काठमाण्डौ । सेक्युरिटी प्रेस खरीदका लागि एक स्वीस एजेन्टसँग ७० करोड घूस मागेको गम्भीर आरोप लागेपछि पदबाट राजीनामा दिएका तत्कालीन सूचना तथा संचारमन्त्री गोकूल बाँस्कोटाले आफूमाथिको आरोपको कडा प्रतिवाद गरेका छन् । 

हाल प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा लकडाउनको पालना गर्दै बसिरहेका पूर्वमन्त्री बाँस्कोटाले आज दिउँसो १ः४९ बजे एक ट्वीट गर्दै आफ्नो नैतिकता र इमानदारितामाथि प्रश्न उठाइएकोतर्फ इंगित गर्दै लेखेका छन्–‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ । सिंहदरबार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिएबाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन् ? अझ म अनैतिक  र भ्रष्ट ? बात गर्छन!’

फागुन ८ गते राजीनामा दिएका उनले सुरुवातदेखि नै आफूमाथि लागेका आरोपहरुको खण्डन गर्दै आएका छन् । 

७० करोडको बार्गेन गर्दै गरेको अडियो सार्वजनिक भएलगत्तै पदबाट राजीनामा दिएका बाँस्कोटाले अनुसन्धानमा सहयोग पुगोस् भनेर आफूले तत्काल राजीनामा दिएको प्रारम्भदेखि नै बताउँदै आएका छन्। 

उनले राजीनामा दिएलगत्तै स्वीस एम्बेसीले अडियोमा बोल्ने विजयप्रकाश मिश्रलाई आफ्नो एजेन्ट होइन भन्ने आशयको विज्ञप्ति जारी गरेको थियो । 

त्यसको केही दिनपछि बास्कोटाले जिल्ला अदालत काठमाण्डौमा अडियोमा बोल्न मिश्रविरुद्ध गालीबेइज्जतीको मुद्धा दायर गरेका थिए।

पछिल्लो समय ओली निकटका नेताहरु पनि बास्कोटालाई सुनियोजित ढंगले फसाइएको निश्कर्षमा पुग्न थालेका दाबी गरिएको छ । 

स्वयम् प्रधानमन्त्री ओलीले समेत बास्कोटालाई सुनियोजित ढंगले फसाइएको उल्लेख गर्दै सार्वजनिक कार्यक्रममै प्रतिवाद गरिसकेका छन् । उनले अडियोमा सुनिएको बोली गोकुल बास्कोटाको नभएको र कुनै अनाडिहरुले उनलाई फसाउन खोजेको दाबी गरेका थिए ।