►प्रकाश सिलवाल/सुशील दर्नाल 
काठमाण्डौ । आफ्नो मताधिकार प्रयोग गर्न ललितपुर भनिमण्डलका रघुनाथ बस्नेत ह्विलचेयरबाट एक घण्टा लगाएर भक्तपुरको सिपाडोलसम्म पुग्नुभयो । 

अपाङ्गतायुक्त बस्नेतमा त्यति टाढाको बाटो काटेर मत दिई साँझ पुनः भनिमण्डल फर्किए पनि थकानको अनुभूति देखिँदैन । भक्तपुर क्षेत्र नं २ को सिपाडोलस्थित कुमारीपाटीमा मत दिनकै लागि बस्नेतले आफ्नो खुट्टाको शारीरिक कठिनाइभन्दा राष्ट्रका लागि एक दिन समय दिनु महत्वपूर्ण ठान्नुभयो । 

ह्विलचेयरमा सिपाडोल पुगे पनि मतदान केन्द्र पूर्णतः अपाङ्गमैत्री नहुँदा चार स्थानमा मत दिनुपर्नेमध्ये तीन स्थानको मतका लागि बस्नेत म्यादी प्रहरीको सहायता लिन बाध्य हुनुभयो । “प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपेटिकासम्म ह्विलचेयर जान मिल्ने थियो तर प्रदेशसभाको प्रत्यक्ष र दुवै तहको समानुपातिकतर्फको मतपेटिकासम्म ह्विलचेयर घुमाएर लान नसकेकाले आफूले रोजेको चिह्नको जानकारी दिएर म्यादी प्रहरीमार्फत मतदान गरेँ ।” 

काठमाडौँ क्षेत्र नं २ मूलपानीस्थित आनन्दभैरव मावि, मतदान केन्द्रमा मत दिएका नेपाल नेत्रहीन संघका कार्यकारी निर्देेशक नरबहादुर लिम्बू आफूहरुका लागि अलग्गै मतदानयन्त्र नभए पनि केन्द्रहरुको वातावरण भने अपाङ्गमैत्री पाएको बताउनुहुन्छ । उहाँले सहयोगीमार्फत मतदान गर्नुभएको थियो । कतिपय दृष्टिविहीन तथा अपाङ्गतायुक्तलाई एकाघरकै व्यक्तिको सहयोगमा मत हाल्नुपर्ने भनिएको स्थितिमा उनीहरुले अप्ठ्यारो महसुस गरेको पाइयो । 

ललितपुरको महालक्ष्मी मतदान केन्द्रमा भेटिनुभएका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट समानुपातिक उम्मेदवार डा सुषमा आचार्य मतदान केन्द्रमा ह्विलचेयरको व्यवस्था भएका भए आफूले छिमेकमा रहेका अपाङ्गता भएका मतदातालाई ल्याउने सोचेको तर त्यस्तो वातावरण नमिलेको प्रतिक्रिया दिनुभयो । 

एकाघरका व्यक्तिले चाहेभन्दा फरक चिह्नमा पनि मतदान गरिदिनसक्ने भएकाले यस्तो अवस्थामा इच्छाएको व्यक्तिबाट सहज रुपमा मतदान दिन पाउनुपर्ने उनीहरुको मत छ । निर्वाचन आयोगका विद्यमान नीतिमा ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बिरामी मतदातालाई सहज रुपमा मतदान गराउने व्यवस्था गरिएको छ । सकेसम्म सबै मतदातालाई सहज रुपमा मतदान गराउने प्रबन्धका लागि निर्देशन दिइएको आयोगले जनाएको छ । 

ललितपुर उपमहानगरपालिका वडा नं १ को कार्यालयमा परिवारको सहयोगमा मतदान केन्द्रमा ह्विलचेयरबाट मतदान गर्न पुगेका नाम बताउन नचाहने एक वृद्धाको फर्कँदा ह्विलचेयर भाँच्चिएका कारण घर पुग्न निकै कठिनाइ व्यहोरेको दृश्य देखिएको थियो । 

मतदान केन्द्रको व्यवस्थापन विगतको तुलनामा सुधारोन्मुख भए पनि पूर्णरुपमा अपाङ्गमैत्री नभएको सम्बन्धित मतदाताको भनाइ छ । नेपाल राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी अपाङ्गमैत्री मतदान गर्ने नीतिगत व्यवस्था भए पनि व्यवहारिक रुपमा पालना नहुनु दुःखद् भएको बताउनुहुन्छ । “तर यो निर्वाचन आयोग वा सरकारको मात्र जिम्मेवारी होइन । स्थानीय तह, दलहरु र समुदायको पनि उत्तिकै भूमिका हुन्छ”, उहाँले भन्नुभयो । 

नेपाल अपाङ्ग मानवअधिकार केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारी आफूहरुले अपाङ्गमैत्री निर्वाचन र मतदान केन्द्र बनाउन निर्वाचन आयोगमा पटक पटक भन्दै आए पनि कार्यान्वयन नहुनु अपाङ्गतायुक्तहरुको अपमान हो भन्नुहुन्छ । पूर्ण अपाङ्गतायुक्तलाई मात्र होइन वैशाखी टेकेर जान पनि कठिनाइ हुने अधिकारीको भनाइ छ ।