काठमाण्डौ । समाजवादी पार्टीले सत्ताको आडमा आफ्ना एक सांसद अपहरणमा परेका दाबी गरेको छ । 

पूर्व स्वास्थ्य राज्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई पार्टी फुटाउने प्रयोजनका लागि सरकारले सुनियोजित रुपमा अपहरण गराउने काम गरेको समाजवादी पार्टीले आरोप लगाएको छ । 

पार्टी फुटाउने प्रयोजनकै लागि यादवलाई काठमाण्डौबाट गएको प्रहरीले टोलीले जनकपुरबाट अपहरण गरी काठमाण्डौ ल्याएको सो पार्टीको दाबी छ । 

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आज साँझ साढे पाँच बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगिएको बताएका छन् ।

प्रधानमन्त्री निकटका नेताहरुले यादवर्ला पार्टी फुटाउन उत्प्रेरित गरेका र सो क्रममा पद तथा पैसाको प्रलोभनमा पारेका समाजवादीका नेताहरुले दाबी गरेका छन् । 

यादवले पार्टी फुटाउने वचन दिएपछि नै प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजनसम्बन्धी केही सहज व्यवस्थासहितको अध्यादेश ल्याएका, तर पछिल्लो समय उनले पार्टी फुटाउन अस्वीकार गरेपछि उनलाई अपहरण गरिएको समाजवादीको दाबी छ ।