काठमाण्डौ । आफ्ना नागरिकले सास्ती पाएका भन्दै केही समयअघि ट्राभल एड्भाइजरी जारी गर्दै कैलाश मानसरोवरका लागि नेपालको बाटो प्रयोग नगर्न उर्दी गरेको भारत सरकारले फस्टाइरहेको नेपाली पर्यटनलाई झड्का दिने निर्णय गरेको छ । 

भारत सरकारका केन्द्रीय परिवहन मन्त्री नितिन गड्करीले आफ्ना नागरिकले नेपालको बाटो प्रयोग गर्दा धेरै सास्ती पाएका दाबी गर्दै मानसरोवर जानका लागि भारतले आफ्नै हाइवे बनाउने घोषणा गरेका हुन् । 

मानसरोवर जाने बाटो निकै कठीन भएको र नेपालबाट जाँदा अनावश्यक सास्ती र धेरै रकम खर्चिनुपर्ने बाध्यता रहेको भन्दै त्यहाँको बाटो सहज र सरल बनाउने निर्णय भएको भारतीय संचारमाध्मले गड्करीलाई उद्धृत गर्दै जनाएका छन् । गड्करीका अनुसार सरकारले आगामी वर्षको अप्रिलसम्म आफ्नै हाइवे बनाउनेछ र त्यसपछि भारतीय पर्यटकहरुमा नेपाल हुँदै कैलाश मानसरोवार जाने बाध्यता हट्नेछ । 

कैलाश मानसरोवर प्राचीन सभ्यता र सांस्कृति धरोहरको रुपमा रहेको छ । हिमालय श्रेणीमा रहेको यो पर्यटकीय स्थल पुग्न उच्च हिमाली क्षेत्रको यात्रा गर्नुपर्छ । भारतले यो ठाउँमा पुग्न पिथौरागढ क्षेत्र हुँदै व्यवस्थित हाइवे बनाउने योजना बनाएको छ । 

समाचार एजेन्सीहरुका अनुसार भारतले प्रस्ताव गरेको हाइवेलाई निर्धारित समयमै निर्माण गर्न अष्ट्रेलियाबाट आधुनिक मेशिन मगाइसकिएको छ । कैलाश मानसरोवर यात्रालाई सरल बनाउनैका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साल चीनका राष्ट्रपतिसँग लिपुलेक वा नाथुलाको नाका खोलिदिन आग्रह गरेका भारतीय संचारमाध्यमले लेखेका छन् । 

नितिन गड्करीका अनुसार प्रस्तावित हाइवे क्षेत्रमा जमेको वरफ काट्ने काम सुरु भइसकेको छ । हाइवे निर्माणका लागि आवश्यक बजेटको समेत केन्द्र सरकारले व्यवस्था गरिसकेको छ । 

विगत लामो समयदेखि नेपाली गाइड तथा एजेन्सीहरुले कैलाश मानसरोवरका लागि विशेष प्याकेज बनाएर भारतीय पर्यटक आकर्षित गरिरहेका छन् । यो क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरुको संख्या बढेका कारण यसबाट नेपाल सरकारलाई पर्यटन बापतको राजश्व समेत निकै राम्रो आकारमा संकलन भइरहेको छ । नेपाली टूर गाइडहरुले भारतीय पर्यटकहरुलाई हाल ११ दिनको कैलाश मानसरोवर यात्राको प्याकेज दिने गरेका छन् । 

केही समयअघि कैलाश मानसरोवर हिँडेका ४ सयभन्दा बढी भारतीय पर्यटक एकैदिन नेपाली भू–भागमा अलपत्र परेका थिए । मौसमका कारण अलपत्र परेका उनीहरुलाई भारत सरकारले उच्च चासोका साथ उद्धार गरेर नेपालगञ्ज फर्काएको थियो । भारतीय पर्यटकहरुले भूकम्पपछि कैलाश मानसरोवरको यात्रामा जाँदा नेपाली गाइड वा टाभल एजेन्सीहरुले पहिलाको भन्दा तेब्बर असूल्ने गरेका, बाटोहरुमा व्यवस्थित होटलको अभाव रहेको लगायतका गुनासो गर्ने गरेका थिए । आफ्ना नागरिक ठूलो संख्यामा अलपत्र परेपछि र गुनासोहरु धेरै आएको भन्दै सरकारले नागरिकहरुको नाममा ट्राभल एड्भाइजरी नै जारी गरी नेपाली बाटो प्रयोग नगर्न नै उर्दी गरेको थियो । नेपाली पक्षले कैलाश मानसरोवर जाने पर्यटकहरुको सुविधाका लागि नसोच्दा समग्र पर्यटन उद्योगमै धक्का पुग्ने अवस्था आइलागेको विश्लेषकहरु बताउँछन ।