►मोहम्मद सदरुल 

भद्रपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका झापाका साना १० राजनीतिक दलले आइतबार एकैथलोबाट आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरेका छन् । 

सबै खाले विभेदको अन्त्य गरी समानता र मुलुकको समृद्धि उनीहरुको मुख्य एजेण्डा छन् । संवाद समूह झापाको संयोजनमा भएको छलफलमा ती दलका नेताले उत्साहका साथ आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् । फरक विचार र आन्दोलनमा रहेका ती पार्टीका एजेण्डामा पनि विविधता भेटियो । 

संघीयता खारेज, संसदीय व्यवस्था भंगदेखि जनवादी व्यवस्था लागू गर्नेसम्मका ती दलका एजेण्डा छन् । दल सानो भए पनि विचार र एजेण्डा ठूला पाइएको छ । भ्रष्टाचारमुक्त, कृषिक्रान्ति, वैदेशिक हस्तक्षेपको अन्त्य, शिक्षा र रोजगार सबैका साझा एजेण्डा छन् । राजनीतिलाई व्यापार र पेशा नभई सेवा गर्ने आधार बनाउनुपर्नेमा साना दलको जोड छ । ती दलका नेताहरुले शान्ति सुरक्षाको उचित व्यवस्थासहित निर्वाचनलाई निष्पक्ष, मितव्ययी र मर्यादित बनाउने तथा आफूहरुले शान्तिपूर्ण गतिविधि गर्नेलगायतका चारबुँदे साझा प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

चार कुनाभित्र हलो चुनाव चिह्न लिएर झापाबाट प्रतिनिधिसभामा प्रत्यक्ष पाँच र समानुपातिक आठजना उम्मेदवारसहित मैदानमा उत्रिएको एकीकृत राप्रपा राष्ट्रवादीका जिल्ला संयोजक लक्ष्मी ओडारी, उम्मेदवार बृजकिशोर ठाकुरले राजसंस्थासहितको हिन्दू राष्ट्र आफ्ना प्रमुख एजेन्डा भएको बताउनुभयो । 

तराजु चुनाव चिह्न लिएर प्रतिनिधिसभामा प्रत्यक्ष चार, समानुपातिक दुई, प्रदेशमा प्रत्यक्ष चार र समानुपातिक एक उम्मेदवारसहित मैदानमा उत्रिएको विवेकशील साझा पार्टीका तर्फबाट डा नवीन चापागार्इं, चित्रांगत तिम्सिना, विष्णु आचार्य र सन्तोष घिमिरेले भ्रष्टाचारको अन्त्य तथा मुलुकको समृद्धिमा जोड दिनुभयो । 

हँसिया र तारा चुनाव चिह्नसहित प्रतिनिधिसभामा प्रत्यक्ष दुई, समानुपातिक छ, प्रदेशमा प्रत्यक्ष दुई, समानुपातिक आठ उम्मेदवार चुनावी मैदानमा उतारेको नेकपा माले पार्टीका तर्फबाट पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री खगेन्द्र प्रसाईंले पाँच प्रदेशको व्यवस्थासहित संविधान कार्यान्वयनमा जोड दिनुभयो । 

हातको कसिएको मुट्ठी चुनाव चिह्न लिएर प्रतिनिधिसभामा प्रत्यक्ष तीन र समानुपातिक चार, प्रदेशमा प्रत्यक्ष चार र समानुपातिक १० जना उम्मेदवार चुनावी मैदानमा उतारेको देशभक्त गणतान्त्रिक मोर्चा नेपालको तर्फबाट होमचन्द्र घिमिरे र हरिप्रसाद दाहालले संसदीय व्यवस्थाको अन्त्य गरी जनवादी व्यवस्था लागू गर्ने एजेन्डा सुनाउनुभयो । 

दावसहितको खुकुरी लिएर झापाको सबै क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी र प्रतिनिधिसभामा पाँच तथा प्रदेशमा १० जना समानुपातिक उम्मेदवारसहित चुनावमा होमिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट मानबहादुर साँवा र नगेन्द्र राईले लिम्बुवान् राज्य स्थापना र विभेदको अन्त्य हुनुपर्ने माग अघि सार्नुभयो । 

गिलास चुनाव चिह्न लिएर प्रतिनिधिसभामा प्रत्यक्ष एक र समानुपातिक एकजना उम्मेदवार मैदानमा उतारेको राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट नवराज ढुंगानाले संघीयताको खारेजी गरी एकात्मक राज्य व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । कुखुराको भाले चुनाव चिह्नसहित प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकमा पाँच÷पाँच तथा प्रदेशमा प्रत्यक्ष नौ र समानुपातिक १० उम्मेदवारसहित मैदानमा उत्रिएको मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला अध्यक्ष रुद्रबहादुर राईले मंगोललाई मूलवासीका रुपमा स्थापित गरी जातीय विभेदको अन्त्य हुनुपर्ने मा जोड दिनुभयो । 

छाता चुनाव चिह्नसहित प्रतिनिधिसभामा प्रत्यक्षका लागि दुई, समानुपातिकमा एक, प्रदेशसभामा प्रत्यक्ष पाँच र समानुपातिक एक उम्मेदवारसहित मैदानमा रहेको राष्ट्रिय जनता पार्टीका झापा संयोजक सूर्यनारायण गणेशले सीमान्तकृतलाई अधिकार सम्पन्न बनाउँदै सबै खाले विभेदको अन्त्य गर्ने हाम्रो चुनावी एजेण्डा हो भन्नुभयो । 

कमलको फूल चुनाव चिह्नसहित प्रतिनिधिसभामा प्रत्यक्षका लागि दुई, समानुपातिकमा पाँच, प्रदेश सभामा प्रत्यक्ष तीन र समानुपातिक चार उम्मेदवारसहित निर्वाचनमा होमिएको नेपाल जनता पार्टीका इन्द्रप्रसाद ओलीले गणतन्त्रसहितको हिन्दू राष्ट्र आफ्नो प्रमुख एजेण्डा रहेको प्रस्ट पार्नुभयो । 

घर चुनाव चिह्नसहित झापामा प्रतिनिधिसभामा प्रत्यक्ष पाँच र समानुपातिक एक, प्रदेशमा प्रत्यक्ष सात र समानुपातिक आठ उम्मेदवारसहित मैदानमा रहेको राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगरले ‘हाम्रो विकास, हाम्रो सहभागिता र हाम्रो संरक्षण’ भन्ने कुरामा जोड दिनुभयो । 

जनअपेक्षा र तपाईंको एजेण्डा÷प्रतिबद्धता विषयमा भएको छलफलको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको सो कार्यक्रममा साना दलबाट व्यक्त भएको चारबुँदे प्रतिबद्धतामा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने निर्वाचन कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गर्नेछौँ भनिएको छ । 

त्यस्तै, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई निष्पक्ष र मितव्ययी बनाउन, हाल निर्वाचन आचारसंहिता पूर्ण पालना नभएको र निर्वाचन भड्किलोसमेत बन्दै गएको गुनासो बढेको सन्दर्भमा आचारसंहिता पूर्ण पालना गर्न र निर्वाचन मितव्ययी बनाउन सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेको, निर्वाचनमा सम्पूर्ण मतदाताले स्वतन्त्र, शान्तिपूर्ण, निर्भयतापूर्वक मतदान गर्ने वातावरण तयार गर्दै शान्तिसुरक्षाको प्रत्याभूतिका लागि सरकार, स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको र मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउन र सम्पूर्ण मतदातालाई निर्वाचनमा उत्साहजनक सहभागिताका लागि प्रतिबद्धता गरिएको छ ।