काठमाण्डौ । सर्वोच्च अदालतले निकै लामो समयको बहसपछि आइतबार भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुनः मतदान गर्ने फैसला सुनाएपछि एमालेको तर्फबाट त्यहाँ मेयरमा उम्मेद्वारी दिएका देवी ज्ञवालीले खिन्नता प्रकट गरेका छन् । उनलाई चुनावी परिणाममा टक्कर दिइरहेकी रेणुु दाहाल भने फुरुङ्ग हुँदै सामाजिक सञ्जालमा पोखिएकी छिन् । 

सर्वोच्च अदालतको फैसलालाई दुुर्भाग्यपूर्ण भन्दै देवी ज्ञवालीले अदालतको फैसलाको सम्मान गरी आफू पुनः जनताबाट निर्वाचित भएर मेयर बन्ने प्रतिक्रिया दिएका छन् । बिजशालासँग टेलिफोनमा कुरा गर्दै एमालेको तर्फबाट मेयरका प्रत्यासी ज्ञवालीले भने–‘राज्यसत्ताले अदालतमाथि हस्तक्षेप गरेर कसैको छोरी जिताउने उद्देश्यले दुुर्भाग्यपूर्ण फैसला आयो । तर, मभित्र अझै पनि जनताको अदालतप्रतिको विश्वास उस्तै छ । म जनताको अदालतमा जान्छु र यो अदालतबाट मैले न्याय पाउने पूर्ण विश्वास लिएको छुु ।’ उनले वडानम्बर १९ को पुनः निर्वाचन आफ्ना लागि राज्यसत्ताको गलत रबैयाविरुद्धको लडाई हुने र सो वडाका मतदाताले समेत आफूलाई न्यायको यो लडाईमा पहिला भन्दा अपार समर्थन गर्ने दाबी समेत गरे । 

यता, अदालतको फैसला आएसँगै कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट मेयरमा उम्मेद्वारी दिएकी प्रचण्डपुत्री रेणु दाहालले भने खुशी व्यक्त गरेकी छिन् । सर्वोच्च अदालतले प्रचलित कानूनको आधारमा फैसला गरेकोले न्याय नमरेको आफूले अनुुभूत गरेको उल्लेख गर्दै दाहालले भनेकी छिन्–‘अब जनताको बीचबाट निर्वाचित भएर आउनेछुु ।’ 

भरतपुर महानगरपालिकाको वडानम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले नियोजित रुपमा मतपत्र च्यातेर मतगणनास्थलमा हुलदंगा मच्चाएका थिए । मतपत्र च्यात्ने कार्यमा संलग्न माओवादी कार्यकर्ताहरु द्रोण शिवाकोटी र मधु न्यौपाने पक्राउ परेका थिए, पछि उनीहरु धरौटिमा रिहा भएका थिए । भरतपुरको २९ वडामध्ये २७  वडाको मतगणना सम्पन्न हुँदा एमाले उम्मेद्वार देवी ज्ञवाली माओवादीकी रेणुु दाहाल भन्दा ७८४ मतले अगाडि थिए । वडानम्बर १९ बाहेक अब २० नम्बरको मतगणना समेत बाँकी छ । 

आफ्नी छोरीले चुनाव हार्ने भएपछि प्रचण्डको निर्देशन, माओवादी केन्द्रका नेताहरुको योजना र कांग्रेसको समर्थनमा नियोजित रुपमा मतपत्र च्यातेर सो वडाको निर्वाचन रद्ध गर्ने र पुनः निर्वाचन गराउने खेल भएको एमालेले दाबी गर्दै आइरहेको थियो । सो क्षेत्रमा आफ्नी छोरीलाई जिताउन प्रचण्डले जस्तोसुकै कदम चाल्नसक्ने आँकलन भइरहेको बेला अदालतले समेत मतपत्र च्यात्ने प्रवृतिलाई प्रोत्साहित हुने गरी फैसला गरेपछि यसले राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । भरतपुर १९ प्रकरणलाई नजिर मानेर आउने चुनावहरुमा समेत हार्नसक्ने दल तथा तिनका कार्यकर्ताहरुले यस्तै हर्कत गरे के हुने ? भन्ने प्रश्नले सामाजिक सञ्जालका भित्ता पोतिएका छन् ।