काठमाण्डौ । मादक पदार्थ सेवन गरी मातेका पाइलटका कारण फ्लाई दुबईको एउटा उडान रोकिएको छ । 

काठमाण्डौबाट दुबईका लागि उड्न लागेको फ्लाई दुवईका पाइलटले अत्यधिक मादक पदार्थ सेवन गरी प्लेन उडाउन खोजेपछि संभावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी उडान स्थगन गरिएको हो । 

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्रै विगत लामो समयदेखि गुपचुप रुपमा मादक पदार्थको बिक्री हुँदै आएको छ । त्यहीभित्रको प्रशासनको मिलेमतोमा कानून विपरीत संवेदनशील ठाउँमा मादक पदार्थ बिक्री हुँदै आएको र त्यहीभित्रका पसलबाट मादक पदार्थ खरीद गरी पिएका पाइलटका कारण यात्रुको बिचल्ली भएको हो । 

त्यहाँस्थित उच्च स्रोतका अनुसार चेकिङ गरेर प्लेनमा बसिसकेका यात्रुहरुलाई समेत फ्लाइट क्यान्सिल भदै उतारिएको थियो । 

घटनाको बिषयमा एयरपोर्ट प्रशासनले छानबिन थालेको छ । मादक पदार्थ सेवन गरी हल्लिँदै प्लेनतिर  अगाडि बढेका पाइलटलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । यहाँस्थित प्रहरीको आग्रहमा पुगेको टाफिक प्रहरीले ब्रेथलाइजर प्रयोग गरी जाँच गर्दा पाइलटले अत्यधिक मादक पदार्थ सेवन गरेको पाइएको स्रोतको भनाई छ ।