Face to face
काठमाण्डौ । पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासमा स्थापित टे«किङ एजेन्सिज एसोसिएशन अफ् नेपाल(टान)मा सतहमा देखिएको विवाद समाधानका लागि सबै पक्षले फेस टु फेस प्रतिबद्धता जनाएका छन् ।
वर्तमान कार्यसमिति अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, निवर्तमान कार्यसमिति, टानका पूर्व अध्यक्षहरु र ट्रेकिङ व्यवसायीहरुले संचारकर्मीहरुको सामु टान विवादलाई घर(टान)मै बसेर समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पर्यटन पत्रकार संघ(जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा सहभागीहरुले टानका आन्तरिक समस्यालाई सञ्चारमाध्यममा ल्याएर नाङ्गो बनाउनु भन्दा आफैं–आफैं बीच चित्त नबुझेका विषयलाई गहन छलफल गरी पर्वतीय तथा पदयात्रा क्षेत्रको विकास र प्रबद्र्धनमा एक हुने उद्घोष गरेका हुन् ।
कार्यक्रममा टानका अध्यक्ष चन्द्र रिजालले वर्तमान कार्यसमितिले व्यवसायीको हित हुने कार्यक्रमहरु अगाडि बढाउन खोजे पनि कार्यसमिति दुई खेमामा विभाजित हुँदा झन् समस्या निम्तिएको स्वीकार गरे । उनले कोषाध्यक्ष लिलाबल्लभ दाहाल प्रति इंगित गर्दै भने–‘कार्यसमिति मार्फत बहुमतले पारित गरेका कार्यक्रममा समेत फरक मत राखी कोषाध्यक्षले बजेट निकासालाई सहज नबनाइदिंदा धेरै कार्यक्रमहरु बीचैमा अलपत्र परेका छन् । कोषाध्यक्षले बिधिसम्मत भुक्तानी गर्नुपर्ने विषयहरुका चेकमा हस्ताक्षेर नगर्दा र हरेक कार्यक्रमहरुमा प्रतिपक्षीको जस्तो भूमिका निर्वाह गरिदिंदा टानले सोचेअनुरुप गति लिन सकेको छैन ।’ यिनै कारण कोषाध्यक्ष दाहाललाई स्पष्टीकरण सोध्न कार्यसमिति बाध्य भएको उनको भनाई थियो । कानुन, नियम र बिधिअन्तर्गत टानका क्रियाकलापहरुलाई अगाडि बढाइने र कानुनी बाटोमा हिंड्न उनले कार्यसमितिका सबैलाई आग्रह गरे ।
टानका कोषाध्यक्ष लिलाबल्लभ दाहालले भने कार्यसमितिमा आफूलाई एक्लो पारी बाघले बाच्छोलाई लखेटेको झैं गरी लेखेटेको भन्दै आफूले पनि बाच्छोको सिंग चलाएको भन्ने जवाफ दिए । उनले टानलाई गलत बाटोमा जान नदिन र अनावश्यक चन्दा दिनबाट रोक्ने उदेश्यका साथ सबै चेकमा हस्ताक्षर नगरिएको स्पष्ट पारे । दाहालले प्रति प्रश्न गर्दै भने–‘चेकमा हस्ताक्षर नै नगरेको भए अहिलेसम्म टान कसरी चल्यो ?’ संस्थामा बिधिसम्मत काम गरिरहेको र आगामी दिनमा पनि बिधिसम्मत बाटोमा हिंड्न आफू तत्पर रहेको उनको भनाई थियो ।
टानका महासचिव कर्ण लामाले पनि कोषाध्यक्षकै कारण टान गतिहीन बनेको आरोप लगाए । उनले कोषाध्यक्षले फोनै नउठाउने, महत्वपूर्ण भनेका बैठकहरुमा अनुपस्थित हुने, भित्र अर्कै कुरा गर्ने–बाहिर अर्कै कुरा गर्ने र संस्थालाई समय नै नदिने गरेको र यसरी संस्था नचल्ने बताए ।
नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले टिम्स रकम निकासामा केही आन्तरिक समस्याहरु देखिएको बताउँदै यसलाई तत्काल समाधान गर्ने र रकम निकासा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले टानको विवाद सतहमा छताछुल्ल हुनु दुःखद् भएको भन्दै समस्याको समाधानमा आफूहरुले सक्रिय भूमिका निर्वाह गरी विवादरहित टान बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।
टानका पूर्व अध्यक्ष ज्योति अधिकारीले विवाद सतहमा पुग्नु राम्रो नहुने भन्दै आन्तरिक रुपमै समस्याको समाधान खोज्न कार्यसमितिलाई सुझाब दिए । टानमा जानेहरुले ईश्यू, क्वालिटी, इन्प्mास्टक्चचर आदि कुरामा बहस गर्ने भन्दै अध्यक्ष र कोषाध्यक्ष दुबैलाई संयमता अपनाउन र व्यवसायिक हितमा सहकार्य गर्न आग्रह गरे ।
अनियमितता र बेरुजुको आरोप खेप्दै आएका टानका निवर्तमान अध्यक्ष रमेश धमलाले आफू माथि लाग्दै आएको आरोपको खण्डन गर्दै आफ्नो कार्यकालमा कुनै पनि अनियमितता नगरेको र सैद्धान्तिक बाहेक एक रुपैयाँ पनि बेरुजु रकम नभएको दाबी गरे ।
पत्रकार र व्यवसायी बीच सिधा बहसको मोडालिटीमा आयोजना गरिएको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङ, सचिव मुक्ति पाण्डे, निवर्तमान प्रथम उपाध्यक्ष केशव पाण्डे, निवर्तमान महासचिव सागर पाण्डे, यूनिट्राभका महासचिव सुमन पराजुली लगायतले टानको पछिल्लो विवाद बारे भनाई राख्दै आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा सुझाव दिएका थिए । पक्ष र विपक्षका व्यक्तिहरु उपस्थित जस्तो देखिए पनि कार्यक्रममा सहभागीहरुले विवाद रहित टान बनाउन छिट्टै नै एउटा निकास निस्कने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै जाट नेपालका अध्यक्ष देवी पन्तले टानको विवाद चाँडै समाधान होस् भन्ने उद्देश्यले आयोजना गरिएको बहसमा समस्या समाधानतर्फ सबैको प्रतिबद्धता आउनु सुखद भएको भन्दै आगामी दिनमा टानको कार्यसमिति विवादका समाचार लेख्नु नपरोस् भन्ने शुभकामना प्रदान गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago