काठमाण्डौ । सोलुखुम्बु । एघार दिनदेखिको लगातार वर्षा र बाक्लो हुस्सुका कारण सोलुखुम्बुको हवाई सेवा पूर्ण रुपमा अवरुद्ध छ।   

बाक्लो हुस्सु लागिरहेका कारण जिल्लाका चार विमानस्थलमध्ये फाप्लु र तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तालिका भए पनि उडान अवरुद्ध भइरहेको छ। काँगेल विमानस्थल दुई वर्षदेखि बन्द छ भने स्याङ्बोचे विमानस्थलमा पनि फाप्लु र लुक्लाबाट मात्र उडान भइरहेकामा त्यहाँ पनि अवरुद्ध भएको छ।   

यसबेला लुक्ला विमानस्थलमा सबै कम्पनीका गरी दैनिक पाँच/छ वटा उडानको तालिका भए पनि मौसम खराबीका कारण स्थगन गर्नुपरेको तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए।   

शेर्पाका अनुसार उडान नहुँदा २०० भन्दा बढी विदेशी पर्यटक लुक्लामा रोकिएका छन्। मौसम खुल्ने आशामा उनीहरु बिहानदेखि विमानस्थलमा आउने र उडान स्थगन भएपछि होटलमा फर्कने गरेको होटल व्यवसायी दोर्जी शेर्पाले बताए। सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्केका उनीहरु खर्च अभाव भएको र  स्वदेश फर्कने हवाई टिकटको मिति सकिन लागेको भन्दै चिन्तित छन्।         

विमानस्थल अवरुद्ध हुँदा सुर्के–जुभिङ हुँदै सल्लेरीसम्म पैदल यात्रा गरी त्यहाँबाट जिपमार्फत राजधानी फर्कने विकल्प भए पनि गत असार २२ गते सुर्केमा गएको पहिराका कारण पदमार्ग बगाएकाले पैदल यात्रा गर्न असहज छ।   

यता फाप्लु विमानस्थलमा पनि उडान नहुँदा विशेष गरी फाप्लु अस्पतालबाट अन्यत्र पठाइएका बिरामी मर्कामा पर्ने गरेका छन्। अन्य यात्रुका लागि भने सल्लेरी–काठमाडौँ सडक मार्ग सञ्चालनमा रहेकाले धेरै असहजता नभएको यात्रु बताउँछन् ।