काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले काम गर्न पाउने आज अन्तिम दिन हो । उनी औपचारिक रुपमा सिंहदरबारबाट 'आउट' भए पनि अर्थमन्त्रालय हाँक्ने गरी बालुवाटारमा भने 'इन' हुने भएका छन् । 

डा. खतिवडालाई बालुवाटारमा 'इन' गराउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक तयारी गरिरहेका उनी निकट स्रोतले बताएको छ । 

डा. खतिवडाले पुल्चोकस्थित मन्त्री क्वार्टरबाट हिजै सामान आफ्नो निजी निवासमा सारिसकेका छन् । उनले हिजै राजीनामा-पत्र प्रम ओलीलाई बुझाउन खोजे पनि ओलीले रोकेका थिए । यसभित्रको कारण ओलीले डा. खतिवडाको साथ अबको अढाई वर्षमा पनि निरन्तर चाहेको रुपमा बुझिएको छ । 

बालुवाटारस्थित स्रोतका अनुसार ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दा समेत अर्थमन्त्रालय कसैलाई नदिने तयारी गरेका छन् । अर्थमन्त्रालय आफैंसँग राख्ने उनको योजना छ । योसँगै ओलीले अर्थमन्त्रीबाट विदा भएका डा. खतिवडालाई मन्त्री सोसरहको हैसियत कायम हुने गरी आफ्नो प्रमुख सल्लाहकार नियुक्त गर्नेछन् । अनौपचारिक रुपमा अर्थमन्त्रालयको संचालनको जिम्मेवारी ओलीले आफ्ना सल्लाहकार(डा. खतिवडा)लाई दिने तयारी गरेका छन् । 

स्रोतका अनुसार डा. खतिवडालाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्ति दिने विषयको निर्णय एकदुई दिनमै हुनसक्छ । ओलीले शुक्रबार ११ बजे मन्त्रीपरिषद बैठक बोलाएका छन् । सो बैठकले बामदेव गौतमको नाम राष्ट्रियसभाका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ । 

खतिवडालाई मुख्य सल्लाहकार बनाएपछि हालका सल्लाहकार विष्णु रिमाललाई श्रममन्त्री बनाउने सकिने गरी तयारी भइरहेको बुझिएको छ । 

डा. खतिवडाले भने आफू आर्थिक सल्लाहकार बन्नु भन्दा पनि अमेरिकाका लागि नेपालको राजदूत बन्न चाहेका छन् । तर, ओलीले भने आफूलाई बाँकी कार्यकालमा सहयोग गर्न भनिसकेका छन् । 

यसरी अर्थ मन्त्रालय ओलीले आफैंसँग राखेपछि बामदेव गौतम भने गृहसहित उपप्रधानमन्त्री बन्नेछन् । 

यस्तै, हाल डा. खतिवडाले नै सम्हालिरहेको संचार मन्त्रालयमा पुनः गोकुल बास्कोटाको पुनरागमन हुनसक्ने संभावना समेत बढेको छ । तर, मन्त्रीपरिषद पुनर्गठन नहुँदासम्म संचार मन्त्रालयको जिम्मेवारी प्रदीप ज्ञवालीले पाउनेछन् ।  

बास्कोटालाई उनी विवादमा परेको ७० करोडको टेप प्रकरणबाट अर्को साता सफाई दिइँदैछ । यही योजनाअनुसार टेप प्रकरण बाहिर ल्याउने विजय मिश्रको नाममा अख्तियारले ७ दिने सूचना जारी गरिसकेको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरेले भदौ अन्तिममा अवकाश पाउँदैछन् । अवकाशअघि उनले गोकुल बास्कोटाको मुद्धालाई किनारा लगाउने जिम्मेवारी पाएका छन् ।

 

सम्बन्धित समाचारहरु: