सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) औपचारिक शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयले आज पत्रकारसम्मेलन गरी भ्रमण वर्षको दशरथ रङ्गशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको जनाएको हो ।
 
राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने सचिवालयले जनाएको छ ।
 
प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ को चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन हँुदैछ ।
 
त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने सचिवालयले जनाएको छ । विभिन्न सांस्कृतिक झाँकी र प्रदर्शनीसहित उद्घाटन समारोहलाई भव्य बनाइनेछ । 
 
पत्रकार सम्मेलनमा भ्रमण वर्षको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा भ्रमण वर्षको भव्य शुभारम्भ गरिने तथा सोही दिन सातै प्रदेशमा भ्रमण वर्षको उद्घाटनको आवश्यक तयारी पूरा गएको जानकारी दिनुभयो ।
 
मन्त्री भट्टराईले गत साउन १५ गते मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै अधिकांश समय नेपाल भ्रमण वर्षका लागि खर्चिएको र भ्रमण वर्षलाई सफल बनाउन १०० भन्दा बढी सङ्घसंस्थासँग सरकारी तथा सरोकारवाला निकायसँग छलफल र बैठक गरिएको बताउनुभयो । निजी क्षेत्र, गैरसरकारी संस्था, नेपालस्थित कूटनीतिक नियोग, सामाजिक क्षेत्र स्वयंमसेवी समूहलगायत क्षेत्रसँग मन्त्री भट्टराईले अन्तक्र्रिया गरी भ्रमण वर्षलाई सफल बनाइदिन अनुरोध गर्नुभएको थियो ।
 
उहाँले सरकारले २० लाख पर्यटक भित्र्याउले लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको र यसबीचमा भएका छलफल पर्यटक भित्र्याउनेमा मात्र केन्द्रित नभई राष्ट्रिय एकता कायम गरी भ्रमण वर्षलाई कसरी राष्ट्रिय उत्सव र अभियानकै रूपमा मनाउन सकिन्छ भनेर सरोकारवालासँग छलफल गरिएको जानकारी दिनुभयो ।
 
मन्त्री भट्टराईले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकारले पर्यटनलाई प्रमुख प्राथमिकताको क्षेत्रको रूपमा लिएको र प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली अवधारणालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि पर्यटन क्षेत्र नै भएकाले यसको विकास प्रवद्र्धनमा आम नेपाली सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
 
उहाँले भन्नुभयो,“राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सव तथा राष्ट्रिय महाअभियानको रूपमा कसरी लैजान सकिन्छ र पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भएका छौँ ।” उहाँँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई बनाउन आर्थिक र सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको योगदान बढाउनुपर्नेमा जोड दिनुभयो । 
 
मन्त्री भट्टराईले भ्रमण वर्ष अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनुभएको उल्लेख गर्नुभयो । 
 
नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनुका साथै विश्वभरिका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि भ्रमण वर्षको मुख्य उद्देश्य भएको उहाँको भनाइ थियो ।
 
“सङ्ख्या त छादैछ, हामीले त्यो भन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनालाई प्रमुख मानेका छौंँ” उहाँले भन्नुभयो । बीस लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ, पर्यटनमा कति गुणस्तरीयता आउने छ, पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्नेछ भन्ने आधारमा समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जिडिपी) मा यसले पु¥याउने योगदानलाई हेर्न सकिने उहाँको भनाइ छ । पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ‘ब्राण्डिङ’मा कस्तो परिवर्तन आउने छ भन्ने प्रश्नलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ ”, पर्यटनमन्त्रीले भन्नुभयो ।
 
भ्रमण वर्षको सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले आफूहरु उत्साही भएको भन्दै मन्त्री भट्टराईले सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नुभएको प्रतिबद्धताले ऊर्जा थपिएको बताउनुभयो । उहाँले ‘नेपाल भ्रमण वर्ष २०२०’को तयारीको सन्दर्भमा सहयोग पु¥याउने विभिन्न मन्त्रालयका मन्त्री, भ्रमण वर्ष सचिवालयप्रति आभार प्रकट गर्दै धन्वयवाद ज्ञापन गर्नुभएको छ ।
 
त्यस्तै विभिन्न सरकारी निकाय, पर्यटनसँग सम्वद्ध विभिन्न सङ्घ, सङ्गठन, पर्यटन व्यवसायी, निजी क्षेत्रसँग सम्बद्ध सङ्घसंस्था, समग्र निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सामाजिक सङ्घसङ्गठन, स्वंयसेवी संस्था सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा पनि साथ, सहयोग र सहभागिताका लागि उहाँले अपिल गर्नुभएको छ ।
 
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई सङ्ख्यात्मक मात्र नभई गुणात्मक हिसाबले पनि अगाडि बढ्नुपर्छ र साथै पूर्वाधारलाई अघि बढाउनुपर्छ भनेर भ्रमण वर्ष मनाइरहेको स्पष्ट गर्नुभयो । 
 
भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले भ्रमण वर्षको उद्घाटन समारोहलाई भव्य र व्यवस्थित गर्न सबैखाले तयारी गरिएको जानकारी दिनुभयो । उद्घाटन समारोहका दिन दशरथ रङ्गशालामा तीन रङ्गको पास वितरण गरिएको छ सेतो, पहँेलो र निलो । जुन सेतो सर्वसाधारणका लागि, पहेँलो विशिष्ट पाहुनाका लागि र नीलो अति विशिष्ट पाहुनाका लागि विशेष कार्ड बनाइएको छ । सञ्चारकर्मीका लागि विशेष पास तथा स्थान छुट्याइएको छ ।
 
अपरान्ह ४ बजे शुरु हुने उद्घाटन समारोहमा दिउँसो ३ बजेभित्रै प्रमुख अतिथि र विशिष्ट पाहुनाबाहेक सबै रङ्गशाला छिरिसक्नुपर्नेछ । ठीक ४ बजे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको उपस्थिति हुनेछ । समारोहमा मुख्य राजनीतिक दलका शीर्षस्त नेता तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी हुनुहुनेछ ।
 
विभिन्न सङ्गीत ब्याण्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ । नेपालको संस्कृति, सम्पदा, वेषभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाउने तयारी गरिएको संयोजक वैद्यले बताउनुभयो । उद्घाटन समारोहलाई नेपालमा हालै सम्पन्न दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताजस्तै भब्य बनाइने उहाँले बताउनुभयो । समारोहको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ भने अन्य टेलिभिजनले लिंक गरेर प्रसारण गर्नेछन् । उद्घाटनको दिन उपत्यकाका विभिन्न स्थानमा ठूला प्लेक्स बोर्ड राखिनेछ ।
 
भ्रमण वर्ष दशक मनाइने 
नेपाल भ्रमण वर्ष २०२० लाई प्रारम्भको रुपमा लिएर आगामी सन् २०२० सम्मलाई पर्यटक दशकका रुपमा मनाइने भएको छ । पर्यटन मन्त्रालयका सचिव अधिकारीले पर्यटनमन्त्री भट्टराईले घोषणा गर्नु भएजस्तै भ्रमण वर्षको उद्घाटनलगत्तै पर्यटक दशकका रूपमा मनाउने अभियानमा जुट्ने र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिपर्ने बताउनुभयो । छ महिनाभित्र पर्यटन दशकको घोषण गरी आवश्यक पूर्वाधारका कामलाई तीव्रता दिइने उहाँको भनाइ थियो ।
 
नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षको पूर्वसन्ध्यामा डिसेम्बर २५ देखि नै विभिन्न कार्यक्रम गरिएको र आज साँझ ठमेललगायत स्थानबाट दिपावली गरी भ्रमण वर्षको पूर्व शुरुवात गरिने जानकारी दिनुभयो । उहाँका अनुसार भारत चीनलगायत मुलुकका पर्यटनमन्त्री तथा पाहुना भोलिसम्म काठमाडौँ आइपुग्नुहुनेछ भने १८ देशका विभिन्न सञ्चार माध्यमका ३५ जनप्रतिनिधि पनि भ्रमण वर्षको उद्घाटनमा सहभागी हुनेछन् ।