काठमाण्डौ । तराईं मधेश डूबानको चपेटामा छ । यही बेला संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेश्रो ठूलो दल माओवादी केन्द्रमा मन्त्री छनौटको रस्साकस्सी चलिरहेको छ । जनता डूबानको चपेटामा परेका बेला दलका नेताहरु चाहि शक्तिकेन्द्रसम्म दौडधूप गर्दै आफूलाई मन्त्री बनाउने दौडधूपमा व्यस्त छन् । भारतीय दूतावासको सोर्सदेखि सम्बन्धित दलका शीर्ष नेताहरुको समेत घर धाउनेहरुको लहर नै चलेको छ । यही क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुनका लागि चलेको दौडधूपले नेपाली कांग्रेस र माओवादी केन्द्रको शीर्ष नेताहरुलाई चित्त बुझाउन हम्मे हम्मे परिरहेको छ । दुवै दलमा मन्त्री बन्ने आकांक्षीहरु बग्रेल्ती रहेका कारण पनि कसलाई सामेल गराउने र कसलाई नगराउने भन्ने बिषय मिलाउन निकै अप्ठ्यारो छ । त्यसमाथि विभिन्न शक्तिकेन्द्रबाट आउने दवाबका कारण शीर्ष नेता निकै ठूलो सकसमा छन् । प्रस्तुत छ दुई मुख्य दल कांग्रेस र माओवादीभित्रका आकांक्षीमध्ये संभावित मन्त्रीहरुको बिषयमा विभिन्न पक्ष र स्रोतहरुको सहयोगमा तयार एक रिपोर्ट :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्रीको सन्तुलित लिस्ट बनाउन निकै हम्मे परिरहेको छ । पार्टीले १३ मन्त्रालय लिने लगभग पक्का भए पनि मन्त्रीका आकांक्षीहरु २ दर्जन बढी छन् । माओवादीसँग कांग्रेसले गृह सहित १३ वा १४ र माओवादीले अर्थ सहित ९ मन्त्रालय लिने सहमति भइसकेको छ । मन्त्रीको भागबण्डा मिलाउन देउवाले विमलेन्द्र निधि र प्रचण्डले कृष्णबहादुर महरालाई विश्वासपात्रको रुपमा जिम्मेवारी दिएका छन् । देउवा र प्रचण्ड बाहेक यी दुई नेतालाई आकांक्षीको व्यवस्थापन गर्न निकै सकस भइरहेको छ । साउन २० गतेसम्म प्रचण्ड प्रधानमन्त्री भइसक्ने तयारीले समेत दौडधूपको पारो बढाइदिएको हो । 

कांग्रेस सभापति देउवाले पार्टी पदाधिकारी बन्न चाहनेलाई सरकारमा नपठाउन खोजेका छन् । तर यसले विमलेन्द्र निधिको सरकारको नेतृत्व गर्ने चाहना पूरा हुँदैन । यस्तो अवस्थामा कांग्रेसको तर्फबाट सरकारको नेतृत्व अर्जुननरसिंह केसीले गर्ने देखिएको छ । निधि सरकारमा नगए केसीले उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी पाउनेछन् । सत्ता परिवर्तनको खेलमा देउवाको दाहिने हातको भूमिका खेलिरहेका निधि पनि सरकारमा गए अर्जुननरसिंह केसीलाई स्थानीय विकास मन्त्रालयमा सेटिंग गर्ने देउवाको चाहना छ । तर स्वयम् केसीले चाहि सरकारको नेतृत्व गर्न नपाए परराष्टमा जाने इच्छा व्यक्त गरेका स्रोत बताउँछ । 

अधिकांश नेता तथा कार्यकर्ताको नजरमा बुद्धि नभएका नेताको रुपमा चिनिएका गोपालमान श्रेष्ठलाई यो पटक कुनै सामान्य मन्त्रालय दिएर फेयरवेल(विदाई) मन्त्री बनाउने देउवाको चाहना छ । यसपटकका सरकारमा पटक पटक मन्त्री भए पनि गोपालमान श्रेष्ठले गतिलो काम पनि गर्न नसकेका र बढी पैसामुखी भएका कारण अब उनलाई एकपटक मन्त्री बनाएर विदाई गर्ने देउवाको सोंच रहेको सूत्र बताउँछ । रामचन्द्र पौडेलको चित्त बुझाउन शेखर कोइरालालाई परराष्ट मन्त्रालय दिने देउवाको चाहना छ । तर कुनै पनि माओवादी नेतालाई रक्षमन्त्रीको रुपमा स्वीकार नगर्ने नेपाली सेनाको अडानपछि सो मन्त्रालयको जिम्मेवारी चाहि कोइरालाले पाउने अवस्था समेत देखिएको छ । कांग्रेसबाट सत्ता गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका रमेश लेखक पनि मन्त्री बन्ने पक्का जस्तै रहेको स्रोत बताउँछ । यस्तै देउवाका निकट मानिएका बालकृष्ण खाँडले पनि महत्वपूर्ण मन्त्रालय पाउने निश्चित देखिएको छ । प्रकाशशरण महतले यो पटक मन्त्री बन्ने रहर देखाएका छैनन् । उनी प्रचण्डको नेतृत्वमा मन्त्री बन्नुमा खासै हित नहुने, बरु यही बेला देउवासँग बार्गेन गरेर मनोनीत महामन्त्री बन्ने दाउमा छन् । तर देउवाले चाहि उनलाई महामन्त्री बनाउन चाहेका छैनन् । 

कांग्रेसबाट मन्त्री हुने संभावित आकांक्षीहरुमा ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, महालक्ष्मी उपाध्याय डिना र ईश्वरी न्यौपाने लगायतका नेता छन् । महाधिवेशनको अन्तिम घडीमा देउवाको पक्षमा उभिएका फरमुल्लाह मन्सुर पनि मन्त्री बन्ने देखिएका छन् । संसदमा केपी ओलीलाई मानसिक अवस्था ठीक नभएको भनी अभद्र शैलीमा आलोचना गर्ने भारतीय संस्थापनसँग निकट अमरेशकुमार सिंहले पनि आफूलाई मन्त्री बनाउने लविंग सुरु गरेका छन् । मीन विश्वकर्मा पनि मन्त्री बन्न खुट्टा उचालेर बसेका छन् । 

यता, पार्टीभित्रको आफ्नो गुटलाई ४५ प्रतिशत हिस्सा दिन माग गर्दै आइरहेका रामचन्द्र पौडेलले नविन्द्रराज जोशी, कमला पन्त र शेखर कोइरालालाई मन्त्री बनाउनुपर्ने अडान लिइरहेका बुझिएको छ । यस्तै कृष्ण सिटौलाले सकेसम्म आफैं सरकारमा जाने, तर नपाए गगनकुमार थापा र भिमसेनदास प्रधानलाई मन्त्री बनाउनुपर्ने भन्दै देउवालाई दवाब दिइरहेका छन् । मन्त्री बन्ने संभावितको लिष्टमा बहादुरसिंह लामा पनि छन् । 

आकांक्षीहरुको व्यवस्थापनका लागि बद्री पाण्डे, प्रकाश पौडेल, मोहन बस्नेत, आङ्टावा शेर्पा, कमलप्रसाद पंगेनी, किरण यादव, जीवनबहादुर शाही, मोहनचन्द्र यादव लगायतका नेताहरुको नाम संभावित राज्यमन्त्रीको रुपमा चर्चामा छ । 

यी हुन् माओवादीभित्रका संभावित
काम गर्न सक्ने क्षमता भएकाहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री बनाउने माओवादी केन्द्रले निर्णय गरेको छ र यही मापदण्डभित्र आफूलाई पार्न यो दलभित्र नेताहरुको दौडधूप जारी छ । माओवादी केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएकाहरु पनि नयाँ सरकारमा मन्त्री हुन इच्छुक देखिएपछि मिलाउन समस्या भएको छ । 

निवर्तमान शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, वन मन्त्री अग्नी सापकोटा र सामान्य प्रशासन मन्त्री रेखा शर्मालाई दोहोर्याउने कुरामा शीर्ष नेताहरुबीच सहमति बनेको छ । यी तीन मन्त्रीले ओली सरकारमा रहँदा राम्रो काम गरेका माओवादी नेतृत्वको ठम्याई छ । उनीहरुलाई पहिलाकै मन्त्रालयमा निरन्तरता दिइन्छ वा नयाँ मन्त्रालयको जिम्मेवारी थमाइन्छ, त्यो चाहि टुंगो लागिसकेको छैन । 

उपप्रधान सहितको मन्त्रीमा कृष्णबहादुर महराको नाम चर्चामा छ । उनले अर्थमन्त्रालय सम्हाल्ने मन गरेका छन् । भारतीय प्षको समेत उनलाई रामैै्र सपोर्ट भएका कारण उनको यो चाहना पूरा हुने अवस्था छ । तर पार्टीभित्रै निवर्तमान उपप्रधान एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले पनि नयाँ सरकारमा आफ्नो सहभागिता दाबी गरेका कारण शीर्ष नेतृत्व समस्या परेको छ । माओवादीको मन्त्री बन्ने सूचिमा युवा नेता दलजित श्रीपाइलीको नाम रहेको स्रोत दाबी गर्छ । उनलाई संभवत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी दिइनेछ । 

त्यसो त वर्तमान सरकार गिराउनका लागि पार्टी भित्र महत्वपूर्ण भूमिका खेलेका जनार्दन शर्माले मन्त्री हुन अनिच्छा देखाएका छन् । उनी सार्वजनिक लेखा समितिका सभापति छन् र मन्त्री बने माओवादीले उक्त समितिको सभापति गुमाउनसक्ने अवस्था छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि संभावित मन्त्रीको सूचिमा छन् । यसैगरी, राम कार्की, प्रभु शाह, गौरिशंकर थारु, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत पनि मन्त्रीको संभावित सूचिमा रहेका बुझिएको छ ।