काठमाण्डौ । आर्थिक कारोबारका लागि सुरक्षित मानिने बैंकिङ प्रणालीको वृद्धिसँगै बैंकिङ कसुरका घटनाहरु वृद्धि भइरहेका छन्। खातावालाले कुनै व्यक्तिलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ। नेपालमा हुने विभिन्न बैंकिङ अपराधमध्ये एक हो, चेक बाउन्स। 

प्रहरीले चेक बाउन्सका मुद्दा हेर्न थाले पनि चेक दुरुपयोगका घटना घटेका छैनन् बरु बढेको बढ्यै छन्। सूचना प्रविधिको उपयोग गरी अन्तर्राष्ट्रिय रुपमा सञ्जाल तयार भई बैंकिङ कसुरको प्रभाव पनि बढिरहेका छन्। 

चेक बाउन्सका कारण कालोसूचीमा पर्नेको संख्या पनि बपढरहेको अवस्था छ। यो पछिल्लो समय नेपालमा बढ्दै गएको फरक खालको आर्थिक अपराध पनि हो। 

बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालतको तुलनामा सर्वोच्च अदालतबाट सफाइ पाउनेको संख्या भने धेरै छ। महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदनअनुसार पछिल्लो ५ वर्षमा सर्वोच्च अदालतले बैंकिङसम्बन्धी १४७ वटा मुद्दाको फैसला गर्दा ५७.१५ प्रतिशत अर्थात् ८४ मुद्दामा कसुर ठहर गरेको छ भने ३६.०५ प्रतिशत अर्थात् ५३ मुद्दामा सफाइ दिएको छ।

सोही अवधिमा उच्च अदालतले पाटनले भने ६ हजार ४९५ ओटा मुद्दाको फैसला गरेको छ। त्यसमध्ये ९८.३ प्रतिशत अर्थात् ६ हजार ३८४ मुद्दामा कसुर ठहर भएको छ भने १.७० प्रतिशत अर्थात् १११ वटा मुद्दामा सफाइ दिइएको छ।

नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटाले जानाजान कुनै पनि व्यक्तिले झुक्यानमा पार्ने उद्देश्यले चेक काट्न नहुने बताए। उनका अनुसार चेक बाउन्स हुनु कानुनी कारबाहीको भागिदार हुनु हो। सर्वप्रथम रकम भुक्तान गर्नका लागि काटिने चेकका बारेमा आफू सचेत हुनुपर्दछ।

कोभिड संक्रमण कमहुँदै गएपछि आर्थिक गतिविधि बढेर जाने आशाविपरीत अर्थतन्त्रमा मन्दी छाएको छ। सबैको आयस्रोत खुम्चिँदै जाँदा बजारमा दैनिक उपभोग्य सामानबाहेक अन्य वस्तुको माग पनि बढ्न सकेन। बजारमा राखिएको सामानको खपत नबढ्दा उद्योग–व्यवसायसमेत घाटामा गएर लिएको ऋणको ब्याज र किस्ता तिर्न नसकेर कालोसूचीमा पर्नेहरु बढेका छन्।

कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको २ महिनाको अवधिमा ८ हजार ८४९ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन्। औसतमा दैनिक कालोसूचीमा पर्नेको संख्या १४७ वटा छ। बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण समयमा तिर्न नसक्दा र भुक्तानीका लागि दिएको चेक समयमै नसाटिएर बाउन्स हुँदा कालोसूचीमा पर्ने क्रम बढेको छ।

गत आर्थिक वर्ष २०७९–८० मा ३४ हजार ८१ जना कालोसूचीमा थिए। यो संख्याको तुलनामा अघिल्लो आर्थिक वर्षमा कालोसूचीमा पर्नेको संख्या झन्डै आधाले कम थिए। 

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा वरिष्ठ प्रहरीउपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने बताए।

अहिले दुईपटकभन्दा बढी बाउन्स भए चेक काट्ने व्यक्ति कालोसूचीमा पर्नुका साथै उसलाई बैंकिङ कसुरसम्बन्धी कारबाही तथा जरिवानासमेत हुने व्यवस्था छ । यही व्यवस्थाका कारण हाल बैंकिङ कसुरसम्बन्धी मुद्दा उल्लेख्य बढेका छन्।

प्रहरीको तथ्यांकअनुसार चेक बाउन्स काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै हुने अपराध हो। यसपछि भने कोशी र मधेश प्रदेशमा हुने गरेको छ। 

के हो चेक बाउन्स ? 

सामान्यतया भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यसलाई ‘चेक बाउन्स’ भनिन्छ। खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ। एउटै चेक धेरैपटक बाउन्स भएको खण्डमा त्यसलाई बैंकिङ कसुरका रुपमा लिने गरिन्छ। एउटै चेक तीनपटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था पनि छ। साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुन्छ।

चेक बाउन्स भएमा के गर्ने  ?   

बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउँछन्। यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि आयो, त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी दिन्छन्। हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट भने माग्नुपर्छ। चेक बाउन्स हुँदा बैंकले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन्। यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैंक आफैँले जानकारी दिने गर्दछ । तीनपटकसम्म पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्नुपर्छ।

कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउँदैनन्।

बैंकिङ कसुर ठहरिएमा कसुरको मात्राअनुसार बिगोबमोजिम जरिवाना तथा बढीमा १२ वर्षसम्म कैद हुने व्यवस्था छ । यसैले जानाजान वा झुक्यानमा पार्ने उद्देश्यले खातामा पैसा नभएको अवस्थामा चेक काट्ने काम तत्काल बन्द गर्नुपर्छ।