काठमाण्डौ । पहिलो चरणको स्थानीय निर्वाचनको क्रममा काठमाण्डौ र ललितपुर जिल्लाका महानगरमा आश्चर्यजनक मत प्राप्तिसँगै वैकल्पिक राजनीतिक शक्तिको रुपमा हेरिएका साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता हुने भएको छ । 

यी दुुई नयाँ राजनीतिक दलहरुले बुधबार दिउँसो एक पत्रकार सम्मेलनको आयोजना गरी एकताको घोषणा गर्न लागेका हुन् । 

मंगलबार साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासँग बसेको फोटो ट्वीट गर्दै भनेका छन्–‘विवेकशील तथा साझा पार्टी एकिकरण घोषणा पत्रकार सम्मेलन, बुधवार दिउँसो १.३० बजे इन्द्रेणी पार्टी प्यालेस, नयाँ बानेश्वरमा ।’

यी दुुई पार्टीले पहिलो चरणको स्थानीय निर्वाचनमा काठमाण्डौ र ललितपुर महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उम्मेद्वारी दिएका थिए । विवेकशीलको तर्फबाट काठमाण्डौ महानगरको मेयर पदमा उठेकी रञ्जु दर्शनाले सबैलाई आश्चर्यमा पार्दै २० हजार भन्दा बढी मत ल्याएकी थिइन् । साझा पार्टीका किशोर थापाले समेत २० हजारकै हाराहारीमा मत ल्याएका थिए ।

ललितपुर महानगरपालिकामा समेत यी दुुई पार्टीका उम्मेद्वारले नसोचेको मत ल्याएका थिए । 
पुरानो महनगरपालिकामा नयाँ दलले धेरै मत ल्याएका कारण कतिपय ठूला र पुराना दलका उम्मेद्वारहरुको मत काटिएको थियो भने कतिपयको जमानत नै जफत भएको थियो । 

काठमाण्डौको परिणामबाट हौसिएको साझा पार्टीले इटहरी उपमहानगरपालिकामा समेत मेयर र उपमेयरमा उम्मेद्वारी दिएको थियो । तर, त्यहाँ सो पार्टीका उम्मेद्वारले डेढसयको हाराहारीमा मात्र मत ल्याएका थिए । 

विशेषगरी काठमाण्डौको निर्वाचन परिणामसँगै साझा पार्टी र विवेकशील नेपाली दललाई शुुभेच्छुुकहरुले मिल्न सुुझाव दिइरहेका थिए । 

एकतापछि बन्ने पार्टीको नाम विवेकशील साझा पार्टी वा साझा विवेकशील पार्टीमध्ये एउटा राखिने बताइएको छ । पार्टीको नेतृत्व, चुनाव चिन्ह, बिधान र घोषणापत्र भने एक महिनाभित्र टुंगो लाग्नेछ।