काठमाण्डौ । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच घम्साघम्सी भएको छ । 

पार्टीको मंगलबार करिब ५ घण्टा चलेको बैठकमा ओली र प्रचण्डबीच घम्साघम्सीको अवस्था सिर्जना भएको हो । 

सचिवालयका एक सदस्यले बिजशालालाई दिएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा सरकारका कमजोरी ढाकछोप गर्दै कतिपय गम्भीर विषयहरु समेत ढाकछोप गर्न खोजेपछि र उठेका प्रश्नहरुको गोलमटोल जवाफ दिएपछि अवस्था केही असहज बनेको थियो । 

ओलीले सचिवालय बैठकमा सुरुवाती सम्बोधन गर्दै करिब २ घण्टा बोलेका थिए । सो क्रममा उनले अधिकांश समय सरकारले गरेका कामहरुको प्रशंसा र चर्चा गरेका थिए । उनले सम्बोधनको क्रममा सरकारले राम्रा काम गर्दा गर्दै पनि पार्टीभित्रै असहयोग भएको, सचिवालयका सदस्यहरुबाटै असहयोग भई सरकारको बदनाम गर्ने काम भएको भन्दै रोष प्रकट गरेका थिए । 

मंगलबार राति झण्डै १० बजेसम्म चलेको सचिवालय बैठकमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरीदमा भएको अनियमितता र त्यस्ता सामाग्री खरीदको जिम्मा सेनालाई दिने विषयमा दुई अध्यक्षबीच भनाभनको अवस्था सिर्जना भएको थियो । 

प्रचण्डजीले स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचारको विषयमा सरकारले हेलचेक्र्याई गरेको र छानबिन गर्नूको साटो प्रधानमन्त्रीले सचिवालय बैठक अगाडि देशबासीको नाममा सम्बोधन दिने भन्दै उल्टै ढाकछोप गर्नु गलत रहेको उल्लेख गरेका थिए । प्रचण्डले स्वास्थ्य सामाग्री खरीदको जिम्मा नेपाली सेनालाई दिने सरकारी निर्णयको विषयमा समेत प्रष्ट पार्नुपर्ने माग गरेका थिए । 

तर, जवाफमा ओलीले ती दुवै विषयमा गोलमटोल जवाफ दिएका थिए । उनले जरुरी स्वास्थ्य सामाग्री खरीदका लागि ओम्नी समूहसँग भएको खरीद सम्झौताको विषयमा समेत अनभिज्ञता प्रकट गरेका थिए । त्यो विषय आफूलाई थाहा नै नभएको भन्दै टार्न खोजेपछि सचिवालयका अन्य सदस्य समेत आक्रोशित बनेका थिए । 

स्वास्थ्य सामाग्री खरीद गर्न सेनालाई दिने विषयमा प्रष्ट पार्ने माग गर्दा ओलीले 'त्यस्तो केही होइन, सरकारले त्यस्तो कुनै निर्णय गरेको छैन' भन्दै टार्ने काम गरेका थिए । कतिपय सचिवालय सदस्यहरुले सेनाले नै पत्रकार सम्मेलन गरेर यो कुरा पुष्टि गरिसकेको छ, सोही निर्णयपछि बुधबार ५ देशसँग स्वास्थ्य सामाग्री खरीदका लागि पत्राचार भइसकेको विषय उठाएका थिए । त्यतिबेलासम्म पनि प्रधानमन्त्रीले सो विषयमा प्रष्ट जवाफ दिनुको साटो 'त्यस्तो केही होइन, मलाई तपाईहरुले भनेको विषयमा थाहा छैन' जस्ता गैरजिम्मेवारपूर्ण जवाफ दिएका ती सचिवालय सदस्यले बताए । 

बैठकमा ओलीले प्रष्ट पार्न नसकेका विषयमा बामदेव गौतमले समेत र्याखर्याख्ती पारेका थिए । 'प्रधानमन्त्रीलाई नै यस्ता विषयमा थाहा छैन भनेर हुन्छ ?' भन्दै उनले रोष प्रकट गरेका थिए । तर, अन्तिम समयसम्मै पनि ओलीले आफूमाथि असहयोग भएको, पूर्व माओवादीहरुले आफ्ना निकटका कतिपय संचारमाध्यम प्रयोग गरेर निरन्तर प्रहार गरेको भन्दै गुनासोलाई जारी राखेका थिए । 

सचिवालय सदस्यहरुले प्रष्टता खोजेको विषयमा ओलीले ठोस र प्रष्ट जवाफ नदिई आलटालमै सचिवालय बैठक बसेको थियो । 

'सचिवालय बैठकमा दुई अध्यक्षबीच भएको घम्साघम्सीले अवस्था असहज मात्र बनाएन, नराम्रो भविष्यको संकेत गरेको मेरो बुझाई हो ।' ती सचिवालय सदस्य भने-'पछिल्लो समय दुई अध्यक्षबीच विकास भइरहेको तिक्तता यसले संकेत गर्छ ।' 

सचिवालय बैठकमा झलनाथ खनालले 'सरकारले गल्तीहरु गरेका भन्दै त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने' सुझाव दिएका थिए । तर, ओलीले ती सुझावलाई समेत त्यसै टारिदिए । 

बैठकमा कोरोना संक्रमण रोकथामका लागि सरकारले गरिरहेका प्रयासको समेत समीक्षा भएको थियो । सो क्रममा नेताहरुले टेस्टको दायरा बढाउनुपर्ने, सीमा नजिक रोकिएका आफ्नै नागरिकहरुको विषयमा गम्भीर भएर सोचिनुपर्ने लगायतका विषय उठाएका थिए ।