काठमाण्डौ । संभवत पेचिलो बन्दै गएको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन भएन भने माओवादी केन्द्रले सरकार छाड्नेछ । आज साँझ बस्ने सत्ता गठबन्धनको बैठकपछि गठबन्धन टुटेको घोषणा हुनसक्नेछ र योसँगै सत्ता समीकरणमा समेत नयाँ परिदृश्य देखिन सक्नेछ । 

राजनीति र सत्ता सहकार्यले नयाँ बाटो समात्यो भने सेयर बजारका लगानीकर्ताहरुको नजरमा ‘खलनायक’को रुपमा स्थापित अर्थमन्त्री जनार्दन शर्माको समेत बहिर्गमन हुनेछ । यसले केही दिन सेयर बजारमा सकारात्मक अवस्था सिर्जना गर्नसक्ने विश्लेषकहरुको दाबी छ । 

अमेरिकी परियोजना एमसीसीको विषयमा पछिल्लो समय देशको राजनीति विभाजित छ । एमसीसीलाई जसरी पनि संघीय संसदमा टेबल गरी पास गराउने पक्षमा सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस दृढ देखिएको छ भने कुनै पनि हालतमा एमसीसी यथास्थितिमा अगाडि बढ्नुहुँदैन भन्ने पक्षमा सत्तागठबन्धनभित्रको अर्काे दल माओवादी दृढ देखिएको छ । विपरीत ध्रुवमा प्रकट भएका यी दुई दृढताले नै गठबन्धनको आयू लगभग सकिएको प्रष्ट भइसकेको छ । 

यदि यी दुवै पक्षमध्ये कसैले कम्प्रोमाइज गरेनन् भने आज २ बजे बस्न लागेको मन्त्रीपरिषद बैठक गठबन्धन सरकारको अन्तिम क्याबिनेट हुनेछ भने साँझ ५ बजे बस्ने गठबन्धनको बैठक समेत अन्तिम हुनेछ । 

पछिल्लो समय एमसीसीको विषयमा सत्ता सहयात्री माओवादीले द्वैध चरित्र देखाइरहेको छ । सत्ता पनि नछाड्ने र एमसीसीलाई अगाडि बढाउन पनि नदिने चरित्रका कारण माओवादी तीव्र आलोचित छ । यहीकारण माओवादी अध्यक्ष प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा आफूहरुमाथि चौतर्फी प्रहार भइरहेको व्यथा सुनाए । प्रचण्डको कथाव्यथा सुनेपछि पनि प्रधानमन्त्री देउवा एमसीसीलाई धेरै ढिला गरेर संसदमा टेबल गर्ने पक्षमा छैनन् । उनले एमसीसी जुनसुकै अवस्था आए पनि शुक्रबार संसदमा टेबल भएरै छाड्ने अडान यथावत राखेका छन् । उनका निकटवर्ती मन्त्रीहरुले पनि यही कुरा दोहोर्याइरहेका छन् । यसले समेत सत्ता गठबन्धनमा उत्पन्न दरार अब सीतिमिति टालिने अवस्था छैन भन्ने देखाउँछ । 

सत्ता गठबन्धनकै अर्को दल नेकपा समाजवादी अवसर कुरेर अनिर्णित अवस्थामा बसिरहेको छ । तर, प्रचण्डको दाबीलाई आधार मान्ने हो भने ऊ पनि यथास्थितिमा एमसीसी अगाडि नबढोस् भन्ने चाहन्छ । यसरी हेर्दा माओवादी र नेकपा समाजवादीले नै सरकार छाडेको घोषणा गर्नसक्छन् । सरकारमै बसेर सरकारले नै अगाडि बढाएको प्रस्तावलाई फेल गराउने अवस्था हुँदैन । यहीकारण अहिलेको सत्ता गठबन्धन आजै टुट्ने संभावना छ । 

निश्कर्षमा आज र भोलि नेपाली राजनीतिमा नयाँ र रोचक परिदृश्यहरु देखिन सक्छन् । नयाँ परिस्थितिका कारण सेयर बजारको लगानीकर्ताको मनोबलमा समेत अनपेक्षित परिवर्तनहरु देखिए भने त्यसलाई स्वभाविक मान्नुपर्नेछ ।