Sajha Yatayat Pvt. Limited
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले साझा यातायात सेवालाई प्रभावकारी एवम् यात्रुमैत्री बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीलाई बिहीबार बोलाएर प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई मध्यनजर गरी साझाको बस सेवालाई विस्तार गर्न आग्रह गरे ।
पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई पु¥याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री दाहालले साझाको महत्व र सेवाग्राहीको चाहना अनुरुप सेवा विविधिकरण र गुणस्तरीय बनाउन आग्रह गरे ।
साझा यातायातले उपत्यकामा ३० वटा बस थप्न लागेको र त्यसबारे भइरहेको तयारीका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलगायतका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन् ।
‘उपत्यकामा आवातजावतका लागि जनताले दुःख पाइरहेका छन् । जनतालाई राहतको अनुभूति दिन आवश्यक छ । काठमाडौँको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णय गर्नुस्’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले बताए ।
प्रधानमन्त्री दाहालले सम्बद्ध पक्षसँग छलफल र गृहकार्य गरेर कम्तीमा ३० वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराएका थिए ।
साझा यातायातका कामु निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताएका थिए ।
साझाका थप ३० बस सञ्चालन हुँदै
इतिहास बोकेको साझा यातायातले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै उपत्यकामा थप ३० वटा बस सुरु गर्ने तयारी गरेको छ ।
साझा यातायातका कामु निर्देशक पाण्डेका अनुसार ढिलोमा असोजको पहिलो सातादेखि उपत्यकामा साझाका नयाँ बस गुड्नेछन् ।
प्रधानमन्त्री दाहालसँगको छलफलमा साझालाई थप वृहत्तर बनाइ उपत्यका बाहिर कसरी सेवा विविधिकरण गर्ने भन्नेबारे पनि छलफल भएको छ ।
साझाको सेवा विविधिकरण गर्नेबारे प्रधानमन्त्री सकारात्मक भएका र त्यसका लागि आवश्यक सबैखाले सहयोग गर्ने बचन दिएका कामु निर्देशक पाण्डेले उल्लेख गरे ।
साझाले हाल उपत्यकामा तीन वटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।
अब आउने नयाँ ३० वटा बस पनि अहिले भइरहेका रुटमा केही र अन्य रत्नपार्कदेखि भक्तपुर रुटमा गुडाउने साझाको तयारी छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago