काठमाण्डौ । सामान्य प्रशासनमन्त्री हुँदा राम्रो काम गरेर सबैको मन जितेका लालबाबुु पण्डितले ओली नेतृत्वको सरकारमा पाएको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा तहल्कापूर्ण इनिङको सुरुवात गरेका छन् । 

प्रधानमन्त्री केपी ओलीको समेत पहिलो रोजाईमा परेका पण्डितले हाल जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालिरिहेका छन् । यसअघिका मन्त्री र सचिवलाई प्रभावमा पारी लामो समयदखि वातावरणीय प्रभाव मूल्यांकन नगरी होटल निर्माण तथा सेवा बिस्तार गरेको भन्दै केही नाम चलेका होटल र अस्पतालाई कारबाहीको निर्णय गरेर आफ्नो कार्यकालको तहल्कापूर्ण सुरुवात गरेका हुन् । 

मन्त्रालयमा आइतबार बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट रवीभवनले वातावरणीय प्रभाव मूल्यांकन नगरी होटल निर्माण गरेकोले एकलाख जरिवाना तिराउने निर्णय गरेको छ । त्यस्तै द्वारिका होटल गौशालाले इआईए नगरी क्षमता विस्तार गरेको भन्दै उसलाई पनि एकलाख जरिवाना तिराउने निर्णय गरेको छ । 

मन्त्री पण्डितका स्वकीय सचिव वसिम आलमका अनुसार बैठकले सिद्धि होटल रविभवन, काठमाडौं गेष्टहाउस ठमेललगायतलाई पनि एक एकलाख जरिवाना तिराउने निर्णय गरेको छ ।

बैठकले केही अस्पताललाई कारबाही प्रक्रिया अगाडि बढाउन स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । समेत नगद जरीवाना गराउने निर्णय गरेको आलमले जानकारी दिए । त्यस्तै, बागबजारको काठमाडौं मोडेल अस्पताल, त्रिपुरेश्वरको काठमाडौं अस्पताल, कलंकीस्थित नेपाल नेशनल हस्पिटल, अन्तराष्ट्रिय मैत्री वाल अस्पताललाई समेत इआईए नगरेको भन्दै आवश्यक कारवाही गर्न पत्राचार गरिने बताइएको छ । 

यस्तै, मन्त्री पण्डितले अरनिको आबुखैरेनी सिमेन्ट, काठमाडौं दुग्धवितरण आयोजना बालाजुलगायतलाई वातावरणीय मूल्यांकन नगरेको भन्दै ५० हजार नगद जरिवाना गराउने निर्णय समेत गराएका छन् ।