प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको मस्यौदा तयार भइसकेको बताउँदै दिँदै चार दिनभित्रै सदनमा दर्ता गर्ने बताएका छन्।

केही दिनअघि आफूसँगको कुराकानीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत संशोधनमा साथ दिने वचन दिएको उनको दाबी छ।

प्रधानमन्त्रीका अनुसार संशोधनमा नागरिकताको प्रावधानबारे व्याख्या, प्रदेश सिमाङ्कनमा केही हेरफेर र राष्ट्रियसभामा प्रदेशको प्रतिनिधित्वमा परिमार्जन लगायतका विषय समेटिने छन्।

सरकारको एक सय दिनका काम कारवाहीको चर्चा गर्न सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, "संशोधनको प्रस्ताव तयार छ, अब पनि दर्ता हुन्छ किन हुन्न भनेर अलमलमा पर्न जरुरी छैन, यही महिनाभित्रै दर्ता हुन्छ।"

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका आन्दोलकारीले ८-१० दिन पहिल्यै संविधान संशोधनमा समर्थन जनाइसकेको प्रधानमन्त्री प्रचण्डको भनाई छ।

संशोधनका विषयबारे प्रमुख विपक्षी एमालेका अध्यक्ष ओलीलाई पनि अवगत गराइसकेको उनले बताए।

राष्ट्रियसभामा हरेक प्रदेशबाट निश्चित संख्यामा बराबर र बाँकी जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने लगायतका विषय संशोधनमा समेटिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, "केही जिल्ला हेरफेर हुने सम्भावना र नागरिकताबारे व्याख्या गर्ने स्थिति छ भनेर प्रष्ट रुपमा राखेपछि संशोधन दर्ता गर्नुस् भनेर उहाँले सहमति दिनु भएको थियो।"

तर एमाले सचिव प्रदीप ज्ञवाली उक्त कुरा अस्विकार गर्छन्।

उनले भने, "त्यो सरासर गलत प्रचार हो। न उहाँले मस्यौदाबारे छलफल गर्नु भएको छ न त यो-यो विषयमा संशोधन गर्ने हो भनेर भन्नु भएको छ। यस्तो प्रचारले अविश्वास जन्माउँछ।"

प्रचण्डका भनाईमा केही दिनयता एमालेबाट संशोधनको विपक्षमा धारणा आएपछि उनले ओलीसँग बिहिबार थप छलफल गरेका थिए।

सहमतिको वातावरण धमिलिइसकेको रहेछ वा कायम? आफ्नो शंकाका माझ भएको उक्त भेटबारे प्रचण्डले चर्चा गरेनन्।

बिहिबार आफू र शुक्रबार देउवाले ओलीसँग गरेको भेटबारे शनिबार थप परामर्श गरेपछि संशोधन प्रस्ताव दर्ताको प्रक्रिया अघि बढाउने उनले बताएका बीबीसीले लेखेको छ । ।