काठमाण्डौ । निकै लामो समयदेखि साना र साँघुरा बसहरुमा गुन्द्रुक झै कोचिएर जोखिमपूर्ण यात्रा गर्ने भक्तपुरबासीहरुको बाध्यता हटेको छ । स्थानीय यातायात व्यवसायीको गैरकानूनी सिण्डिकेटलाई तोड्दै साझा यातायातले बुधबार(आज)देखि भक्तपुरको रुटमा आफ्ना लामा र सुविधासम्पन्न गाडी पठाएपछि सर्वसाधारणहरुमा खुशियाली छाएको छ । 

साझाले यसअघि नै भक्तपुरमा आफ्ना बस गुडाउन खोजे पनि स्थानीय यातायात व्यवसायीले सिण्डिकेट लाद्दै साझालाई भक्तपुरमा प्रवेश गर्न नदिने भन्दै अड्डी कसेका थिए । उनीहरुको धम्की र चेतावनी तथा मन्त्रालयसम्मै भएको केही चलखेलका कारण साझाको भक्तपुर प्रवेश केही ढिलो भएको हो । 

साझाले केही दिनअघि मात्र यातायात व्यवस्था विभागबाट भक्तपुरका लागि रुट परमिट पाएको थियो । आधिकारिक विभागबाट भक्तपुरसम्म सेवा दिने अनुमति पाएलगत्तै साझाले बुधबार एकसाथ २० वटा बसलाई भक्तपुर भित्र्याएको हो । एकैलहरमा साझाका लामा बस भक्तपुर भित्रिएको दृश्य रेल आएजस्तै देखिन्थ्यो । भक्तपुर जिल्ला प्रवेश विन्दूदेखि नै स्थानीयवासीले फूलमाला र नेपालको झण्डाले साझालाई स्वागत गरेका थिए । 

अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्य्विनायक चोकसम्म आउने साझा यातायातले जानकारी दिएको छ ।

अब साझाको बस सेवा कोटेश्वरबाट जडिबुटी लोकन्थली, कौशलटार, गठ्ठाघर, ठिमी, सल्लाघारी हुँदै सूर्यविनायकसम्म संचालन हुनेछ । सूूर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझालाई अझै अनुमति दिइएको छैन । नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।