काठमाण्डौ । पर्यटनमन्त्री बन्ने बित्तिकै अधिकांशको आँखा बिमान खरीदमा केन्द्रीत हुन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्र सुधार गर्नुपर्ने कामहरुको चाहि चाङ नै लाग्छ । पुराना बिमानमध्ये ग्राउण्डेड भएका र अघिल्ला सरकार(मन्त्री)को पालामा संचालन हुन नसकेकातर्फ नयाँ मन्त्रीको ध्यान प्राय जाँदैन । प्रचण्डको नेतृत्वमा बनेको सरकारमा समेत पर्यटनमन्त्री बनेका जीवनबहादुर शाहीले मन्त्री नियुक्त भएलगत्तै ९ महिने कालमा चाहिएजति बिमान खरीद गर्ने उद्घोष गरेका थिए । उनको उद्घोषलाई मूर्त रुप दिने गरी अर्थमन्त्रालयले पनि आइतबार 'हरियो झण्डा' देखाएको छ । 

मन्त्रालयभित्रका विकृति र बेथितिलाई कम गर्ने बिषयलाई छाडेर मन्त्री नै नयाँ बिमान खरीदतर्फ लागेपछि नेपाल वायु सेवा निगमलाई वाइड बडीको दुईवटा विमान खरीदका लागि प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रालयले आइतबार ‘ग्रिन सिग्नल’ दिएको हो । 

स्रोतका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सचिव प्रेम राई र निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले आइतबार अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर २ वटा बिमान तत्काल खरीद गर्नुपर्ने भन्दै सहमतिका लागि सकारात्मक भइदिनुपर्ने आग्रह गरेका थिए । उनीहरुको आग्रहमा अर्थमन्त्री महराले ग्रिन सिग्नल दिएका टोलीमा सहभागी एक अधिकारीले बताए । 

ती अधिकारीका अनुसार अर्थमन्त्रीले स्पष्ट रुपमा नयाँ जहाजका लागि आफूहरु जमानी बस्न तयार रहेको र आवश्यक नै हो भने खरीद प्रक्रिया अगाडि बढाउन सहमति दिएका छन् । 

अब नयाँ जहाजका लागि आगामी मंसिर दोश्रो साता टेण्डर आह्वान हुने र फागुन दोश्रो साता खरीद सम्झौता गर्ने गरी तयारी भइरहेको ती अधिकारीले बताए । भनेजसरी काम भएमा ०७४ असोजमा पहिलो र चैतमा दोश्रो बिमान आउने अधिकारीहरुको अनुमान छ । 

ती अधिकारीले नयाँ विमानलाई खाडी मुलुकका साथै जापान, अष्ट्रेलिया, कोरिया, भारत र चीनको उडानका लागि प्रयोग गरिनेछ । नयाँ विमान किन्ने तयारी भित्रभित्रै अगाडि बढाइएपछि वायु सेवा निगमले पाइलट र फ्लाइट अटेन्डेन्टको भर्ना प्रक्रिया पनि यसअघि नै सुरु गरिसकेको छ । 

स्रोतका अनुसार २ वटा नयाँ बिमान खरीदका लागि २५ अर्ब भन्दा बढी रुपैयाँ खर्च हुनेछ । यसअघिको सरकारले चीनसँग अर्बौ खर्च गरेर खरीद सम्झौता गरेको बिमान अझै नेपाल आइसकेको छैन । उपहारका रुपमा आएको बिमान समेत ग्राउण्डेड छ ।