काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन् ।
आज अर्थ मन्त्रालयमा स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट्सका अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्व राजदूत जर्ग फ्रिडेनको नेतृत्व टोलीसँग भएको भेटवार्तामा अर्थमन्त्री डा. खतिवडाले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको बताए ।
भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराए । अर्थमन्त्री डा. खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशहरुसँग दोहोरो करमुक्ति सम्झौताको प्रकृया अगाडि बढाइएको, च्यालेन्ज फण्डको शुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानूनहरु निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको जानकारी दिए ।
अर्थमन्त्री डा. खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र उर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धि सँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताए । उनले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताए । मुलुकको समग्र विकासका लागि नवप्रवर्तन अन्वेषण तथा युवा लक्षित सीप र प्राविधिक ज्ञानको सहयोग मार्फत साना मझौला व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको स्पस्ट पारे । उनले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालनमार्फत नेपालले सहकार्य गर्न चाहेको समेत स्पष्ट पारे ।
फ्रिडेनको नेतृत्व टोलीले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुशी व्यक्त गरे ।
सो भेटमा नेपालका लागि स्वीस राजदूत महामहिम एलिसावेथ भोन क्यापलर तथा स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट्सका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । टोलीले विभिन्न सरकारी, निजी तथा गैरसरकारी क्षेत्रसँग भेट गरी विकास प्राथमिकताका विषयमा छलफल गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago