काठमाण्डौ । यदि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको सहमतिमा जनता समाजवादी पार्टीको पनि समर्थन रहने अवस्था भयो भने चुनावी सरकारको प्रधानमन्त्री एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बन्ने संभावना देखिएको छ । तर, यो संभावना यथार्थमा परिणत हुन भने निकै चुनौतिपूर्ण छ । 

यदि यो संभावना यथार्थमा परिणत हुने अवस्था देखिएपछि नेता नेपालले आफ्नो नेतृत्वमा अलग्गै दल दर्ता गर्ने तयारी थालेका छन् भने त्यसमा पार्टीकै प्रभावशाली नेता बामदेव गौतमले पनि सहभागिता जनाउने सार्वजनिक घोषणा गरिसकेका छन् । 

संसदमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैशाख २७ गतेदेखि कामचलाउ भइसकेका छन् । ओली कांग्रेस नेतृत्वको गठबन्धनमा बहुमत नपुग्नेमा ढुक्क देखिन्छन् । तर, एमालेकै २८ सांसदहरुको समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि कुनै पनि हालतमा प्रधानमन्त्रीको रुपमा पुनः ओली नै रहने अवस्था आउन नदिने रणनीतिका साथ अगाडि बढेका छन् । यो क्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनावी सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरेका छन् भने र देउवाले समेत त्यसमा ग्रीन सिग्नल दिएपछि उनी नेतृत्वको २८ जना सांसदले नै भोलिसम्म राजीनामा गर्ने बुझिएको छ । एमालेका २८ सांसदले राजीनामा गरेको खण्डमा कांग्रेस लगायतका दलको गठबन्धनको सरकार बन्ने एकथरिको बुझाई छ । 

अहिले देउवाकै नेतृत्वमा सरकार बनाउने र चुनाव आउने बेलामा कम्तीमा ६ महिना नेता नेपालले सरकारको नेतृत्व गर्न पाउने गरी कांग्रेससँग सहमति भएको बुझिएको छ । 

एमालेबाट प्रत्यक्ष निर्वाचित २० भाईले राजीनामा दिएपछि उनीहरु दलीय कारबाहीमा पर्ने निश्चित छ । यहीकारण समेत नेपाल नेतृत्वमा नयाँ दल गठनको समेत तयारी भित्रभित्रै भइरहेको स्रोतहरुले बताएका छन् । प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिएपछि रिक्त रहेको क्षेत्रमा उपचुनाव हुने र त्यसमा तिनै २० जनालाई जिताउने गरी कांग्रेस र माओवादी केन्द्रले सहयोग गर्ने सहमति समेत बनेको दाबी गरिएको छ । केही रिक्त निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा समेत गठबन्धनले जित्ने गरी उम्मेद्वारहरु तय गर्ने सहमति बनेको समेत स्रोत बताउँछ ।  

नेपाल निकट उच्च स्रोतका अनुसार नेपाल पक्षले बनाउन लागेको पार्टीमा उनी पहिलो र बामदेव गौतम दोश्रो अध्यक्ष रहनेछन् । नेता नेपाल निकट एक नेताका अनुसार नयाँ दलको नाम नेकपा समाजवादी हुने प्रवल संभावना छ । सो दलको वरिष्ठ नेताको रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहनेछन् । 

आफ्नै नेतृत्वमा सरकार बनेपछि निर्वाचन आयोगलाई दवाब र प्रभावमा पारेर चुनाव चिन्ह पनि एमालेको चिन्हसँग मिल्दोजुल्दो बनाउने उनीहरुको योजना छ । उनीहरुले चुनाव चिन्हको रुपमा सूर्य र त्यस वरिपरि ५ वटा तारा रहेको डिजाइन तयार गरेका छन् । पार्टीको मूल सिद्धान्त जननेता मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवाद नै रहने गरी नयाँ पार्टी गठनको तयारी भइरहेको ती नेताले दाबी गरेका छन् । 

नयाँ पार्टीको अन्य पदाधिकारीको मोटामोटी खाका समेत तयार भइसकेको स्रोतको दाबी छ । जसअनुसार पार्टीको महासचिवको रुपमा भीम रावल र सुरेन्द्र पाण्डेमध्ये एक र घनश्याम भूसाल रहनेछन् । यस्तै, उपमहासचिवको रुपमा गोकर्ण बिष्ट, योगेश भट्टराई र अर्को एक नेता रहनेछन् । 

पार्टीमा उपाध्यक्ष ७ र सचिव पनि ७ जना नै रहने गरी खाका बनाइएको छ । 

गठबन्धनले बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतको सरकार गठन गर्ने आधारसहित दाबी पेश गर्नुपर्नेछ । यसो नभएको खण्डमा फेरि ओली नै प्रधानमन्त्री हुनेछन् र संसद विघटन गरी चुनावको घोषणा गरिनेछ । अर्ली इलेक्सन गराउने सरकारको नेतृत्व समेत ओलीले गर्दा राजनीतिक रुपमा आफूहरुलाई ठूलो घाटा हुने भन्दै गठबन्धनमा सहभागी दल तथा नेताहरु रातदिन नभनी विभिन्न योजना सफल पार्न खटिइरहेका नेताहरु स्वयम् बताउँछन् ।