काठमाण्डौ । लामो समयदेखि चलेको हल्लालाई साबित गर्दै सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । 

उनी निगमकै पूर्व प्रबन्ध निर्देश हुन् । झापाली खरेल प्रधानमन्त्री ओली निकट व्यक्ति हुन् । प्रम ओलीको ठाडो आदेशमा उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको बताइएको छ ।  

आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले उनलाई कार्यकारी अध्यक्ष बनाएको हो । शुक्रबारको मन्त्रीपरिषदले उनलाई निगमको संचालकको रुपमा भित्र्याएको थियो । यसअघि निगमको संचालक सदस्यमा पर्यटन सचिव हुने व्यवस्था थियो । तर, खरेललाई ल्याउनैका लागि सरकारले त्यो व्यवस्था समेत संसोधन गरेको देखिएको छ । आफ्ना निकट र जिल्लाबासीका लागि प्रधानमन्त्री ओलीले कुन हदसम्म काम गर्छन् भन्ने कुरा खरेलको नियुक्ति र उनलाई निगममा ल्याउन भएको हरेकखालका प्रयासले पुष्टि गरेको छ । 

सरकारले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरी निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई हटाउन चाहेको चर्चा समेत चलेको छ । तर, कंसाकारले पनि आफ्ना निकटस्थ निगमका कर्मचारी तथा युनियनका नेताहरुसँग जोसुकै अध्यक्ष आए पनि आफूले पद नछाड्ने र बाँकी रहेको ८ महिनासम्म काम गर्ने अडान छाडेका छैनन् । उनी खरेलको नियुक्तिविरुद्ध अदालत जाने तयारीमा लागेका उनी निकटस्थहरुले बताएका छन् । 

कार्यकारी अध्यक्षको रुपमा खरेलले निगममा काम गर्न थालेपछि कंसाकार अप्ठ्यारोमा पर्ने देखिन्छ, किनभने दुवै पद कार्यकारी प्रमुखसँग सम्बद्ध छ । यसले निगममा भाँडभैलो निम्तिने कर्मचारी बताउँछन् । सरकारले जानी जानी निगममा भाँडभैलो निम्त्याएर आफ्ना निकटस्थलाई स्थापित गर्न खोजेको कतिपयले आरोप लगाएका छन् । 

पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रधानमन्त्री केपी शर्मा ओली लामो समयदेखि कंसाकारको कार्यशैलीप्रति सन्तुष्ट थिएनन् । जहाज खरीदको क्रममा ठूलो रकम घोटाला भएको कुरा बाहिर आएपछि सरकारले कंसाकारलाई जसरी पनि हटाउन चाहेको देखिन्छ । जहाज खरीदको क्रममा भएको भनिएको करोडौ घोटाला प्रकरणको छानबिन गर्न कंसाकारलाई हटाउन खोजिएको हो या सो प्रकरणलाई दबाउन खरेललाई कार्यकारी पदमा ल्याइएको हो भन्ने बिषय भविष्यले देखाउनेछ । 

कंसाकार २०७१ जेठ १४ गते ४ वर्षका लागि निगमको महाप्रबन्धक दिमा नियुक्त भएका हुन् । ०७० चैतमा खरेलले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त स्थानमा निगमका पूर्व कार्यकारी अध्यक्ष कंसाकार महाप्रबन्धक भएका हुन्।