काठमाण्डौ । ‘अबको निकास, आर्थिक विकास’को नारासहित पार्टी स्थापनाको घोषणासभामा काठमाण्डौको दशरथ रंगशाला पुग्न आह्वान गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले देशका नाम चलेका सबै दैनिक पत्रिकाहरुमा आइतबार ज्याकेट एड छपाएपछि यसको स्रोतको बिषयमा प्रश्न उठेसँगै फजूल खर्चको तीव्र आलोचना भएको छ । 

भूकम्पपीडित नागरिकहरु सरकारी बेवास्ताको शिकार भइरहेको बेला आफूलाई जनताको सच्चा पहरेदार दाबी गर्दै पार्टी घोषणाको तयारीमा जुटेको नयाँ शक्ति नेपालको तडकभडकपूर्ण प्रचार शैली र त्यसको नाममा पैसाको खोलो बगाइएकोमा तीव्र आलोचना भएको हो । 

सामाजिक सञ्जालहरुमा अधिकांशले बाबुरामको नयाँ शक्तिले पत्रपत्रिकाहरुमा ज्याकेट एड दिएर ठूलो खर्च गरेको र यो खर्च फजूल भएको टिप्पणी गरेका छन् । ’बरु यो पैसा भूकम्पपीडितहरुको गाँस,बास र कपासमा खर्च गरेको भए त्यसको सन्देश सकारात्मक जान्थ्यो ।’ फेसबुकमा धेरैले स्टाटस लेखेका छन्–‘नयाँ शक्तिको तडकभडकपूर्ण चाल समेत देखियो, जनताको पीडाको सवालमा जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो ।’

स्रोतहरुका अनुसार बाबुराम भट्टराईको नयाँ शक्ति नेपालले आइतबार गोरखापत्र बाहेकका सबै मुख्य अंग्रेजी र नेपाली दैनिकमा ज्याकेट एड छपाएको छ । बाबुराम भट्टराईको श्यामस्वेत तस्विरसँगै पार्टीको लोगोसहितको विज्ञापन छपाइएको छ । ज्याकेट एडको दोश्रो पृष्ठमा हाम्रा ५ प्रतिबद्धता भनेर सुशासन/सदाचार, स्वाधीनता/सार्वभौमिकता, समतामूलक समृद्धि, समुन्नत समाजवाद, सामानुपाति समावेशी/सहभागितामूलक लोकतन्त्र भनेर त्यसको संक्षिप्त व्याख्या गरिएको छ । यी सबै पत्रिकामा छापिएको ज्याकेट एडको बजेट १ करोड भन्दा बढी हुन आउँछ । विज्ञापनमा १ करोड बढी खर्च गर्ने रकम नयाँ शक्तिलाई कहाँबाट आयो भनेर अधिकांशले प्रश्न गरेका छन् । केहीले चाहि १ करोड रुपैयाँले धेरै भूकम्पपीडितको झूप्रो बन्ने थियो भन्दै बाबुरामको नयाँ शक्तिले समेत फजूल खर्चको ढोंग गरेको र यसले सो पार्टी कतै कुनै शक्तिबाट त परिचालित छैन भन्ने प्रश्न उब्जिएको दाबी गरेका छन् । बाबुराम भट्टराईलाई भारत निकट भनी आलोचना गर्नेहरु नेपाली राजनीतिमा थुप्रै छन् । कतिपयले आइतबार ज्याकेट एड छाप्ने पैसा भारतबाट आएको आरोप समेत लगाएका छन् । 

नयाँ शक्ति नेपालका एक नेता देवेन्द्र पौडेलले भने पार्टी स्थापनाको क्रममा रहेको बेला पत्रिकामा ज्याकेट एड छाप्नु अनौठो नभएको दाबी गरे । ‘यो बेला हाम्रा एजेण्डाहरु स्थापित गर्ने बेला हो ।’ उनले भनेका छन्–‘यस्तो बेलामा प्रचारका सबै माध्यम प्रयोग गर्नु ठूलो इस्यू होइन  ।’

ढाट्यो नयाँ शक्तिले
नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभाको तयारी र तामझामपूर्ण विज्ञापनहरुको खर्चबारे प्रश्नहरु उठेपछि शनिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै बजेट विवरण सार्वजनिक गरेको थियो । 

सो क्रममा प्रचार–प्रसार, प्रकाशनमा ३७ लाख खर्च हुने भनेको थियो । तर ३७ लाख प्रचारप्रसारमा खर्च हुने दाबी गरेको भोलिपल्टै सबै मुख्य दैनिक पत्रिकामा ज्याकेट एड देखिएपछि उसको खर्च विवरण नै झूठो प्रमाणित भएको हो । जति पत्रिकामा ज्याकेट एड छाप्न दिइएको छ, ती सबैको खर्च एककरोड भन्दा कम हुँदैन । जब कि सबै प्रचार प्रसार खर्च भनेर नयाँ शक्ति नेपालले ३७ लाख मात्र बजेट देखाएको छ । 

शनिवारको पत्रकार सम्मेलनमा भनिएअनुसार पार्टी घोषणा सभा व्यवस्थापनमा २० लाख, छलफल सत्रको खर्च(दुई दिनको) १२ लाख,  प्रतिनिधिहरुलाई बसोबाससहितको व्यवस्थापनमा १४ लाख, जनपरिचालन खर्च  १० लाख र विविध १२ लाख गरी एक करोड पाँच लाख देखाइएको छ । 

नयाँ शक्ति नेपालले सार्वजनिक गरेको हिसाब अनुसार एक लाखभन्दा बढी सदस्यहरुबाट एक करोड २० लाख, १५०० प्रतिनिधिहरुबाट ५०० को दरले साढे सात लाख, सचिवालय सदस्यहरुबाट १० हजारका दरले ६ लाख ६० हजार, अन्तरिम केन्द्रीय परिषद्का सदस्यहरुबाट १० लाख, समर्थकहरुबाट सहयोगका रुपमा २५ लाख र हाल बैँकमा रहेको सात लाख चानचुन जोडी एक करोड ७६ लाख आम्दानी हुने दाबी गरिएको छ ।