काठमाण्डौ । भ्रमण वर्ष २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी यहाँ तीव्र पारिएको छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको सिड्नीमा यही पुस २२ गते भव्य समारोहका बीचमा  भ्रमणवर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रमण्डल अस्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा कार्यक्रम हुँदैछ । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सो दिन बिहान ७ बजे अष्ट्रेलियामा रहेका नेपाली र अस्ट्रेलियावासी सबैले एकै साथ सामाजिक सञ्जाल फेसबुकमा भ्रमण वर्षको लोगो पोष्ट गने कार्यक्रम रहेको छ ।

यसैगरी बिहान ८ देखि १० बजेसम्म नेपालीको उल्लेख्य बसोबास रहेका स्थानमा भ्रमण वर्षको प्रचारप्रसार गर्दै शान्तिपूर्ण र्याली गरिने भएको छ । त्यसका लागि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका विभिन्न तहतप्काका अधिकारीहरु सक्रिय रुपमा लागिपरेका छन् । 

त्यसै दिन दिउँसो १ बजे सिड्नी सहरको मुटु भनेर चिनिने ओपेरा हाउस रहेको ‘सर्कुलर की’मा नेपाली वेशभूषासहित नेपाली र विशिष्ट पाहुनाहरुको उपस्थितिमा विशेष कार्यक्रम हुने राजदूतावासले जनाएको छ । 

कार्यक्रमलाई पर्यटनमन्त्री भट्टराईले विधिवत् रुपमा उद्घाटन गर्नु हुनेछ । कार्यक्रममा मन्त्री भट्टराई, राजदूत दाहाल, नेपालको ५८औँ पटक भ्रमण गर्नुभएका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ विदेशी पाहुनासहितको पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिको उपस्थितिमा रात्रिभोज गरिँदैछ । 
यससँगै नेपालमा पर्यटक भित्र्याउन वर्षभरि नै विभिन्न कार्यक्रम गर्न लागिएको राजदूतवासले जनाएको छ ।  । ट्राभल एजेन्टहरु, यात्रा विशेषज्ञ, प्राध्यापक, लेखक, पत्रकारलगायतसँग छलफल तथा  उनीहरुलाई नेपालको पर्यटकीय महत्वबारे लेख्न र प्रचारप्रसारका लागि उत्प्रेरित गर्न लागिएको छ।

राजदूतावासको पहलसँगै यहाँका ट्राभल एजेन्सीहरुले नेपाल भ्रमणको प्याकेजहरु पनि सार्वजनिक गरेका छन् । यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानवेराले प्याकेज सार्वजनिक गरेको हो । सम्भवतः पहिलोपटक यहाँका ट्राभल एजेन्सीले नेपालका लागि प्याकेज कार्यक्रम सार्वजनिक गरेका हुन् ।

अष्ट्रेलियाबाट वार्षिक ३३ हजार हाराहारी पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने  लक्ष्य रहेको जनइएको छ ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजु अधिकारी अष्ट्रेलियामा रहेका नेपालीहरुले भ्रमण वर्षलाई पर्वका रुपमा लिएको बताउनुहुन्छ । उहाँले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका नेपाली र राजदूतावास संयुक्तरुपमा लाग्नुपर्ने बताउनुभयो ।

यसैगरी नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान  समारोह आयोजना हुने भएको हो । 

नेपालको बारेमा जानकारी दिने, प्रचारप्रसार गर्ने एवं नेपाली तथा विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आजोजना गर्न लागिएको कार्यक्रम संयोजक रघु दाहालले राससलाई जानकारी दिनुभयो ।  ‘थर्ड आई ग्रुप’ द्वारा सन् २०२० मे २४ मा आयोजना हुने उक्त कार्यक्रममा कलाकार, पत्रकार तथा प्रस्तोताले विभिन्न प्रस्तुति दिने छन् । साथै साहित्यकारले साहित्यिक रचनामार्फत नेपालका बारेमा जानकारी गराउने जनाइएको छ ।

कार्यक्रममा उत्कृष्ट केही कलाकार, पत्रकार, साहित्यकार र  खेलाडीलाई सम्मान गरिने छ । 

कार्यक्रममा नेपालबाट करीब ६०  कलाकार, पत्रकार, सहित्यकार र  खेलाडीको सहभागिता हुनेछ । विदेशमा हुने धेरै कार्यक्रमका बारेमा नकारात्मक टीकाटिप्पणी भइरहेका बेला आफूहरुले आयोजना गर्न लागेको कार्यक्रम रचनात्मक, उपलब्धिमूलक, सन्तुलित र विश्वसनीय हुने आयोजक थर्ड आईका निर्देशक विकास देवकोटाले जानकारी दिनुभयो । उहाँले यो कार्यक्रम आर्थिक लाभका लागि नभई नेपालको पर्यटन प्रवद्र्धन गर्न र सम्बन्धित क्षेत्रमा योगदान गरेकाहरुलाई प्रोत्साहन गर्नका लागि आयोजना गरिएको बताउनुभयो ।