काठमाण्डौ । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसलाई वीपीको समाजवादी चिन्तनबाट च्यूत भई व्यक्ति स्वार्थ, नातावाद, भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै नेपाली कांग्रेस(वीपी)ले स्वाधीन र समृद्ध राष्ट निर्माणको संकल्प गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कांग्रेस(वीपी)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा देउवा नेतृत्वको कांग्रेस पैसा र विदेशी शक्तिको सामुु देशै बेच्न समेत तयार रहेको दाबी गर्दै यसबाट वीपीले देखेको समृद्ध, स्वाधीन देशको सपना पूरा हुन नसक्ने ठहर गरिएको छ।
कांग्रेस वीपीले इमानदार, कर्तव्यनिष्ठ, राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्टको एजेण्डालाई अगाडि बढाउँदै चुनावमा होमिएको घोषणा समेत गरेको छ ।
घोषणापत्र सार्वजनिक समारोहमा सो पार्टीका सभापति हरिवोल भट्टराईले देउवा नेतृत्वको कांग्रेससँग कुनै भिजन नै नभएको आरोप लगाए । 'सत्ता टिकाउनैका लागि आतंकबाट राजनीतिमा आएको प्रचण्डलाई टाउकोमा बोक्ने मात्र होइन, कांग्रेसको सिद्धान्तविपरीत हसिया हथौडामा भोट हाल्न लगाउनेजस्तो लाजमर्दो काम गरे ।' भट्टराईले भने-'जब प्रचण्डले लात हाने, त्यसपछि सत्तामा टाँसिरहने स्वार्थबाट प्रेरित भई कमल थापाजस्ता मण्डलेसँग सहकार्य गर्न तयार भए । त्यसकारण अहिलेको कांग्रेस विचार र सिद्धान्तविहीन पार्टी हो ।'
सभापति भट्टराईले सच्चा नेपाली कांग्रेस कम्युनिष्ट र कमल थापाजस्ता अवसरवादी भन्दा फरक हुनुपर्नेमा जोड दिए ।
'हामी विचार र सिद्धान्तप्रति प्रतिबद्ध छौ, कोही मन्त्री हुन् वा कुनै अवसर पाउन पार्टी खोलिएको होइन ।' उनले भने-'हाम्रो पार्टी सम्पूर्ण रुपमा वीपीको हरेक सिद्धान्तमा समर्पित छ, हामीले वीपीले देखेको सपना पूरा गरिछाड्छौ ।'
घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका महामन्त्री सुशीलमान शेरचन, पुुष्प पराजुली लगायतको सहभागिता थियो ।
कांग्रेस वीपीले सार्वजनिक गरेको घोषणापत्रमा राष्टिय पोशाक, शहीद परिवार, कार्यकर्ताको व्यवस्थापन, विदेश नीति लगायतको बिषयमा केही नवीन अवधारणा अगाडि सारेको छ । घोषणापत्रमा उल्लेख कांग्रेस (वीपी)को अवधारणा हेरौं बुँदागत रुपमा:
यातायात
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल र टलीबस चलाउने कार्य कांग्रेस(वीपी)को सरकारले गर्नेछ ।
अत्यावश्यक सवारी साधनहरु बाहेक सरकारी, संस्थागत, निजी, पर्यटक, ढुवानी र सार्वजनिक लगायतका सबै सवारीसाधनहरु २० वर्ष पुराना तथा मापदण्डविपरीतका सवारी साधनहरुलाई विस्थापित गरिनेछ र सम्पूर्ण आयातकर्ता कम्पनी तथा डिलरहरुले २ सवारी साधनको दर्ता खारेज गरेबापत एउटा नयाँ आयात गर्न पाउने व्यवस्था गरिनेछ । यसरी नयाँ सवारी साधन आयात गर्दा लाग्ने भन्सार महसुल लगायतका शुल्कमा विशेष छुटको व्यवस्था गरिनेछ ।
परराष्ट्र नीति
सबै राष्ट्रहरुसँग समानताको आधारमा मित्रता कायम गरिनेछ, यसका लागि सक्रिय र गतिशील परराष्ट्र नीतिको अवलम्बन गर्ने ।
छिमेकी दुुई देशसँग समान मित्रता कायम गर्ने र कुनै बाह्य हस्तक्षेपलाई स्वीकार नगर्ने ।
वैदेशिक सहायता
विदेशी सहायताको ठूलो हिस्सामा भ्रष्टाचार गर्ने र कमिसन खानेहरुको जालो देशमा व्याप्त छ । नेपाली कांग्रेस(वीपी)को सरकारले सबैभन्दा पहिला यो जालो तोड्नेछ । देशले आफूले तोकेको प्राथमिकताको क्षेत्रमा विदेशी पूँजीको लगानी हुनुुपर्छ, दाता मुलुक वा संस्थाको इच्छामा होइन भन्ने धारणालाई स्थापित गरिनेछ । विदेशी ऋणको लगानी उत्पादनमूलक क्षेत्रमा तथा विदेशी मुद्रा आर्जन गर्ने आयोजनामा हुनुपर्छ ।
जलविद्युतको विकास
सबै गाउँ र बस्तीहरुसम्म आफैले उत्पादन गरेको बिजुली पुर्याइने ।
विद्युत उत्पादन गरेर विदेशमा निर्यात गरी आयमा कैयौ गुणाको वृद्धि गर्ने ।
विद्युतबाट चल्ने यातायातका साधनलाई सहुलियत दिई तथा प्राथमिकतामा राखी पेट्रोलियम पदार्थको खपतलाई कम गर्दै लैजाने ।
१० वर्षभित्र २० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइने ।
विगतमा जथाभावी ढंगले जलविद्युत परियोजना निर्माणका लागि जारी भएका लाइसेन्सहरुको बिषयमा खोजी गरी झोलामा खोला राख्नेहरुको लाइसेन्स खारेज गर्ने । नयाँ लगानीकर्तालाई समेत समय नै तोकेर निर्माणको जिम्मा दिने र समयमै सक्ने बाध्यकारी अवस्था सिर्जना गर्ने । समयमै नसक्ने कम्पनीको लाइसेन्स नै खारेज गर्ने व्यवस्था ल्याइने ।
विद्युतीय सवारी साधनको आयातमा भन्सार महसुल १० प्रतिशतमा सीमित गर्ने, भ्याट समेत पूर्ण मिनाहा गरिने ।
राष्ट्रिय पोशाक
राष्ट्रसेवक कर्मचारी, संवैधानिक अंगका व्यक्ति र औपचारिक कार्यक्रममा सम्पूर्ण नेपाली नागरिकले राष्ट्रिय पोशाक अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिनेछ । पुरुषको हकमा दौरासुरुवाल र ढाका वा भादगाउँले टोपी तथा महिलाको हकमा सारी, चोलो वा ब्लाउजलाई राष्ट्रिय पोशाक बनाइने।
नागरिकताको उपयोग
नागरिकताको प्रमाणपत्रमा राखिने फोटोमा पुरुषको शिरमा ढाका वा भादगाउँले टोपी हुनुपर्ने व्यवस्थालाई अनिवार्य गर्ने ।
पर्यटन
अर्थतन्त्रको बलियो आधारको रुपमा पर्यटनलाई विकास गर्ने ।
पर्यटन क्षेत्रमा लगानी शहरी क्षेत्रमा मात्र सीमित नराखी गाउँहरुमा समेत बिस्तार गर्न बाध्यकारी व्यवस्था गरिने ।
सुकुम्बासी र रोजगार
नेपालभरका वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई दुुर्गम जिल्लाहरुमा सिंचाईको व्यवस्था गरी प्रति परिवार १० रोपनी खेतीयोग्य जमीन र आवासको व्यवस्था गरिने ।
तलबमान र कर प्रणाली
कांग्रेस वीपीको सरकारले न्यून वेतन र आय हुनेहरुलाई बढी सुविधा र सहुलियत दिने नीतिको अवलम्बन गर्ने ।
समय समयमापेक्षको मूल्य स्थिति र विभिन्न पेशा तथा व्यवसाय कार्यरतहरुको वेतनमान र आय स्थितिको मूल्यांकन गरी सरकारलाई सुुझाव दिन तलब आयोग गठन गर्ने ।
प्रगतिशील कर प्रणाली अवलम्बन गर्ने ।
कर छल्ने प्रवृतिलाई निरुत्साहित गरी कर प्रशासनमा व्यापक सुधार गरी कर चुहावट रोकेर राजश्वमा वृद्धि गर्ने ।
हचुवाको भरमा करको दर होइन, दायरालाई फराकिलो पार्ने ।
भूतपूर्व अति विशिष्टहरुलाई सेना, प्रहरी र सशस्त्र प्रहरीमार्फत दिंइदै आएको सुरक्षा संयन्त्रमा परिवर्तन गरी भूपू सैनिक, भूपू प्रहरी, भूपूू बेलायती सेना, भूूपूू भारतीय सेना, भूूपूू सिंगापुर प्रहरीको विशेष सुरक्षा फोर्स निर्माण गरी सोको जिम्मा दिने व्यवस्था गर्ने ।
जेष्ठ नागरिक
सामाजिक सुरक्षा भत्तालाई बढाएर मासिक १० हजार रुपैयाँ पुर्याउने ।
प्रत्येक प्रदेशमा एउटा सुविधा सम्पन्न वृद्धाश्रमको स्थापना गर्ने ।
७० वर्ष पुुगेका जेष्ठ नागरिकलाई हवाईमार्ग, रेलमार्ग, सडक लगायतका यातायातका साधनमा ५० प्रतिशत भाडा छुट र ७५ वर्ष माथिकालाई सतप्रतिशत भाडा छुटको व्यवस्था गर्ने ।
धर्म
नेपाली कांग्रेस(वीपी) सरकारले सबै धर्मप्रति समान दृष्टिकोण राख्ने ।
नेपालीहरुको धर्मको बिषयमा विवाद भएमा जनमत संग्रह गर्ने ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19