण्डहरु र नियमहरु समेत अक्षरंश पालना गर्दै आएको दाबी समेत गरेको छ । उसले विगत ३ वर्षदेखि दुर्गम क्षेत्रमा समेत उडान गरी दुर्गमका जनताको सेवामा तत्परता देखाएको भन्दै आफ्नो बचाउ गर्न खोजेको छ । अपीलमा सबै नियम र मापदण्ड मानेको भनिए पनि इजाजत नवीकरण गर्नैपर्ने नियम र मापदण्डप्रति चरम बेवास्ता गरिएको कुरा चाहि एयरलाइन्सले बिर्सिएको छ । 

एयरलाइन्सले आफूहरुको मानवीय त्रुटीवश हुन गएको भूललाई आगामी वर्षहरुमा नदोहोर्याउने प्रतिबद्धता समेत व्यक्ति गरेको छ । ‘यसबाट पर्न गएको असुविधाप्रति हाम्रा सम्पूर्ण शुभेच्छुक वर्गसँग माफी माग्दै हाम्रा उडान सेवाहरु यथाशीघ्र संचालन गरिने प्रतिबद्धता व्यक्त गर्छौ ।’–अपीलमा भनिएको छ । 

यो पनि हेर्नुहोस्