काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज साँझसम्म राजीनामा दिने भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रीपरिषद बैठकमा अर्थमन्त्री डा. खतिवडाले त्यस्तो जानकारी गराएका हुन् । 

उनले साँझसम्म पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नेछन् । 

सो क्रममा डा. खतिवडाले अर्थमन्त्री भएपछि गरेका कामहरुको समीक्षा समेत प्रस्तुत गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

डा. खतिवडाले मन्त्रीपरिषद बैठकमा समेत ३० महिने कार्यकालको संक्षिप्त समीक्षा प्रस्तुत गरेका थिए । गोकुल बास्कोटाले राजीनामा गरेपछि संचार मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका उनले त्यसको अनुभव समेत सुनाएका थिए । 

मन्त्रीपरिषदमा राजीनामा दिने घोषणा गरेका अर्थमन्त्रीले सरकारलाई हालसम्म राम्रो ढंगले साथ दिएका भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिएका थिए । 

यसैबीच, आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले बाहिर हल्ला भएजस्तो मन्त्रीमण्डल पुनर्गठन नहुने दाबी गर्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । खालि भएका मन्त्रालयका लागि मात्र केही मन्त्री नियुक्त गरिने उनको भनाई थियो ।