►आदित्य दाहाल 
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रको मुख्य केन्द्र मेलम्चीबाट नवलपुर हुँदै सदरमुकाम चौतारा जोड्ने मनमोहन राजमार्ग निर्माण भएको वषौँ भएपनि हालसम्म बस सेवा सञ्चालन हुन नसकेकोमा स्थानीयवासी आक्रोशित भएका छन् । 

करिब ३५ किलोमिटर लम्बाइको यो सडक मेलम्ची, नवलपुर हुँदै जिल्लाको सदरमुकाम चौतारासम्म जोडिएको छ । सिन्धुपाल्चोक क्षेत्र नं. २ र ३ गरी ३० गाविसलाई प्रत्यक्ष सेवा प्रदान गर्नसक्ने भएपनि बस सेवा सञ्चालन नहुँदा उक्त क्षेत्रका स्थानीय बासिन्दा सेवाबाट वञ्चित भएका छन् । 

मेलम्ची, नवलपुर र चौतारा सडकखण्ड ३५ किमी लामो भएकोले कम भाडादरमा र दुई घण्टाको समयमा आरामसँग पुगिने भएपनि सो सडकमा बस सेवा सञ्चालन नहुँदा यात्रु ६५ किमीको बढी भाडा तिरी चार–पाँच घण्टा लगाएर सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेपलाञ्चोक जिल्लाको लामिडाँडा तथा दोलालघाट हुँदै सदरमुकाम जान बाध्य भएको मेलम्चीका स्थानीय सुमन दुलालले बताए ।

मेलम्ची—चौतारा सडक निर्माणमा हालसम्म रु २० करोडभन्दा बढी लगानी लगाएर ग्राभेल गरिएको भएपनि बस सञ्चालन नहुँदा जिल्लाका पश्चिम भेगका हेलम्बु, भोताङ, भोटेचौरजस्ता तीनवटा केन्द्रलगायत ३० गाविसका बासिन्दाले सदरमुकाम जानका लागि एक दिनको समय निकाल्नुपर्ने बाध्यता रहेको हेलम्बुका बासिन्दा साङ्गे ह्याल्मोले बताए ।

केही महिना अगाडि हेलम्बु यातायात सेवा समितिले मेलम्ची—चौतारा सडकखण्डमा बससेवा सञ्चालन गरेको भएपनि अरनिको यातायात सेवा समितिबाट बारम्बार अवरोध भएपछि बससेवा सञ्चालन पुनः बन्द भएको थियो । 

सिन्डीकेट नरहेको भनेपनि अरनिको यातायात सेवा समितिले निरन्तर एकाधिकार जमाउँदै आएकाले यस्तो समस्या खेप्नुपरेको स्थानीयले आरोप लगाएका छन् । 

जिल्लाको क्षेत्र नं ३ मा हेलम्बु यातायात सेवा समितिले बस सेवा दिँदै आएको छ भने अन्य क्षेत्रमा अरनिको यातायात सेवा समितिले बससेवा सञ्चालन गर्दै आएको छ । 

मेलम्ची—चौतारा सडकखण्डमा यातायात सञ्चालनको विषयमा अरनिको यातायात सेवा समितिका तत्कालीन अध्यक्ष जितबहादुर भारतीसँग बुझ्दा सो रुटमा बस सेवा सञ्चालन गर्न धेरै पहिलेदेखि पहल गरेको भएपनि हेलम्बु यातायात सेवा समितिले सञ्चालन गर्न नदिएको बताए । 

त्यस्तै, हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले भने विगत चार–पाँच वर्षअघि नियमितरुपमा मेलम्ची– नवलपुर–चौतारा बस सेवा सञ्चालन गर्दै आएका थियौँ, बीचमा अरनिको यातायात सेवा समितिले अवरुद्ध गरेपछि यातायात पुनः सञ्चालन गर्न नसकेको बताए ।

दुईवटै समितिले एकअर्कोलाई आरोपप्रत्यारोप गरेर बस सञ्चालन नगरेकोबारे जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सो सडकखण्डमा बस सेवा दिन दुवै यातायात समिति स्वतन्त्र रहेका र यहाँ कुनै सिन्डीकेट नरहेको जानकारी दिँदै बस सेवा सञ्चालन गर्नेक्रममा कुनै अवरोध सिर्जना भएमा जिल्ला प्रशासन कार्यालयले आवश्यक सुरक्षा प्रदान गर्ने जनाएको छ ।