काठमाण्डौ ।सरकार गिराउने खेलमा लागेका प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको खबर पुगेपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् । 

प्रमुख प्रतिपक्षी दलका सभापति र आफ्ना पार्टीका कार्यकारी अध्यक्षबीच पछिल्ला दिनहरुमा बाक्लो भेटघाट भइरहेको सूचना पाइरहेका ओलीले परिस्थितिको मूल्याङ्कन गर्ने उद्देश्यले शुक्रबार देउवालाई बालुवाटार बोलाएका छन् । 

प्रधानमन्त्री ओलीले आजै बिहान ११ बजे आकस्मिक मन्त्रीपरिषद बोलाएर पार्टीभित्रै र प्रतिपक्षी दलहरुबाट विरोध आएको भन्दै दल सम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गराइसकेका छन् । 

दुई अध्यादेश फिर्तापछि उनले विकसित नयाँ घटनाक्रमको विषयमा छलफल गर्न भन्दै कांग्रेस सभापति देउवालाई बालुवाटार बोलाएका बताइएको छ । 

तर, ओलीले आजै देउवालाई बोलाउनुको भित्री उद्देश्य भने फरक रहेको स्रोत दाबी गर्छ । 

हिजो(बुधबार) साँझ भैंसेपार्टीस्थित बामदेव गौतमको निवासमा नेकपाका ६ सचिवालय सदस्यहरुको बैठक बसेको थियो । सो बैठकमा सरकारले अध्यादेश फिर्ता लिनुपर्ने र यसमा ढिलाई गर्न नहुने सहमति बनेको थियो । प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलको सहभागितामा सचिवालय बैठक भएको थियो । सो बैठकले अध्यादेश फिर्ता लिए पनि स्थायी समिति बैठक बोलाउनुपर्ने निश्कर्ष समेत निकालेको थियो । 

बैठक सकेर सबै आ–आफ्ना निवासतर्फ लागे पनि प्रचण्ड भने अरु नेतालाई जानकारी नै नदिई शेरबहादुर देउवालाई भेट्न उनको निवास पुगेका थिए । यो विषयमा भैंसेपाटीमा छलफलमा जुटेका नेताहरुले पनि शुक्रबार बिहान मात्र थाहा पाएका थिए । यो विषय प्रधानमन्त्रीको समेत कानमा परेपछि उनले कुरा बुझ्न देउवालाई बोलाएका हुनसक्ने स्रोत दाबी गर्छ ।