काठमाण्डौ । नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटाएको छ । निगमले आन्तिरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँको दरले घटाएको हो । 

शुक्रबार साँझसम्म १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मूल्य अब ९९ रुपैयाँमा झरेको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार अब हवाइ इन्धनको मूल्य पेट्रोलकै बराबरीमा आइपुगेको छ । 

यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १ सय डलरले घटेको छ । यसअघि प्रतिकिलोलिटर ९ सय ८१ डलर  रहेको हवाइ इन्धनको मूल्य अब ८ सय ८१ डलरमा झरेको र सोही अनुसार नेपालमा पनि हवाई इन्धनको मूल्य घटाइएको प्रवक्ता घिमिरेले प्रष्ट्याए ।