काठमाण्डौ । युद्धकालमा माओवादीले अख्तियार गरेको छायाँ सरकारको रणनीतिलाई पछ्याउँदै कांग्रेसले पनि केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म छायाँ सरकार गठनको निर्णय गरेको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारलाई कदम कदममा खबरदारी गर्न केन्द्रदेखि प्रदेश संसदसम्म छायाँ सरकार बनाइने कांग्रेसका युवा नेता गगनकुमार थापाले बताएका छन् । उनका अनुसार संघीय संसदमा कांग्रेसले छायाँ प्रधानमन्त्री र १८ वटै मन्त्रालयका छायाँ मन्त्री बनाइनेछ । छायाँ प्रधानमन्त्रीको रुपमा पार्टीको संसदीय दलका नेताले काम गर्नेछन् भने ओली सरकारले गठन गर्ने १८ वटै मन्त्रालयलाई चेक एण्ड ब्यालेन्स गर्न १८ वटै छायाँ मन्त्री समेत बनाइनेछ । 

सिंहदरबारमा शनिवार बसेको संसदीय दलको बैठकमा राम्रो प्रतिपक्षको भूमिकामा बस्नका लागि छाँया सरकारको आवश्यकता भएको सांसदहरुको सुझाव अनुरुप छायाँ प्रधानमन्त्री र मन्त्रीहरु बनाइने निर्णय भएको थापाले जानकारी दिएका छन् । 

उनका अनुसार यो अवधारणा अनुसार छायाँ सरकार प्रदेशसभा र स्थानीय निकायमा समेत संचालन गरिनेछ । छाया प्रधानमन्त्री र मन्त्रीहरुले आ आफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् ।

कांग्रेसको छायाँ सरकार निर्माणको निर्णयलाई एमालेका एक नेताले भने समृद्धि र विकासको युुग एमालेको नेतृत्वमा प्रारम्भ हुन लागेपछि अत्तालिएको कांग्रेसले कदम कदममा सरकारलाई अप्ठ्यारो पार्ने रणनीति अनुसार युद्धकालको अभ्यासजस्तै छायाँ सरकार गठनको निर्णय गरेको दाबी गरे । उनले ५ वर्ष सत्ताबाहिर हुनुुपर्ने भएपछि सधैं सत्ता चाहिने कांग्रेसलाई छटपटीले सताएको र सत्ताको प्यास मेटाउनैका लागि छायाँ सरकारको हास्यास्पद अवधारणा आएको दाबी गर्दै कांगे्रसको यस्तो निर्णयको बिषयमा एक दुुई दिनमै सत्तासीन दलको अवधारणा बाहिर ल्याइने जानकारी दिए । 

यसअघि नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले समेत ओली सरकारलाई दवाबमा राख्न छायाँ सरकार संचालनको घोषणा गरेका थिए । 

माओवादीले युद्धकालमा छायाँ सरकारको रुपमा जनसरकार संचालन गर्ने गथ्र्यो ।