काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतबाट सोझै जनकपुर आउने कार्यक्रम तय भएको छ । मोदीको भारतको बिहार हुँदै ३ वटा हेलिकोप्टर चार्टर गरेर जनकपुर आउन लागेका गृहमन्त्री रामबहादुर थापाले संचारकर्मीलाई बताएका हुन् । 

भारतीय प्रधानमन्त्रीको आगामी बैशाख २८ गतेदेखि सुरु हुने नेपाल भ्रमणको  सुरक्षा प्रबन्ध मिलाउन धनुषामै रहेका गृहमन्त्री थापाले जिल्ला प्रहरी कार्यालयमा स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै मोदीको भ्रमण जनकपुरबाटै सुरुवात हुने खुलासा गरेका हुन्।

थापाका अनुसार मोदीले भ्रमणका बेला जनकपुरधाममा पूजाआजा गर्ने र त्यसपछि काठमाण्डौ हुँदै मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ जाने कार्यक्रम रहेको  छ ।

पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले मोदीको यसपटकको भ्रमण धार्मिक  रहेको दाबी गर्दै राजनीतिक महत्वका कुनै पनि बिषयमा कुनै पनि सम्झौता नहुने प्रष्ट पारे  । 

यता,  काठमाण्डौस्थित स्रोतहरुका  अनुसार मोदी पहिला जनकपुर आउने भएपछि त्यहाँ उनलाई नेपाली पक्षको तर्फबाट कस्ले स्वागत गर्ने भन्ने बिषयमा बहस सुरु भएको छ । केही स्रोतहरुले प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् जनकपुर गएर मोदीलाई स्वागत गर्ने  बताइरहेका छन् । तर, यो बिषय टुंगिएको भने छैन । सरकारले पनि यो बिषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । 

मोदीलाई धनुषाको बाह्रविगाहामा नागरिक अभिनन्दन  गर्ने तयारी थालिएको छ । तर, धेरै नेपाली विश्लेषकहरुले नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिएका मोदीलाई नेपाली जनताकै तर्फबाट नागरिक अभिनन्दन गरिनु हाँस्यास्पद रहेको र ओली स्वागतमा जाँदा सो कार्यक्रममा समेत सरिक बन्नुपरेकोले उनलाई नैतिक संकट पर्नसक्ने दाबी गरिरहेका छन् । 

‘नाकाबन्दीका कारण नेपाली जनताले दुःख पाए, फेरि नाकाबन्दीका प्रमुख सूत्रधार मोदीलाई कसरी नागरिक अभिनन्दन गर्न मिल्छ ?’ एक विश्लेषकले भने–‘नाकाबन्दीको डटेर सामना गरेका प्रम ओलीले नाकाबन्दीको बिषयमा मोदीले आत्माआलोचना नगरी नागरिक अभिनन्दनको साक्षी बस्नु स्वाभिमानको हिसाबले समेत ठीक होइन ।’