prachanda
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा चैत ११ मा भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री दाहाल चैत १० गते काठमाडौंबाट बेइजिङ प्रस्थान गरी राष्ट्रपति सीसँग ११ चैतमा भेटवार्ता गरेर चैत १२ मा बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम तय गरिएको चिनियाँ स्रोतले जानकारी दिएको छ ।
चीनको हेनान प्रान्तस्थित बोआओमा आयोजना हुने ‘एसियाको अवधारणामा स्वतन्त्र व्यापार र विश्वव्यापीकरण’ विषयक छलफलमा दाहालले सहभागिता जनाउनेछन् । प्रधानमन्त्रीका एक सहयोगी नेताका अनुसार चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेर प्रधानमन्त्री दाहाल बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम बनाइएको छ । राष्ट्रपति सीसँगको भेटवार्तामा दाहालले चीनले अगाडि सारेको वान बेल्ट वान रोडको अवधारणामा समर्थन जनाउने ती नेताले बताए ।
वान बेल्ट वान रोड अवधारणामा भारतले समर्थन जनाउन असहमति जनाएका कारण नेपालले पनि प्रस्ट धारणा व्यक्त गर्न सकिरहेको छैन । वान बेल्ट वान रोडमा चिनियाँ विदेश मन्त्रालयले पठाएको पत्रको जबाफ नेपालको परराष्ट्र मन्त्रालयले पठाइसकेको छ । ‘दुई राष्ट्रप्रमुखबीच यसबारेमा सम्झौता हुन सक्छ’, उच्च स्रोतले भन्यो । ती नेताका अनुसार प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच नेपाल—चीन शान्ति तथा मैत्री सन्धिको प्रक्रिया अगाडि बढाउनेबारेमा पनि सैद्धान्तिक सहमति हुन सक्नेछ । यसअघि ०६५ सालमा दाहाल प्रधानमन्त्री भएका बेला शान्ति तथा मैत्री सन्धिको मस्यौदा आदानप्रदान गर्ने क्रममा सार्वजनिक भएपछि सम्झौता तुहिएको थियो।
प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीको भेटवार्तामा नेपाल—चीनबीच व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयन प्रक्रियामा लैजानेबारे पनि छलफल हुने ती नेताले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गत वर्ष चीन भ्रमण गरेका बेला नेपाल-चीनबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो तर त्यसलाई कार्यान्वयनमा लैजान अवलम्बन गरिनुपर्ने कूटनीतिक प्रक्रिया भने अगाडि बढेको छैन ।
यी हुन् एजेन्डा
– वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर हुनसक्ने
– नेपाल—चीन शान्ति तथा मैत्री सन्धिको प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति गर्ने
– व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयन प्रक्रियामा लैजाने
– विद्युत् आदानप्रदानका लागि प्रसारण लाइन निर्माणप्रक्रिया अगाडि बढाउने
– अन्तरदेशीय रेल्वे लाइन विस्तारप्रक्रिया अगाडि बढाउने
– चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिने
तिब्बतको केरुङबाट अन्तरदेशीय रेल्वे लाइन विस्तार गरी काठमाडौं, पोखरा र लुम्बिनीसम्म लैजाने प्रक्रिया अगाडि बढाउने बारेमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच छलफल हुनेछ । चीनले तीन वर्षभित्र केरुङसम्म रेल्वे लाइन विस्तार गर्ने गरी काम अगाडि बढाइरहेको छ । यसअघि चीनबाट नेपालमा रेल्वे लाइन विस्तार गर्ने र त्यसका लागि चीनले लगानी गर्नेबारेमा पटकपटक छलफल भए पनि प्रक्रिया अगाडि बढेको छैन ।
सी र दाहालबीच विकास र समृद्धिका लागि त्रिदेशीय अवधारणा अगाडि बढाउने उपाय खोज्नेबारेमा पनि थप छलफल हुनेछ । ०६५ सालमै उनीहरूबीच यसबारे गहन छलफल भएको थियो । त्रिदेशीय समझदारी अगाडि बढाउन भारत सहमत भइनसकेका कारण सी र दाहालको प्रयासले सार्थकता पाउन सकिरहेको छैन । पूर्वी नेपाल र तिब्बतमा विद्युत् आदानप्रदानका लागि प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पनि दाहाल र सीबीच छलफल हुनेछ । पूर्वप्रधानमन्त्री ओली चीन भ्रमणमा गएका बेला पनि यसबारे छलफल भएको थियो ।
०७२ वैशाख १२ गते आएको विानाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका अहिलेसम्म खुलेको छैन । उक्त नाका खुलाउन प्रधानमन्त्रीले चिनियाँ पक्षलाई आग्रह गर्ने योजना रहेको ती नेताले बताए । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनेछन् । ती नेताका अनुसार गत वर्ष चैतमा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणक्रममा भएका समझदारीलाई पुनर्ताजगी गर्ने र केही विषय अगाडि बढाउने बारेमा दाहालको पहल हुनेछ ।
रक्षामन्त्रीको नेतृत्वमा २३ सदस्यीय टोली आउने
दाहाल बेइजिङ प्रस्थान गर्ने दिन चैत १० गते नै २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली समकक्षी बालकृष्ण खाँड, परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ । चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेट गर्ने-नगर्ने भने तय भइसकेको छैन । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago