मनोजकुमार भट्टराई–प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत। उनको जन्म र हुर्काइ काठमाण्डौमै भयो। उनकै शब्दमा मनोजको बाल्यकाल हरेक दृष्टिले उत्कृष्ट रह्यो। हजुरआमाको प्रेम र प्रत्यक्ष संलग्नताले उनको बाल्यकाल पूर्ण महत्वमा बित्यो।
हजुरआमाबाट प्रेम गर्न सिकेका हुन्, मनोजले। शिक्षादीक्षामा हजुरआमा, मीठो खाने राम्रो लगाउने सोख गराउने पनि उहाँ नै। मनोजकै अनुभूति छ, एक्सिलेन्ट लाइफ बिताउन पाएको १० वर्षको उमेरसम्म।
हजुरआमा–नातिको प्रेमले जीवनमा ठूलो अर्थ राख्यो। सबैको उन्नति–प्रगति चाहने, सकारात्मक हुने र प्रेमभाव प्रकट हुने स्वभाव हजुरआमाको प्रेमले नै जन्माएको हो उनको जीवनमा। उनी भन्छन्, ‘अरुको राम्रो होस् भनेर सोच्ने क्वालिटी मैले हजुरआमाबाट पाएको हुँ।’
मनोज भन्छन्, ‘स्नेह, माया, प्रेम पाएँ। मेरो आजसम्मको अचिभमेन्टमा त्यसको प्रभाव छ। कतिपय ठाउँमा बोल्ड हुनुपर्छ त कतै ठूलै डिसिजन गर्नुपर्छ। त्यस्तो अवस्थामा हजुरआमाको क्यारेक्टर मभित्र जुर्मुराएको हुन्छ।’
हजुरआमाबारे मनोज थप्छन्, ‘कसैको अगाडि पनि नझुक्ने, सत्यका पक्षमा ढुक्कले उभिने उहाँको स्वभावले मलाई सिकायो।’ उनले गरेको अनुभवबाट देखिन्छ कि प्रेम जस्तोगरी पायो त्यस्तैगरी ट्रान्सफर हुन्छ। पुस्तापुस्तामा सर्दै जान्छ ‘कल्चर’ बनेर।
आफूले गरेका स–साना कामलाई पनि अरुका माझमा हजुरआमाले गर्नुहुने एक्स्पोजका कारण बाल्यकालमा पाएको सम्मानले उनलाई आत्मविश्वासी बनायो। ‘हजुरआमाले भन्नुहुन्थ्यो कि म ६–७ वर्षको हुँदा स्वस्थानी कथा पढ्थेँ। उहाँ मेरो नातिले गोरखापत्र पढ्न सक्छ भन्नहुन्थ्यो। म पनि खररर पढेर सुनाउँथेँ र स्याबासी पाउँथेँ। हजुरआमा गौरव मान्नुहुन्थ्यो। अनि मलाई हौसला मिल्थ्यो।’
त्यतिबेलाको समयमा यादव खरेल र श्यामदास वैष्णवले रेडियो नेपालमा चलाउने बाल कार्यक्रममा सहभागी हुन पनि हजुरआमाको साथ थियो। शनिबार बिहान आफ्नो रचना बोकेर रेडियो नेपालको स्टुडियो गेट अगाडि जान्थे मनोज। त्यतिबेला लाइभ हुन्थ्यो, कार्यक्रम। रचना बुझाएपछि छनोट भएमा स्टुडियोमा गएर सुनाउन पाइन्थ्यो।
हजुरआमा घरमै कुरेर बस्नुहन्थ्यो। आफन्तहरुलाई ‘आज मेरो नातिले रेडियोमा रचना पढ्दैछ, सुन्नू नि’ भन्नुहुन्थ्यो।
प्रेम गर्ने मान्छेलाई प्रेम गर्न मनलाग्छ। आज उनी हजुरआमालाई एकदम मिस गर्छन्। ५ कक्षा पास भएर ६ कक्षामा पुग्दा हजुरआमा अत्यन्तै खुसी भएको क्षण सम्झिँदै मनोज भन्छन्, ‘आजको एक लेभलको उपलब्धि उहाँलाई प्रत्यक्ष देखाउन पाएको भए उहाँ कत्ति खुसी हुनुहुन्थ्यो होला। त्यो चाहिँ जहिले नि मनमा खट्किरहन्छ।’
‘म उहाँलाई सम्झिरहन्छु,’ मनोज भन्छन्, ‘हजुरआमाले आफ्नो जीवनप्रति गरेको प्रेम अतुलनीय रह्यो।’
प्रेम प्रसंगमा मनोजको किशोरप्रेमको चरण सुरु भयो।
हजुरआमाको निधनपछि आफूमा अनुभूति भएको जिम्मेवारीबोधले प्रेम पाउनेभन्दा नि प्रेम गर्ने भूमिकामा आफूलाई उनले राखे। उनी भन्छन्, ‘मलाई के लाग्यो भने, त्यो उमेरमा आफूले परिवारलाई के गर्न सक्छु त ? भाइबहिनीलाई लेखपढमा सघाउने हो कि ? घरको काममा सघाउने हो कि आमाबालाई ? लभ शेयर गर्ने स्टेजमा त्यस्तो भयो, आफू जेठो भएकाले पनि। हजुरआमाको प्रेम भाइबहिनीले नपाएकोले पनि ममार्फत हस्तान्तरण गर्न खोजेँ।’
‘करियर कन्सस थिएँ म’, मनोज भन्छन्, ‘अहिलेको जस्तो अवस्था भए त सम्भव पनि हुन्थ्यो कि हुन्थेन कुन्नि। आफू केही बनेपछि मात्र लभ–सभतिर ध्यान दिउँला टाइपको कुरा हुन्थ्यो।’
ब्वाइज स्कुलमा पढे, मनोज। यसकारण पनि विपरीत लिंगीप्रति आकर्षणको अवसर स्कुलमा रहेन। छिमेकमा पनि सबैसँग दिदी–बहिनीको जस्तो व्यवहार र सम्बन्ध थियो। प्रेमिकाका रुपमा सोच्न मिल्ने अवस्था थिएन।
मनोज प्रेमका कुरा गर्दा उतिबेलाको वातावरण सम्झिन्छन्, ‘हामी क्षेत्रपाटीको क्षेत्रमा फेमिली नेइवर टाइपको वातावरणमा हुक्र्यौं। करिअरका लागि प्रतिस्पर्धा गर्नेबारेमा बढी सोचिन्थ्यो उतिबेला।’
स्नातकोत्तर पढिसकेर त्रिभुवन विश्वविद्यालयमा अकाउन्ट अफिसरको जागिर सुरु नगर्दासम्म आकर्षण हुने र लभ पर्ने भन्ने सम्भावना नै भएन।
आवश्यकताबोध र ध्यान पनि त्यता रहेन। परिवार, सुविधा, समुदायको वातावरण आदिले त्यस्तो भएको हुन सक्थ्यो। मनोज क्याम्पस जीवन सम्झिन्छन्, ‘एक दिन केटी साथी बोल्न आएको बेलामा बोली नै फुटेन। सरस्वती क्याम्पसमा इन्टरमिडियट पढ्दा। लाज धक लागेर। सँगै हिँड्ने त झन् कल्पना गर्नै सकिन्नथ्यो।’
कलेज पढ्दा पनि मित्रतामात्रै कायम गरेर अघि बढे मनोज। कसैले प्रपोज गर्ने अवस्था रहेन। प्योर क्लासमेट।
त्यो समय प्रेमपत्र लेख्ने समय थियो। तर उनले कहिल्यै प्रेमपत्र लेखेनन्। बरु साथीहरुले लेखेको प्रेमपत्र लेखनमा सल्लाहकार चाहिँ बन्थे, मनोज। भाषा मिलाउने काम गरिदिन्थे। ‘उमेरजन्य स्वभाव चाहेरै दबाएरै इच्छा मारेरै भने होइन। वातावरण र सानैदेखिको सोचले पनि कहिल्यै प्रेम र रोमान्सतिर ध्यान नगएको हो’, उनी स्पष्ट पार्छन्।
मनोजको पहिलो प्रेम कमला हुन्। उनी शिक्षिका थिइन्। पकनाजोलमा कमलाको घर। पारिवारिक चिनजान पनि भएका कारण अभिभावकले कुरा अगाडि बढाएका थिए।
मनोजको बिहे गर्ने कुरा चल्यो। तर सुरु भयो प्रेम। ‘उनको इच्छा के होला ? मेरो रुप उनलाई मन नपर्ला कि ?’ कालो वर्ण भएको ख्याउटे केटोको मनमा उब्जेका प्रश्न हुन्, यी। ‘उनको पनि बा–आमालाई भन्न नसकेको केही सम्बन्ध छ कि ?’ अब उनले सोच्न थाले कमलाका बारेमा। कमलालाई भेट्न र कुरा गर्न उनलाई हुटहुटी भयो।
कमला पुरातन संस्कारमा हुर्केकीले केटासँग भेट्न महाभारत नै हुन्थ्यो। कमलालाई भेट्ने चाँजोपाँजो मिलाउन उनलाई हम्मेहम्मे पर्यो।
संयोगवश कस्तो भयो भने मनोजका साथीकी बहिनी कमलाकी साथी थिइन्। साथीको घरमा कमला पनि आउने कुराको उनले सुइँको पाए। उनले कमलालाई खबर पठाए।
अझ पनि कमलाले भेट्न मानिनन्। अनुरोध गरेपछि उनले बल्ल भेट्न स्वीकारिन्। मनोजले आफ्ना कुराहरु राखे। आफ्ना कुरा केही छन् भने भन्नू भनेर पनि सोधे। ‘तिम्रो बारेमा सोध्न जान्न पर्दैन। मेरोबारेमा केही छ भने भन। करकापमा परेको भए पनि भन।’
कमलाले भनिन्, ‘मलाई बुबा–आमाको डिसिजन मञ्जुर छ।’
अब पक्का भयो कमला–मनोजको सम्बन्धको डोरी बाँधिने कुरा।
मनोजको काम धरानमा थियो। कमला काठमाण्डौमा। त्यतिबेला फोन र डिजिटल सुविधा केही पनि थिएन। भेट्न, बोल्न मुश्किल भयो। तर, सुखद् संयोगले मनोजको सरुवा भयो काठमाण्डौ।
इङ्गेजमेन्ट भएपछि विवाह हुनुअघि ४ महिनाको समयमा प्रेम चल्यो। एक दर्जनपटक भेट भयो। तर विवाहअघि उनीहरुबीच रोमान्स भने भएन। पारिवारिक विषय र गृहस्थी जीवन राम्रो बनाउने विषयमा बढी छलफल भए। मुभी हेर्न पनि गएनन्।
कमलाले काम गर्ने स्कुल र मनोजको सरुवा भएको अफिस माथ्लो तल्लो घर जस्तो भयो संयोगले। जुराएको कुरा पुराएको जस्तो भयो। भेटका क्रममा एक दिन कमलाले भनिदिइन्, ‘साथीको घरमा भेटेको मनोज र आज भेटेको मनोज फरक देख्दैछु। आजजस्तो त्यो दिन लागेको भए, म रिजेक्ट गर्थें होला।’
मनोजलाई त्यो कुरा एउटा भ्रममात्र हो भन्ने भएको थियो। उनी भन्छन्, ‘प्रेममा ती कुराको मूल्य रहन्न। धेरैजनालाई त्यस्तो हुन्छ। मनोवैज्ञानिक असर पनि हो।’ कुरा फाइनल भइसकेकोले ढुक्क थिए, मनोज। आज ३९ वर्षको सहयात्रामा एकदम स्मुथ छ सम्बन्ध। उनी भन्छन्, ‘हामीले आजसम्म कुनै पनि झगडा गरेका छैनौँ।’
उनीहरु दुवैजना केही कुरा चित्त नबुझेर एकजना प्रतिक्रियामा उत्रे भने अर्को मौन बसेर सल्ट्याउने गरेका छन्। मनोज भन्छन्, ‘अलि–अलि कुरा नमिल्ने, निर्णय गरेका कुराहरुमा विमति हुने त भइहाल्छ।’
‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’ भन्ने उखानको पात्र कहिल्यै बनेनन्, मनोज र कमला। सुमधुर सम्बन्ध बन्नका लागि जीवनदर्शन मूल कुरा हो। अर्कै संस्कार अनि संस्कृतिमा हुर्किएका दुईजनालाई हेर्दा महिलाले धेरै कुरा त्याग गरेकी हुन्छिन्। उनलाई माया, सद्भाव र प्रेम बढी चाहिन्छ। किनकि उनले घर छाडेर आएकी हुन्छिन्। त्यसैले महिलाका लागि पुरुषले नै प्रेमिल बन्नु जरुरी देख्छ। ‘त्यो भावनाले काम गर्छ मेरो केसमा’, मनोज भन्छन्, ‘कुनै विन्दुमा पुगेर टुङ्ग्याउनै छ भने तँतँ मम किन गर्ने ? फेरि मेरी साथी कमला एकदम सहनशील, बुझेकी र संस्कारी छिन्। प्रतिवाद गर्ने चरित्र उनमा छैन।’
त्रिविमा लेखाअधिकृतका रुपमा २ वर्ष काम गरेपछि मनोज नेपाल उद्योग विकास कर्पोरेसन (एनआईडीसी) मा शाखा अधिकृतमा नियुक्त भए, २०३९ सालमा।
लिखित परीक्षाबाट योग्य भए पनि कारणवश मनोजको प्रमोसन हुन सकेन र उनले त्यो जागिर पनि छाडेर यूएनअन्तर्गतको प्रोजेक्टमा काम गर्न सपरिवार अफ्रिका गए, दुई वर्षका लागि।
अफ्रिकाबाट फर्केपछि भने मनोजले प्रमोसन पाए। २०६० सालसम्म त्यहाँ काम गरे। त्यो समयमा कलेजहरुमा पढाउने काम पनि गरे उनले। उनलाई पढाउनमा रस बस्यो। अनि उनले खाइआएको जागिरबाट स्वेच्छिक अवकाश लिए। त्यसबेला उनी व्यवस्थापन विषयका ट्रेनरका रुपमा पनि काम गर्थे।
नेपालका बैंकहरुमा तालिमहरु दिने काममा पनि रमाइरहेका थिए। आज पनि उनी त्यस्तो काममा रमाउँछन्।
अवकास लिएर बसिरहेको समयमा नेपाल लाइफ इन्स्योरेन्सबाट मनोजलाई चिफ फाइनान्स अफिसरका रुपमा काम गर्न अफर आयो। उनको इन्स्योरेन्स यात्रा यसरी सुरु भयो। ‘अफरै आएपछि ट्राई गरौँ न त, अवकाशको समयमाभन्दा तीनगुणा बढी स्यालरी अफर पनि थियो’, उनी सम्झिन्छन्, ‘मेरो लागि नयाँ सेक्टर थियो।’
२०६१ देखि डेढ वर्ष काम गरेपछि उनलाई फेरि डीएफआईडीको प्रोजेक्टमा फाइनान्स एडमिन मेनेजर भएर जाने अवसर आयो। उनी त्यतै लागे। त्यहाँ काम गर्दैगर्दा फेरि पनि नेपाल लाइफ इन्स्योरेन्सकै लागि उनको आवश्यकता परेको खबर आयो।
मनोजका लागि सीईओ बन्ने अवसर र चुनौती आयो। उनले स्वीकारे, साढे ३ वर्ष उनले त्यो भूमिकामा काम गरे। त्यसै बखतमा तत्कालीन ग्रान्ड बैंकमा अफर आयो। उनी त्यता गए। उनको पेसागत यात्रामा यसरी आरोहअवरोह आइरहे।
बैंकमा काम गरिरहेकै बखत मनोजलाई प्राइम लाइफ इन्स्योरेन्सले सीईओ बन्ने अफर गरेको थियो। त्यही अवसर स्वीकार गरेपछिका ६ वर्ष बितिसक्यो उक्त भूमिकामा।
पेसागत रुपमा यसरी उतारचढाव भोगेका व्यक्तिका लागि प्रेमको परिभाषा के हुन्छ भन्ने कुरामा मनोज सुनाउँछन्, ‘आई लभ माई जब। जब इज लभ।’
जतिसक्दो सोच, कल्पना, डेलिभरी गर्न सकिन्छ पेसामा नै फोकस हुन्छ अनिमात्र परिवार आउँछ। मनोज भन्छन्, ‘त्यो एउटा सानो परिवार हो, यो चाहिँ ४०० सदस्यको परिवार हो।’
‘मैले उनीहरुका लागि बेस्ट गर्नुपर्छ अनि आफ्नो परिवार त राम्रो भइहाल्छ’, अहिले यस्तो सोच आउँछ मनोजलाई।
देशका नेतृत्वले यसैगरी सोचे गजब हुने थियो। मेरो प्रेम भनेकै तीन करोड नेपाली हो भन्ने भावना नेपालका प्रम, मन्त्री वा नेतामा आउने हो भने उसले पक्कै पनि देशका लागि केही न केही उत्कृष्ट गर्ने प्रयत्न उसबाट हुन्छ। मनोज यस कुरामा विश्वास राख्छन्।
‘परिवारका लागि हामी जे पनि गर्छौं सबै इन्स्योरेन्स हो। यो मनिटरी भ्यालु त एउटा खण्डमात्र हो, जीवनको। पैसामा क्षतिपूर्ति लिने भन्नेमात्र हो। हामीले गर्ने माया, स्नेह, आवश्यक कुराहरुको पूर्ति गराइरहेका कुरा सबै इन्स्योरेन्स हुन्’। मनोज भन्छन्, ‘घर बनाउनु इन्स्योरेन्स हो, स्वस्थकर खाना खानु स्वास्थ्यका लागि इन्स्योरेन्स हो। पानी पर्दा बोक्ने छाता इन्स्योरेन्स हो। प्रेम आफैँमा सर्वोच्च इन्स्योरेन्स हो।’
मनोजलाई लाग्छ, प्रेममा पीडा भएको अवस्थाको क्षतिपूर्ति पनि फेरि प्रेम नै हो।
प्रेमका कुरामा पैसाको चर्चा हुन्छ। मनोजलाई लाग्छ कि पैसा साधन हो साध्य हैन। ‘प्रेमका अगाडि पैसाको कुनै मूल्य हुन्न। रियल लभ हो भने’, मनोजको प्रस्टोक्ति छ, ‘मनको अवस्था मूल कुरा हो। त्यसैले फिलिङ नै हो, पैसाले सबै कुरा मिल्छ भन्नु पनि। प्रेममा हुनुहुन्छ भने त्यै नै उच्चतम प्राप्ति हो। पैसाले प्रेम चाहिँ पाइन्न, कन्फर्म छ।’
मनोजको प्रेम कामलाई, प्रकृतिलाई, प्राणीलाई, बिरुवालाई र केटाकेटीलाई छ। आर्थिक रुपमा विपन्नलाई केही सहयोग गर्नेमा उनको सदासयता छ। प्रेम छ।
घोषणाभन्दा पनि जीवनस्तर नै परिवर्तन आउने कार्यक्रम लागू गर्नुपर्छ भन्ने मनोजको दृष्टिकोण छ। ‘कुनै पनि वर्गका मानिसको जीवनलाई प्रेम गर्न शिक्षामा लगानी गरिदिउँ, शिक्षा अनिवार्य गरिदिउँ। कमाएर खान सक्ने बनाइदिउँ’, मनोजको विचार यस्तो हो। यस्तो काममा सेवा गर्ने अवसर पाए काम गर्न तयार छन्, उनी।
सुन्ने काममा आफूलाई अभ्यस्त राख्न सक्ने क्षमता छ मनोजसँग। प्रेममा पनि अरुको कुरा सुन्ने बानी उपयोगी हुन्छ। अरुको कुरामा जबरजस्ती गर्ने र नटेर्ने स्वभाव मनोजको छैन।
मनोजको जीवनमा विवाहपछि प्रेम बस्यो। प्रेमका लागि विवाह बाधा हो भन्नेलाई मनोजको जवाफ छ, ‘पर्सेप्सन गलत हो। बिहेअघि जस्तो सम्बन्ध छ, त्यस्तै हुने हो बिहेपछि पनि। बन्धन मान्ने हो भने बिहेअघि पनि त्यस्तो किसिमको व्यवहार हुन सक्छ। विवाहकै कारणभन्दा पनि सोचाइका कारण प्रेममा दरार आउने हो।’
वास्तवमा रियल लभ बिहेपछि हुन्छ भन्ने मनोजको अनुभव छ। बिहेअघि लभको सवालमा यावत कुराले आकर्षण गराउन सक्छ। प्रेम सेकेन्डरी हुन सक्छ। बिहेपछि त जे तिम्रो हो त्यो मेरो हो भन्ने भावना हुन्छ मनोजको मान्यतामा। ‘बिहेअघि त झन् सम्झौता हुन्छ नि। आडम्बर हुन्छ। खाजा खाएको पैसा तिर्ने कुरामासम्म त्यो भावना हुन सक्छ। अनि त त्यो प्रेम कसरी हुन्छ ?’, मनोज उल्टै प्रश्न गर्छन्। भन्छन्, ‘पारदर्शी नभएको, प्रस्ट नभएको सम्बन्धमा प्रेम हुँदैन।’
प्रेम गर्नेहरुले सेक्सलाई दिएको स्थानका बारेमा आ–आप्नै विचार हुन्छ। एक्स्ट्रा म्यारिटल रिलेसन पनि बढेको छ तर त्यस किसिमको गतिविधिले इमान र संस्कारमा विकृति ल्याउने उनको विचार छ। ‘सम्झौता गर्न बाध्य भएका कुनै कमजोरीका कारणमात्र यस्तो अवस्था आउने हो। प्रेममा सेक्स जैविक आवश्यकतासँग जोडिएर आउँछ तर सेक्स रिलेसनमा प्रेम हुने कुरामा सन्देह गर्ने ठाउँ हुन्छ’, मनोजको निष्कर्ष छ, ‘शरीरको एक्स्प्लोइटेसन गर्ने काममा प्रेम शून्य हुन्छ। पैसा या रुपका लागि हुने सम्झौतामा प्रेम हुन्न त्यो बरु आपराधिक कार्यको सुरु हो।’
युवापुस्तालाई आफूले दिने टिप्स काम नलाग्न सक्छ भन्ने मनोजलाई लाग्छ। पुस्तान्तरणका कारण त्यसो हुने कुरामा उनको विश्वास छ। तर पनि उनको जोड छ, संस्कार र संस्कृतिलाई बिर्सन नहुने कुरामा सचेत बन्न। ‘आधुनिकताका नाममा गलत कुराको पछि लाग्नुहुन्न’, मनोज भन्छन्, ‘खुसी र सुखी जीवनका लागि सोचौँ।’
‘जीवनको त कुनै मूल्य छैन। तर पनि इन्स्योरेन्स गरेपछि एउटा आर्थिक सुरक्षा हुन्छ, त्यो पनि प्रेमको एउटा इन्डिकेटर हो’, मनोजको सुझाव छ, ‘लाइफ इन्स्यारेन्स गर्न पनि छाड्नु हुन्न।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago