काठमाण्डौ । करिब २० वर्षको लामो प्रतिक्षापछि स्थानीय तहमा आफ्ना नेता छान्न आज बिहानैदेखि तीनवटा प्रदेशका ३४ जिल्लामा मतदान भइरहेको छ । 

राज्यको पुनरसंरचना अनुसार सिंहदरबारका अधिकांश अधिकारहरु गाउँ गाउँसम्म विकेन्द्रीकृत हुने गरी गठन भएका स्थानीय निकायको नेता छान्न सर्वसाधारणमा अनपेक्षित उत्साह देखिएको छ। 

छिटपुट घटना बाहेक देशका अधिकांश मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । 

निर्वाचन आयोगका अनुसार स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य जारी छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।

बिहानैदेखि ज्येष्ठ नागरिक, महिला, अशक्तहरुसमेत उत्साहजनक ढंगले मतदान कार्यमा सहभागी भइरहेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गरेका छन् भने अन्य नेताहरुले समेत आ आफ्ना मतदान केन्द्रबाट मत खसालेका छन् । निर्वाचन आयोगका आयुक्त इला शर्माले ललितपुर महानगरपालिकाको वडा नं. १० स्थित प्रसूति गृहको क्वाटरमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदाताको रुपमा मतदान गरेकी छन् ।

यसैगरी, आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिकाको धुम्बाराही माध्यमिक विद्यालयमा मतदान गरेका छन् । आयोगका सचिव गोपीनाथ मैनालीले शान्तिपूर्ण रुपमा, विना बाधा अवरोध सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको जानकारी दिएका छन् । 

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १० चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेकी छन् । 
गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदमा आफ्ना मन परेका उम्मेद्वारहरुलाई जिताउने महासंग्राममा सर्वसाधारण उत्साहप्रद ढंगले मतदानमा सहभागी भइरहेका हुन् ।