काठमाण्डौ । विश्वभर हवाई यात्रीहरुको संख्यामा भएको बढोत्तरीसँगै जुन हिसाबले एयर ट्राफिक बढिरहेको छ, यो हिसाबले आगामी २० वर्षभित्र विश्वमा ६ लाख ३७ हजार नयाँ पाइलटको आवश्यकता पर्नेछ । एयरक्राफ्ट बनाउने कम्पनी बोइङले आफ्नो वार्षिक रिपोर्टमा यस्तो दाबी गरेको हो ।

रिपोर्टमा गरिएको अनुमान अनुसार अघिल्लो वर्षको रिपोर्टको तुलनामा यो वर्ष पाइलटको आवश्यकता ३.६ प्रतिशतले बढेको छ । एशिया प्रशान्त क्षेत्रमा मात्रै २ लाख ५३ हजार पाइलट आवश्यक पर्नेछन् । बोइङको ग्लोबल सर्भिसेज डिभिजनले यो रिपोर्ट तयार गरेको हो । 

आगामी २० वर्ष अर्थात २०१७ देखि २०३६ को दौरान नर्थ अमेरिकामा १ लाख १७ हजार, यूरोपमा १ लाख ६ हजार नयाँ पाइलट जरुरत पर्नेछन् । 

टेक्निसियनको उस्तै संभावना
रिपोर्ट अनुसार आगामी २० वर्षमा ६ लाख ४८ हजार नयाँ एयरक्राफ्ट मर्मत गर्ने टेक्निसियनको समेत आवश्यकता पर्नेछ । गत वर्षको आँकलनभन्दा यो संख्या ४.६ प्रतिशत कम हो । 

उडान कर्मचारी कति ?
बोइङको रिपोर्टअनुसार सन् २०३६ सम्म ८ लाख ३९ हजार बिमा कर्मचारीको आवश्यकता पर्नेछ । यसमध्ये एशिया प्रशान्त क्षेत्रका एयरलाइन्सका लागि ३ लाख ८ हजार, यूरोपका लागि १ लाख ७३ हजार, नर्थ अमेरिकाका लागि १ लाख ५४ हजार र मध्यपूर्व देशका एयरलाइन्सका लागि ९६ हजार उडान कर्मचारी आवश्यक पर्नेछ । 

एयरलाइन्समा पाइलट अभाव
नागरिक उड्डयन तालिममा विशेषज्ञ कम्पनी सीएईले अघिल्लो महिना एक अध्ययन रिपोर्ट जारी गरेको थियो, जसअनुसार एयरलाइन्सहरुलाई आगामी १० वर्षमै २ लाख ५५ हजार नयाँ पाइलटको आवश्यकता पर्नेछ । कतिपय विज्ञहरुले यसअघि बारम्बार एयरलाइन्स उद्योग पाइलट र दक्ष कामदारकै अभावमा समस्याग्रस्त बन्नसक्ने भन्दै चेतावनी दिंदै आएका छन् ।