काठमाण्डौ । कोरोना भाइरसको संभावित प्रकोपलाई ध्यान दिंदै सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । 

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संभावित प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गरी सन् २०२२ लाई भ्रमण वर्षको रुपमा मनाउनुपर्ने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव क्याबिनेटबाट निर्णयको रुपमा आएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । 

योसँगै निकै महत्वकांक्षासहित सुरु भएको भ्रमण वर्षलाई कोरोना भाइरसको त्रासले पर सारिदिएको छ । भ्रमण वर्ष २०२० बाट धेरै भन्दा धेरै पर्यटक भित्र्याई त्यसबाट अर्थतन्त्रमा टेवा पुर्याउने सरकारी योजना समेत यो निर्णयसँगै तत्कालका लागि तुहिएको छ ।