काठमाण्डौ । शनिवारदेखि स्वतः पदमुक्त हुने निश्चित भएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । 

पूर्व घोषणा अनुसार अर्थमन्त्री डा. खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

राजीनामा बुझाउनुअघि उनले सूचना तथा संचार प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारीहरुलाई सम्बोधन गर्दै विदा लिएका थिए । 

अर्थ मन्त्रालयका दुवै सचिव, महालेखा नियन्त्रक, कर तथा भन्सारका महानिर्देशक तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुख लगायतका कर्मचारीलाई राखेर उनले आफूले ३० महिने कार्यकालमा गरेका सुधारको फेहरिस्त सुनाएका थिए । उनले आफूले अर्थतन्त्रमा सुधारको जग बसालेको र यसलाई निरन्तरता दिन समेत कर्मचारीहरुलाई आग्रह गरेका थिए । 

उनले आफ्नो कार्यकालमा मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था हटाएको विषयलाई विशेष जोड दिएका थिए । आफ्नो कार्यकालमा खर्च प्रणाली, लेखा प्रणाली र राजश्व प्रशासनमा सुधार गर्ने सफलता पाएको भन्दै यसमा सहयोग गर्ने कर्मचारीहरुलाई समेत धन्यवाद ज्ञापन गरेका थिए । 

बिहीबार सत्तारुढ नेकपाको  सचिवालय बैठकले रिक्त राष्टियसभा सदस्यको एक पदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै खतिवडाको मन्त्रीको हैसियतमा सत्तायात्रा टुंगिएको हो । उनी सांसद नभएको व्यक्तिले समेत ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुरुप फागुन २० देखि पदमा आसीन थिए । त्यसअघि उनको राष्टियसभाको २ वर्षे कार्यकाल पूरा भए पनि राजीनामा गरेको दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः अर्थमन्त्रीमा नियुक्त गरी निरन्तरता दिएका थिए । पछिल्लो ६ महिनाभित्र पनि उनी सांसद हुन नसकेपछि भदौ २० गतेदेखि स्वतः पदमुक्त हुने अवस्थामा थिए । त्यसको ठीक एक दिनअघि उनले राजीनामा दिएर विदा भएका हुन् ।